Logo

खेलकुद

बागमती प्रदेश खेलकुद विकास परिषद् बैठक: यस्ता छन् दूरगामी निर्णय



हेटौडा, १८ फागुन – बागमती प्रदेश खेलकुद विकास परिषद्को तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। प्रदेश राजधानी हेटौडामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ।

बैठकले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको छ। परिषद्का अध्यक्ष तथा सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा बैठक बसेको हो।

उक्त बैठकले प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, एथेलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल र ब्याडमिन्टन गरी जम्मा ८ खेलहरु समावेश गर्ने निर्णय गरेको छ।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुद प्रतियोगिता सञ्चालन गर्ने क्लब तथा संघसंस्था अनुदान कार्यविधि २०७६ संशोधन गर्ने निर्णय भएको जानकारी दिए।

‘प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्दा जिल्ला खेलकुद विकास समितिका प्रत्येक कार्यालयलाई प्रतियोगिता सञ्चालनका लागि आठ लाख रूपैयाँ अनुदान दिने निर्णय भएको छ,’ भण्डारीले भने।

प्रदेश खेलकुद प्रतियोगिता सञ्चालनको अनुमानित लागत आठ करोड रहेको तर परिषद्को चालु आर्थिक वर्षको स्वीकृत बजेट दुई करोड रुपैयाँ मात्र विनियोजन भएकाले अपुग रु ६ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्रोत सुनिश्चितता गरिएको आशयको पत्र सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएकाले बजेट बाँडफाँड गर्दा संलग्न ८ करोडको अनुमानित खर्च विवरणलाई स्वीकृत गर्ने तय भएको उनले बताए।

‘प्रदेशस्तरमा यति ठूलो धनराशिको खेलकुद प्रतियोगिता हुन लागेको नेपालमा पहिलो हो, प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताको क्रममा खेलाडी प्रशिक्षक तथा निर्णायकहरुले पाउने सुबिधाहरुमा पनि उल्लेख्य वृद्धि गरेको छ,’ भण्डारीले भने।

खेलाडीले खेल अवधिभर खाना र बस्नका लागि दैनिक दुई हजार रूपैयाँका दरले भत्ता पाउने उनले बताए। राष्ट्रिय खेलकुद परिषद्ले अहिले पनि १ हजार ४ सय दिने गरेको छ।

‘प्रदेश खेलकुद बिकास परिषद्ले प्रतियोगिता अवधिभर खेलाडी घाइते भएमा पन्ध्र लाख रूपैयाँसम्मको र मृत्यु भएमा ३० लाखको अनिवार्य बिमा गरिदिने भएको छ। यस्तो प्रावधान पनि पहिलोपटक प्रदेश खेलकुद बिकास परिषद् , बागमती प्रदेशले सुरुवात गरेको हो,’ भण्डारीले भने।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल