Logo

राजनीति

कांग्रेस बैठक: गच्छदारमाथि मुद्दा विरोधाभाषपूर्ण, वुहानका नेपालीलाई तत्काल उद्दार गर



काठमाडौं – नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाएको ठहर गरेको छ।

तर, संसदको अवरोध हट्ने भएको छ। यसबारे औपचारिक निर्णय संसदीय दलले गर्ने छ।

अख्तियारले माघ २२ गते ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपाली कांग्रेस बैठकको निर्णय देहाय बमोजिम रहेको छ–

(१) अख्तियारले ललिता निवास प्रकरणमा दर्ता गरेको मुद्दा सम्बन्धमा

ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।

(२) वुहानका नेपालीलाई तत्काल उद्धार गर्न

चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन यो बैठक सरकार समक्ष माग गर्दछ । उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारे बैठक सरकारलाई सजग गराउन चाहन्छ । देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रुपले सजग गराउँदछ ।

(३) राजधानीमा दिन दहाडै भएको हत्याका सम्बन्धमा

राजधानीमै दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ ।

(४) वडा अध्यक्षको हत्या सम्बन्धमा

अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल