Logo

राजनीति

गोर्खा नेता तामाङ र मुख्यमन्त्री बेनर्जीद्वारा दार्जीलिङमा र्‍याली, एनआरसीको विरोध तीव्र



राजु भण्डारी, कालिम्पोङ – नागरिकता संशोधन कानुन, एनआरसी अनि एनपीआरको विरोध गर्दै राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले कोलकोता, सिलगडीपछि दार्जीलिङ पहाडमा पनि र्‍याली निकालेर केन्द्र सरकारलाई चुनौति दिएकी छन्।

तीन दिन अघि पहाड आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जीलिङका जनतालाई सम्बोधन गर्दै बङ्गालमा सीएए अनि एनआरसी लागु नहुने बताए।

यसक्रममा उनले असममा एनआरसीको कारण गोर्खाहरूले समस्या भोग्न परिरहेको भन्दै पहाडका गोर्खाहरूलाई त्यस्ता दुख दिने कार्यको आफुले जोडदार विरोध गर्ने बताउँदै एनआरसी र सीएएको विरोध गरिन्।

दार्जीलिङ शहरको रोबर्टसन रोडदेखि सुरु भएको उक्त जुलुस गान्धी रोड, डीबी गिरी रोड, राष्ट्रिय राजमार्ग छछ हुँदै दार्जीलिङ मोटर स्ट्याण्डमा पुगेको थियो। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीसँगौ गोजमुमो अध्यक्ष विनय तामङ, जीटीए अध्यक्ष अनित थापा, अमर लामा लगायत अन्य नेतृत्ववर्गसँगै हजारौँ मानिसहरू सहभागी भएका थिए।

उक्त जुलुस मोटर स्ट्याण्डमा पुगेपछि सभामा परिणत भएको थियो भने सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले पहडका जनतालाई सीएए अनि एनआरसीको विरोधमा एक हुने आह्वान गरिन्।

‘हामी सबै भारतीय हौँ तर भाजपाले देशलाई विभाजन गर्ने षडयन्त्र गरिरहेको छ’ ममता ब्यानर्जीले भनिन्। यसक्रममा उनले चुनावको समयमा पहाडका मानिसहरूलाई भाजपाले पैसा दिएर किन्ने कार्य गरिरहेको समेत आरोप लगाइन्।

‘भाजपा सरकारले सीएए, एनआरसी अनि एनपीआरको बारेमा जनतालाई सत्यता बताउनुपर्छ। जबसम्म यो सबै फिर्ता लिँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ’ ममता ब्यानर्जीले अझ भनिन् ‘बङ्गालमा कुनै पनि हालतमा यो कानुन लागु हुन दिइनेछैन।’ यसक्रममा उनले बङ्गालमा उक्त कानुनको डरकै कारण अहिलेसम्म ३० जनाको मृत्य समेत भइसकेको बताइन्।

‘यो कानुनको कारणले एकैजना गोर्खा प्रभावित हुनपर्ने छैन। गोर्खा यदि एक हुन्छन् भने देशको कानुनले केहि गर्न सक्दैनन्। गोर्खा भारतका नागरिक हुन्, उनीहरूको नागरिकता कसैले खोस्न सक्दैनन्’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। यसक्रममा उनले अहिले एनआरसी अथवा सीएएको विरोध गर्दा उल्टै गाली गर्ने गरेको भन्दै यहाँ हिन्दु, मुस्लिम, सिख, ईसाई, वौद्ध सबै आपसमा दाजु(भाइ रहेको बताइन्।

यता जनाभालाई गोजमुमो अध्यक्ष विनय तामङले पनि सम्बोधन गरेका थिए। उनले भाजपाले जनतालाई केवल झुटको राजनीति गरिरहेको आरोप लगाउँदै सीएए र एनआरसीको विरोधमा आफु चट्टान बनेर उभिने बताए। यसक्रममा उनले जनताको सुरक्षाको निम्ति आफु पटक्कै पछि नहट्ने बताउँदै जनतालाई भाजपाको झुटको राजनीति विरुद्ध एकवद्ध हुनपर्ने आह्वान पनि गरे।

प्रकाशित : ८ माघ २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल