Logo

विश्व

गैरआवासीय नेपाली संघ मानार्थ सदस्य: पदलोलुप थन्क्याउने ‘डम्पिङ साइट’



सन्दीप लिम्बु, काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएले विधानको दुरुपयोग गर्दै आफ्ना निकटलाई पद बाँड्ने ठाउँका रुपमा मानार्थ सदस्य मनोनयनलाई प्रयोग गरेको देखिएको छ।

कार्यकारी पदमा चुनाव नलड्ने राम्रो व्यक्ति मनोनयनका लागि विधानमा व्यवस्था गरिएको ५१ सदस्यीय मानार्थ सदस्यका ठाउँमा आफ्नो निकट पदका लोभीहरुलाई ल्याएर विधानको दुरुपयोग गरिएको हो।

गैरआवासीय नेपाली संघ २००३ (संशोधनसहित) परिच्छेद ४ को ७.४ मा मानार्थ सदस्यको व्यवस्था गरिएको छ। विधानमा ‘गैरआवासीय नेपालीको हकहित संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मानार्थ सदस्यता प्रदान गर्ने’ उल्लेख छ।

सो परिच्छेदलाई समात्दै गत साता गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसी बैठकले ५१ जनालाई मानार्थ सदस्यता प्रदान गरिएको हो।

जसमध्ये नवौं सम्मेलनमा कुमार पन्तलाई निर्वाचित गर्न सहयोग गरेका, अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यका विरुद्ध सामाजिक सञ्जालमा तल्लोस्तरमा ओर्लिएर स्टाटस लेखेका, केही राम्रा अभियन्ता तथा एनसिसी र आइसिसी निर्वाचनमा पराजित छन्।

निर्वाचनमा पराजित तथा शक्ति, सत्ता र पैसाकै पछि लाग्ने अधिकांश व्यक्तिहरु त्यो पदमा मनोयनमा परेका स्रोतको दाबी छ। समाजमा बदनाम व्यक्तिहरुलाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रष्ट पार्दै अमेरिकाका विकास उप्रेती र कृष्ण लामिछानेले संघका केन्द्रीय अध्यक्ष कुमार पन्त समक्ष राजीनामा दिइसकेका छन्।

राम्रा व्यक्तिहरु बस्न नमान्ने र समाजमा बदनाम व्यक्तिहरु अझै मनोनयनका लागि प्रयास गरिरहेकाले यो समिति पनि ठूलो आकारको हुने एक एनआरएनए अभियन्ताले बताएका छन्।

मानार्थ सदस्यहरुको काम र कर्तव्यका बारेमा विधानमा एक शब्द पनि बोलिएको छैन। ती मानार्थ सदस्यहरुका काम भनेकै सामाजिक सञ्जालमा बधाई खानु बाहेक केही छैन।

संघको विधान अनुसार एनआरएनए अभियानमा लागेका र अभियानमा सहयोग गर्न सक्नेमध्येलाई मानार्थ सदस्यमा मनोनयन गरिएको संघका महासचिव हेमराज शर्माले बताए। उनले काम र कर्तव्यका बारेमा हाल केही व्यवस्था नभएको स्वीकार गरे।

भविष्यमा एनआरएनएलाई सहयोग गर्ने सूचीमा पर्नेमा अस्ट्रेलियाबाट राजन बस्नेत र दीपक जोशी, बेल्जियमबाट पारस गौतम र अर्जुन गुरुङ, मिडल इस्टबाट सन्नी ओली र विमल सुवेदी छन्।

त्यस्तै अमेरिकाबाट कृष्ण लामिछाने, पासाङ लामा, प्रेम श्रेष्ठ, विकास उप्रेती, वेद बस्नेत र प्रकाश सापकोटा तथा बेलायतबाट चन्द्र गुरुङ, रण केसी, विनोद ज्ञवाली र देवराज आचार्य (चिरन शर्मा) छन्। अमेरिकाका उप्रेती र लामिछानेले अध्यक्ष पन्तलाई राजीनामा बुझाई सकेका छन्।

गत कार्यकालमा आइसिसी सदस्यमा पराजित चिरन शर्मा आफ्ना दाजु हेमराज शर्मा केन्द्रीय महासचिव भएको मौकामा आइसिसी हुन लागेका थिए।

‘उनी नवौं सम्मेलन अघि अध्यक्षका प्रत्यासी कुल आचार्यका विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरे वापत पुरस्कृत भएका हुन्,’ एक एनआरएनए अभियन्ताले भने, ‘यस्ता व्यक्तिहरुबाट एनआरएनएको आमूल परिवर्तन सम्भव छैन।’

प्रकाशित : ३ पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल