Logo

प्रदेश

‘लालकिल्ला’ तोडेर धरानको मेयरमा निर्वाचित कांग्रेस नेता राईले सम्हाले कार्यभार



मात्रिकाप्रसाद नेपाल, धरान – नेपाली कांग्रेसका युवा नेता एवम् धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्।

धरान १६ मा रहेको लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि उपमहानगरपालिका कार्यालयमा पुगेर राईलाई कार्यभार सम्हालेका हुन्।

मेयर राईले धरान–१९ स्थित पूर्वमेयर स्व. तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका छन्। गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट राई मेयरमा विजयी भएका हुन्।

सत्तारुढ नेकपाका प्रकाश राईलाई पराजित गर्दै मेयरमा निर्वाचित हुँदा तिलक राईले लालकिल्ला तोडेको इतिहास पनि बनाएका छन्। नेपाली कांग्रेस धरानको सभापति राईले दोश्रो पटक धरानको मेयर पदमा उम्मेदवार बन्‍दा जीत हासिल गर्न सफल भएका हुन्।

स्व. मित्रकुमार राई र स्व. गंगा राईका सुपुत्र तिलक राईको २०३१ साल कात्तिक २ गते धरानमै भएको हो। धरान–१८ का स्थायी बासिन्दा राईले प्रारम्भिक शिक्षा पनि त्यहीबाट हासिल गरेका हुन्।

धरानको डिपो माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी पास गरेका राईले महेन्द्र बहुमखी क्यापस धरानबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्।

राजनीतिक यात्रा

धरानका युवापङ्तिमा लोकप्रिय तिलक राईले थुप्रै संघर्षका गाथा रचिसकेका छन्। प्रष्ट वक्ता, निडर र आत्मविश्वास उनलाई धरानमा स्थापित गराउने कसीहरू हुन्।

विकास, निर्माण र धरानमा नवीन जागरण प्रदान गर्न दिनोरात खटिँदै आएका युवा नेता राईले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्।

२०४७ देखि नेपाली कांग्रेसमा क्रियाशील राई २०५४ सालमै स्थानीय तहको निर्वाचनमा १८ मा सदस्य पदको उम्मेदवारी दिए।

२०५४ सालमा नेवि संघ धरानको सचिवको जिम्मेवारी पाएका राई २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बने।

‘पदभन्दा पनि मलाई कामको जिम्मेवारी महत्त्वपूर्ण लाग्छ, अहिले नेपाली कांग्रेस पार्टी धरान उपमहानगरको मेयर पदमा उम्मेदवार बनाउनुमा पनि मैले संगठनका लागि गरेको कामकै परिणाम हो,’ उनले भने।

नेता राईको राजनीतिक यात्रा २०५७ सालपछि अझ सशक्त भयो। उनी तरुण दल नगर अध्यक्ष बने। वि.सं. २०६२ सालमा नेपाली कांग्रेस नगर सचिव हुँदै २०६६ सालमा सम्पन्न १२औं महाधिवेशनमा धरान सभापतिको उम्मेदवार बने।

२०७२ मा सम्पन १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापतिमा निर्वाचित भएका राई २०७४ सालमा मेयरको उम्मेदवार भए।

त्यसो त धरानको मेयरका उम्मेदवार राईको योगदान सामाजिक सेवाका अनेकन क्षेत्रमा छन्। उनी किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सचिव, उद्योग वाणिज्य संघको कार्यकारी सचिव आदि जिम्मेवारीमा रहिसकेका छन्।

नेपाल शारीरिक सुगठनको ख श्रेणीका निर्णायक राईले सप्तकोशी बस व्यसायी संघका अध्यक्ष, नेपाल गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष लगायत कयौं संघसंस्थाको जिम्मेवारी पूरा गरिसकेका छन्।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन मेयर तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी हुँदा युवा नेता तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए।

तर, सुब्बाको २०७५ श्रावण १ गते फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पताल काठमाडौँमा निधन भयो। धरानका २० वटा वडामा ८२ हजारभन्दा धेरै मतदाता रहेका छन्।

उम्‍मेदवार राईका एजेण्‍डा

धरानलाई भ्रष्टाचारमुक्त नगर बनाउने, भ्रष्टाचार अन्त्य गराइ कर घटाउने, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बिष्णुपादु लगायतका धार्मिक क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने प्रतिबद्धता राईले व्यक्त गरेका छन्।

धरानमा विमानस्थल निर्माणको पहल गर्ने, खानेपानीको समस्या समाधान गर्ने, अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउने, धरान हुँदै पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी सुन्दर शहरको रुपमा धरानको विकास गर्ने योजनासहित नेता राई चुनावी मैदानमा आएका थिए।

त्यसैगरी, भूपू गोर्खाहरूको शहर धरानलाई अत्याधुनिक र व्यवस्थित बनाउने योजना पनि उनले अघि सारेका छन्।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल