Logo

राजनीति

नेतृ संग्रौलाको प्रश्न, ‘श्रमजीवीका पक्षमा काम गर्न केले रोक्यो दुईतिहाइको सरकारलाई?’



काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. डिला संगौलाले वैदेशिक रोजगारबारे श्वेतपत्र जारी गर्न माग गरेकी छिन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा छायाँ सरकारकी श्रममन्त्री संग्रौलाले केपी ओली नेतृत्वको सरकारसँग तत्काल वैदेशिक रोजगारका सम्बन्धमा श्वेतपत्र जारी गरी श्रमसँग सम्बन्धित समस्या समाधान गर्न ध्यानाकर्षण गराएकी हुन्।

नेतृ संग्रौलाले दुईतिहाइ बहुमतको सरकारले सर्वहारा श्रमजीवीहरुको हकहितमा काम गर्नै नसकेको प्रष्ट पारेकी हुन्। श्रम क्षेत्रमा सरकारको कमजोरीहरुमाथि गम्भीर टिप्पणी गर्दै संग्रौलाले भनिन्, ‘श्रमजीवीको पक्षमा काम गर्न केले रोक्यो दुईतिहाइको सरकारलाई?’

संग्रौलाले श्रमिकको हकहितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीमा जाने श्रमिक तथा आन्तरिक श्रमिकका हक अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने बताइन्। सरकारका रचनात्मक कार्यको समर्थन तथा गलत कामको भण्डाफोर गर्ने उनले प्रष्ट पारिन्।

निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने नाममा मलेसिया, युएई, मोरिससलगायत मुलुकसँग शून्य लागतको श्रम समझदारी गरे पनि त्यसअनुसार श्रमिकहरु रोजगारीमा जान नपाएको तथ्य उनले प्रस्तुत गरिन्।

सरकारले श्रमिकसँग शूल्क नलिने घोषणा गरे पनि कानूनी छिद्र प्रयोग गर्दै बिचौलियाले लाखौँ रकम असुलिरहेको उनले बताइन्।

वैदेशिक रोजगार विभागको सेवामा आमूल परिवर्तन आएर सेवालाई अनलाइन प्रकृयामा लगिरहेको अवस्थामा मन्त्री परिवर्तन भएपछि व्यवसायीले विभाग तथा मन्त्रालयमा दबाब दिन सुरु गरेकाले त्यतातिर ध्यान दिनुपर्ने उनको धारणा छ।

विभागले आफ्नो कार्यक्षमता बढाए पनि नवनियुक्त मन्त्रीले वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली इपिएस कार्यालय, तथा वैदेशिक रोजगार काठमाडौं कार्यालय लगायत अति महत्वपूर्ण कार्यालयका सवारीसाधन आफ्ना कार्यकर्तालाई दिन सुरु गरेको उल्लेख गर्दै नेतृ संग्रौलाले यसलाई रोक्न आग्रह गरिन्।

सरकारले तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनाले श्रमिकको हकहितमा नयाँ युगको सुरुवात हुन नसकेको बताउँदै संग्रौलाले स्वदेशमै रोजगारी सिर्जना गर्न ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत राज्यकोषको रकम चरम दुरुपयोग भएको दावी गरेकी छिन्।

प्रकाशित : १ पुस २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल