Logo

राजनीति

आफ्नै आमाको जन्ममा शोकधुन बजाउने कर्मचारीप्रति कसरी कामको आशा गर्ने: सञ्चारमन्त्री



सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा।

काठमाडाैँ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकममा निरन्तर राजनीति हावी भइरहे गोरखकाली टायर उद्योगको जस्तै हालत हुने बताएका छन्।

कम्पनीको १६ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले ट्रेड युनियनको नाममा राजनीति भइरहेको र यसले कम्पनीलाई नै घाटा भइरहेको बताएका हुन्।

वार्षिकोत्सव भइरहेका बेला आधिकारिक ट्रेड युनियनका कर्मचारी विभिन्न माग राख्दै आन्दोलन गरिरहेका थिए। कर्मचारीका क्रियाकलापप्रति आक्रोशित मन्त्री बाँस्कोटाले आफ्नै आमाको जन्ममा समेत शोकधुन बजाउने कर्मचारीप्रति कसरी कामको आशा गर्ने भनेर व्यङ्‌ग्य गरे।

‘राजनीतिले टिम्बर कर्पोरेसन, गोरखकाली टायर उद्योगको हालत कस्तो भयो तपाईंहरूलाई थाहा छ,’ मन्त्री बाँस्कोटाले भने, ‘तपाईंहरू टेलिकम जमिनमुनि भासिएको हेर्न चाहनुहुन्छ ?’ उनले भने, ‘राजनीति गर्ने मन छ भने पार्टी कार्यालयतिर जानु’ भन्दै आन्दोलनरत कर्मचारीप्रति कटाक्ष गरे।

लोकसेवा आयोगले गर्ने काम आन्दोलन गरेर नहुने भन्दै आन्दोलन छोडेर काममा लाग्न उनले कर्मचारीलाई आग्रह गरे।

७७ जिल्लामा नेपाल टेलिकमको फोरजी

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वर्षभरि भएका प्रगति र आगामी दिनका योजनाबारे जानकारी गराए।

‘नेपाल टेलिकमले एक वर्षभित्रमा विभिन्न चुनौतीबीच केही सफलता हात पारेको छ,’ अधिकारीले भने, ‘एक वर्षको अवधिमा ७७ जिल्लामै फोरजी सेवा पुर्‌याउन सफल भएका छौं।’

मङ्‌गलबार हुम्लामा ‘फोरजी सुरुआत’ गरेसँगै ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी पुगेको अधिकारीले बताए।

गत एक वर्षमा कम्पनीको मोबाइल सेवाको विस्तारको लागि ३ सय ४० नयाँ टावर जडान गरी बिटिएस सञ्चालनमा ल्याएको छ।

दशकौंदेखि देशभरका ग्राहकले प्रयोग गरिरहेको टेलिफोन सेवाको रुपान्तरणका लागि ल्याइएको एफटिटिएच विस्तार परियोजनालाई पनि प्राथमिकताका साथ अगाडि बढाएको टेलिकमले जनाएको छ। हालसम्म देशका २८ जिल्लाका ५७ एक्सचेन्जहरुमार्फत् १ लाख ४५ हजारको नेटवर्क जडान भइ ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ। निकट भविष्यमा आएपिटिभी सेवा पनि एफटिटिएचमार्फत् प्रदान गर्ने गरी हाल उक्त सेवाको अन्तिम परीक्षण भइरहेको टेलिकमको भनाइ छ।

त्यस्तै, प्रदेश १, २ र ३ अन्तर्गतको मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण काम पनि अगाडि बढिरहेको र अहिले डिडब्लुडिएम जडानको कार्य सम्पन्न हुने क्रममा रहेको र राउटर जडानको कार्य पनि भइरहेको जनाएको छ। अप्टिकल फाइबर बिछ्याउनका लागि तीनवटै प्रदेशमा छुट्टा-छुट्टै आपूर्तिकर्तामार्फत् काम भइरहेको छ।

टेलिकमको बजार हिस्सा भ्वाइस सेवातर्फ ५५.६० प्रतिशत र डाटा सेवा तर्फ ४८.९० प्रतिशत पुगेको छ। गत आर्थिक वर्षमा टेलिकमको ग्राहक सङ्ख्या १३.५९ प्रतिशतले वृद्धि भई २ करोड २७ लाख पुगेका छन्। साथै, डाटा सेवाको ग्राहक सङ्ख्या २६ प्रतिशतले वृद्धि भएर चालुआवको कात्तिकसम्म १ करोड ४६ लाख पुगेको छ।

टेलिकमले सिडिएमए सेवालाई क्रमशः बन्द गर्ने गरी काम गरिरहेको जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर र गैरकरबापत २५.७६ अर्ब राजस्व सरकारी खातामा दाखिल गरेको छ। त्यस्तै, डिभिडेन्डबापत ७.५५ गरी कूल ३३.३१ अर्ब रुपैयाँ राजस्व बुझाएको जनाएको छ।

देशमा सूचना प्रविधिको विकास सँगसँगै ‘क्यासलेस’ अर्थव्यवस्था विकासका लागि राष्ट्रिय वाणिज्य बैंकसँगका सहकार्यमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न लागेको टेलिकमले जनाएको छ।

वर्षभरि सबैभन्दा धेरै टेलिकमको सेवा प्रयोग गर्ने विभिन्न कम्पनी र उपभोक्तालाई सम्मान गरिएको थियो।

प्रकाशित : २२ माघ २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल