Logo

समाचार

‘नेतृत्वबाट एनआरएनको विश्वासमा आघात भयो, मनोमानी अन्त्यकै लागि अब विशेष अधिवेशन’



डा. केशव पौडेल, पूर्वसभापति, एनआरएनए युएसए

न्यूयोर्क – गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व सभापति डा. केशव पौडेलले अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न नसकिने बताएका छन्। एक विज्ञप्ति जारी गरी पौडेलले संघको निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समयसापेक्ष सुधार गरी आमूल परिवर्तनको माग गरेका हुन्।

‘प्रतिनिधि छान्ने प्रक्रिया पनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ, एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिँडाउन खोजिएको छ, आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ, यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन,’ डा. पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्ने डा. पौडेलको धारणा छ।

‘प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्छ, गैरआवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्नै संस्था र संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ, सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ,’ पौडेलले भनेका छन्, ‘यसले गैर आवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ।’

डा. पौडेलले एक महिनाभित्र संघको विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग पनि गरेका छन्।

गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा कोषाध्यक्ष र महासचिवको प्रतिवेदन पारित नभएको र ती दुवै महत्त्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइएको पौडेलको टिप्पणी छ।

‘त्यसबाट चुनिएको अहिलेको कार्यसमितिले के आधारमा संस्थाको कोष सञ्चालन गरिरहेको छ? संस्थाको वार्षिक प्रतिवेदन पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ?,’ पौडेलको प्रश्न छ।

संघको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा. पौडेल सानो मतान्तरले पराजित भएका थिए। हाल गैरआवासीय नेपाली संघ युएसएका प्रमुख संरक्षक रहेका डा. पौडेलको वक्तव्यको पूर्ण पाठः

एनआरएनए सुधारको लागि मेरो अपिल

आदरणीय गैर आवासीय नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार।
सर्वप्रथम नयाँ वर्ष २०२० को अवसरमा तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताको समेत कामना गर्दछु।

तपाई हामी सबैलाई थाहा नै छ गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो। काठमाण्डौंमा भएको सो सम्मेलनका क्रममा भएका कतिपय गतिविधिले तपाईं हामी गैरआवासीय नेपालीलाई हिनताबोध गरायो । नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैर आवासीय नेपालीलाई हेर्ने नजरमा नै असर पर्न गयो । नवौं विश्व सम्मेलनमा भएका कतिपय उच्छृखंल गतिविधि साँच्चिकै दुखदायी थियो।

सम्मेलनमा आफ्नो जीत सुनिश्चित गराउनका लागि भए गरेका गलत कार्यहरूको फेहरिस्त नै छन्। नेतृत्व हात पार्नका लागि प्रतिनिधि छान्ने प्रक्रियादेखि प्रतिनिधि पास उपलब्ध गराउने कार्यमा के कस्ता गलत कार्यहरु भएका थिए भन्ने कुरा सम्मेलनमा सहभागी जो कसैलाई पनि थाहा भएकै कुरा हो। प्रतिनिधिको संख्यामा कसरी गोलमटोल गरिएको थियो त्यो पनि थाहा भएकै हो । विभिन्न नाममा के कसरी पासहरु वितरण भएका थिए, निर्वाचन प्रक्रियाको अपारदर्शिता र निर्वाचन कसरी गरिएको थियो, त्यो जगजाहेर नै छ । र नतिजा कस्तो निकालिदैंछ भन्ने कुरा पनि लुकेको थिएन। यी सबैका बीच पनि संस्थालाई सर्वोपरी ठानी संस्थाको हितका निम्ति एकताबद्ध एनआरएनए बनाउनको लागि जानाजान प्रक्रियामा सहभागी भएका थियौं। र, म पनि उपाध्यक्षको उम्मेदवार भएको थिए। प्रक्रियामा सहभागी भएपछि त्यसको नतिजालाई स्वीकार गरी प्रजातान्त्रिक पद्दतीको सम्मान गरिएको हो। संस्थाको निम्ति राम्रो काम गर्न जो आउँदा पनि हुन्छ भन्ने कुरामा विश्वास राख्दै निर्वाचन समितिले चुनेको समितिलाई मैले बधाई तथा शुभकामना दिनुका साथै सहयोग गर्ने वचन समेत दिएको थिए । र, फेरि पनि यो समितिलाई राम्रो कार्य गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

तर, विडम्वना, सुरुवातका यी दिनहरु हेर्दा अहिलेको नेतृत्व महत्वपूर्ण विषयहरुप्रति गम्भीर नभएको देखिन्छ। हामी सबैलाई थाहा छ नवौं विश्व सम्मेलनमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन पारित भएन । यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष सञ्चालन गरिरहेको छ? त्यो महत्वपूर्ण प्रश्न बनेर आएको छ। अर्कोतर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ? यो पनि एउटा महत्वपूर्ण विषयको रुपमा रहेको छ । यो विषयमा यो समितिलाई गम्भीर बन्न म आग्रह गर्न चाहन्छु। र सँगसँगै अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न सकिदैन। निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नु पर्ने खाँचो रहेको छ। प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ। एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिडाउन खोजिएको छ। आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ। यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन।

निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ। हामी गैर आवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्नै संस्था संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ। सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ । यसले गैर आवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ। आवश्यकता एउटा र काम अर्कै भइरहेको छ। एकप्रकारले भन्दा मनोमानी बढेको छ। यो संस्था विश्वभर रहेका गैर आवासीय नेपालीको पसिनाले सिञ्चित संस्था हो। यसको हेक्का हामी सबैले राख्नैपर्दछ। नयाँ नेतृत्वले नेतृत्वमा आए पश्चात अब सदस्यता शुल्क नलिने जुन घोषणा गरेको थियो, त्यो एकदमै प्रशंसनीय कार्य हो। यदि त्यो योजनावद्ध रुपमा व्यावहारिक पक्षलाई समेत अध्ययन गरी सस्तो लोकप्रियता भन्दा माथि उठेर ल्याइएको हो भने त्यसको सुरुवात तत्काल गर्न पनि म विशेष आग्रह गर्न चाहन्छु।

अन्त्यमा, अहिले संस्थाभित्र धेरै विषयहरुमा छलफलको आवश्यकता रहेको छ। संस्थालाई विधिसंमत ढंगवाट लैजानका लागि निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनको प्रक्रियामा आमूल परिवर्तन लगायतका कतिपय विषयहरु प्रक्रियागत ढंगवाट सम्बोधन गर्नु पर्नेछ । यसका निम्ति जतिसक्दो चाँडो एक महिनाभित्र विधान संशोधन प्रयोजनको लागि विशेष अधिवेशनको आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन म अहिलेको समितिको ध्यानाकर्षण गर्न चाहन्छु । संस्थालाई सबल, सक्षम, एकताबद्ध र संस्थागत बनाउने दिशामा हामी सबै एक हौं, यही अनुरोध पनि गर्न चाहन्छु।

प्रकाशित : ३ माघ २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल