Logo

समाचार

न्यूयोर्कमा ट्रकले ठक्कर हुँदा नेपाली बालकको मृत्यु, उनकी आमा गम्भीर घाइते



दुर्घटनास्थलमा ट्रक। तस्वीर साभार: न्यूयोर्क डेली न्यूज

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ। उनकी आमा गम्भीर घाइते भएकी छन्।

न्यूयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको हो। उनकी आमा मीना पन्थी घाइते भएको स्थानीय अनलाइनहरुले समाचार लेखेका छन्। दुर्घटनालगत्तै आमा(छोरालाई एल्महर्स्ट अस्पताल लगिएको थियो। श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

‘ट्रकले श्रीजलको छातीमा र मीनाको खुट्टामा कुल्चिएको थियो,’ न्यूयोर्क डट सीबीएस लोकल डटकमले लेखेको छ, ‘आमा बालक भए ठाउँमा पुग्न खोजिन् तर खुट्टा भाँचिएका कारण सकिनन्।’

मीना छोरा श्रीजललाई स्कुल पुर्‍याउन जाँदै थिइन् । उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो।

यो दुर्घटनालाई प्रत्यक्षदर्शीले हृदयविदारक भनेका छन्। घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरले न्यूयोर्क डेली न्यूजसँग भनेका छन्, ‘उनीहरु बिहान स्कूल जाँदै थिए। म नातिनीसँग बाहिर निस्किएको थिएँ। त्यहीबेला मानिसहरु सडकमा लडिरहेको देखें। यो दृष्य एकदमै डरलाग्दो थियो।’

मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ। पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन्। क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना खुलेको छैन।

एनवाई डेली न्यूजले लेखेको छ, ‘अस्पतालको शय्याबाट आमाले छोराको अवस्थाबारे सोधिरहेकी छन् । तर, उसको मृत्यु भइसकेको भन्ने आँट कसैसँग छैन।’

गैरआवासीय नेपाली संघ न्यूयोर्क शाखाका अध्यक्ष रामहरी अधिकारीले यो घटनाले नेपाली समुदायमा ठूलो शोक परेको बताएका छन्। ‘हामी ठूलो सपना लिएर अमेरिका आउँछौं, तर यस्तो भइदिन्छ, निधन भएका बालकप्रति श्रद्धाञ्जलि, घाइतेको शीर्घ स्वास्थ्यलाभको कामना,’ उनले भने।

प्रकाशित : २३ पुस २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल