Logo

प्रदेश

नेकपा र कांग्रेसको किल्लामा धावा बोल्दै कुमार लिङदेन नेतृत्वको मञ्च



जीवन पौडेल, तेह्रथुम, पुस ९ – पहिचानसहितका संघीयताका पक्षमा निरन्तर लडिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको जनजागरण अभियान पूर्वी पहाडबाट शुरू भएको छ।

पुस अन्तिम साता बसेको मञ्चको केन्द्रीय कार्यसमितिको बैठकले पहिचानको आन्दोलन र संगठन विस्तारलाई एकैसाथ लैजाने निर्णय अनुसार जनजागरण अभियान तीव्र पारिएको हो।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक जनजागरण अभियान र संगठन विस्तारकै क्रममा तेह्रथुम पुगेका छन्।

साताव्यापी कार्यक्रममा सयौंको संख्यामा अन्य पार्टीका नेता–कार्यकर्ता मञ्चमा प्रवेश गरेको संघीय लिम्बुवान मञ्चका छथर गाउँपालिकाका अध्यक्ष सुकबहादुर लिम्बुले बताए।

पहिचानको जगमा प्रदेशः लिङदेन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले भाषा, इतिहास र भूमि सबै समुदाय र देशको भूमि भएको स्मरण गराए।

‘हामीसँग एटम बम छैन, त्यसैले देश रक्षाका लागि पनि इतिहासको हतियार तयार गर्नुपर्छ, नेपालको इतिहास मजबुत पार्नका लागि पनि लिम्बुवान, खम्बुवान, दलित शिल्पीको इतिहास मजबुत पारेर १० प्लस १ प्रान्त कायम गरिनु पर्छ,’ लिङदेनले भने।

यस्तो छ तेह्रथुममा जिल्लाव्यापी कार्यक्रम?

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले पुस ५ गते छथर शुक्रबारेमा जनजागरण अभियान र संगठन विस्तार कार्यक्रम सञ्चालन गरेको छ।

पुस ६ गते लालिगुरास नगरपालिकास्थित सुङनाम सोल्मा मङलबारेमा, पुस ७ गते मेन्छ्याम गाउँपालिकास्थित श्रीजुङ संक्रान्तिमा, पुस ८ गते म्याङलुङ नगरपालिकास्थित म्याङलुङ बजारमा जनजागरण अभियान र संगठन विस्तार कार्यक्रम सञ्चालन गरिएको मञ्चका उपाध्यक्ष एवम् तेह्रथुम इञ्चार्ज चन्द्र खापुङले बताए।

खापुङका अनुसार पुस ९ बुधबार फेदाप गाउँपालिकास्थित पोक्लाबाङ औंशीबजारमा कार्यक्रम गरिएको छ। पुस १० बिहीबार आठराई गाउँपालिका संक्रान्ति बजारमा जनजागरण अभियान र संगठन विस्तार कार्यक्रम आयोजना गरिने उनले बताए।

अध्यक्ष लिङदेनको नेतृत्वमा बुद्धिजीवी मनिन्द्र साँवा, कतार प्रवास महासचिव नगेन्द्र साँवा, मञ्चका केन्द्रीय सदस्य दिल पाक्सावा, केन्द्रीय सदस्य मृग्रेन्द्र इङनाम, संघीय विद्यार्थी युनियनका अध्यक्ष सेसेहाङ चोङवाङ लगायतका नेताहरूले अभियानको अगुवाई गरिरहेका छन्।

त्यसैगरी, केन्द्रीय सदस्य शंकरमान खेवा, शर्मिला बिसी, रमेश गजमेर लगायत कयौं नेता–कार्यकर्ताहरू अभियानलाई नगर, गाउँपालिकादेखि वडासम्म पुर्‍याउने अभियानमा खटिएका छन्।

प्रकाशित : १० पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल