Logo

शिक्षा

सिटिइभिटी जागिर खाने ठाउँ मात्रै होइन, दक्ष जनशक्ति उत्पादन गर्नैपर्छ: शिक्षामन्त्री



भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी जागिर खाने थलो मात्रै बनेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्।

सिटिइभिटीको ३२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सिटिइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले जागिर खाने थलो मात्रै भएको सिटिइभिटीलाई समयसापेक्ष रूपमा अघि बढाउनु पर्नेमा जोड दिए।

‘सिटीइभिटीमा करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै काम भयो, पर्याप्त जनशक्ति उत्पादन गर्न सकेन, सिटिइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो?,’ शिक्षामन्त्री पोखरेलको प्रश्न छ।

पोखरेलले सिटिइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको बताए। उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताएका छन्।

मन्त्री पोखरेलले सिटिइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए।

‘सिटिइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्‍यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको छ, जहिले पनि सिटिइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्‍यो भन्ने? मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्तक्षेप गरेको छ?,’ उनले भने।

आफूले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन नदिएको उल्लेख गर्दै मन्त्री पोखरेलले सिटिइभिटी आफू काम गर्न नसक्ने र मन्त्रालयलाई दोष लगाउने गरेकामा रोष व्यक्त गरे।

‘तपाईंले एउटै कर्मचारीलाई जिम्मेवारीमा राखे? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन,’ उनले भने।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल