Logo

मनोरञ्जन

‘दी भ्वोइस’का सनिश श्रेष्ठको पक्षमा काठमाडौं, गोरखा, सिन्धुपाल्चोक र धरानमा भोटिङ क्याम्प



ललितपुर, पोखरा, नेपालगञ्ज र चितवन पनि स्वतस्फूर्त भोटिङ क्याम्प:

धरान – सुनसरी धरान उपमहानगरपालिका–१ की सुष्मा लिम्बू केहीदिन यता निकै व्यस्त छिन्। दोस्रो संस्करण शुरु भएदेखि नै दी भ्वोइस अफ नेपाल हेरिरहेकी सुष्मालाई काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठको गायन असाध्यै मन पर्छ।

र, सुष्माले दी भ्वोइसको उत्कृष्ट चारमा पुगेका सनिशलाई जिताउन धरानमा भोटिङ क्याम्प शुरु गरेकी हुन्। ‘मैले अघिल्लो साताबाटै सनिश श्रेष्ठका लागि भोटिङ क्याम्प शुरु गरेका हौं,’ सुष्माले भनिन्, ‘मैले सुरु गरेपछि अरुले पनि सनिशलाई भोट गर्न आह्वान गर्दै सहयोग गरिरहनु भएको छ।’

त्यसैगरी, पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा सनिशका लागि भोटिङ क्याम्प स्थापना गरेर स्थानीयबासीले भोट मागिरहेका छन्। चितवन र नेपालगञ्जमा पनि सनिश श्रेष्ठलाई भोट गर्न–गराउन उनका शुभचिन्तकहरू स्वतस्फूर्त रुपमा लागिरहेका छन्।

‘हामीले राम्रो प्रतिस्पर्धीले नै दी भ्वोइस अफ नेपाल जितेको हेर्ने चाहना अनुरुप यो भोटिङ क्याम्प सुरु गरेका हौं,’ पोखरा–२ का प्रमोद कोइरालाले भने, ‘सनिश श्रेष्ठले जितेपछि हामीलाई धन्यवाद दिन पक्कै आउनु हुनेछ।’

यसैगरी, काठमाडौंमा पनि केही विद्यालय र सनिशका शुभचिन्तकले पनि उनको पक्षमा स्वतस्फुर्त रुपमा भोटिङ क्याम्प चलाइरहेका छन्। सनिशको पुर्ख्यौली घर गोरखा र मावली घर सिन्धुपाल्चोकमा पनि स्वतस्फूर्त रुपमा भोटिङ क्याम्प सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ।

यसैगरी, ललितपुरमा (हेर्नुहोस् भिडियोमा) पनि विद्यार्थी तथा विभिन्न क्षेत्रका अगुवाहरुले सनिशलाई जिताउन अभियान सञ्चालन गरिरहेका छन्। पोखरा, नेपालगञ्ज र चितवन पनि स्वतस्फूर्त भोटिङ क्याम्पहरू सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ।

नेशनल मल्टिपल कलेजका प्रिन्सिपल पवन वैद्यले दी भ्वोइस अफ नेपालका प्रतिस्पर्धीमध्ये हरेक दृष्टिकोणले सनिश श्रेष्ठ नै अब्बल भएको बताउँदै उनका लागि भोट अभियान प्रारम्भ गरिएको बताए। ‘हाम्रोलाई होइन, राम्रोलाई भोट गरौं, राम्रो प्रस्तुति सनिशको छ, त्यसैले सनिशलाई दी भ्वोइस अफ नेपाल बनाऔं,’ वैद्यले भने।

दी भ्वोइस अफ नेपालमा ब्लाइण्ड राउण्डदेखि नै जोडदार प्रस्तुति दिएर चर्चाको शिखरमा छन् काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ। सनिशको आवाजमा त्यो जादु छ, जसले अहिल्यै लाखौं शुभेच्छुकको माया पाइसकेको छ। उनको सरल स्वभावले अझै धेरै सद्भाव बटुलिसकेको छ।

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको दी भ्वोइस अफ नेपालको फिनाले आगामी शनिबार हुँदैछ। कोच राजु लामाको टिममा रहेका सनिशको प्रस्तुति कोच एवम् वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल र आस्था राउतले पनि उत्कृष्ट भएको प्रतिक्रिया दिँदै आएका छन्।

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिशले ब्लाइण्ड अडिशनमा प्रस्तुत गरेको ‘लै लै’ गीत ग्लोबल भ्वोइसमा समावेश भएको थियो।

दी भ्वोइसको एक चरण मात्रै बाँकी रहेकाले अब निर्णायक रुपमा सहयोग गर्न सनिशले आग्रह गरेका छन्। ‘मैले नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने सोच बोकेको छु,’ सनिशले भने, ‘त्यो सोच पूरा गर्न यहाँहरुको सहयोग अपरिहार्य बनेको छ।’

त्यसो त आफ्ना हजुरबुवा कृष्णकुमार श्रेष्ठको प्रेरणाले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका सनिश भविष्यमा नेपाली संगीतका एक सशक्त नक्षत्र हुने संकेत मिलिसकेको छ।

दी भ्वोइसको विजेता बन्न भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्‍याइदिन सनिशका बुवा विजय श्रेष्ठ र आमा जमुना ढकाल श्रेष्ठको आग्रह छ। सनिशको भोटिङ कोड ०९ रहेको छ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल