Logo

समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, हिँडडुल गर्न थाले, ठोस आहार दिइयो



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। ओलीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई ठोस आहार दिन थालिएको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएकी हुन्।ओलीले हिँडडुल गर्न थालेको जानकारी उनले दिइन्। ओलीको फिजिकल तथा बायोकेमिकल मापदण्डहरुमा सुधार देखिएको डा. शाहले बताइन्।

ओलीको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान भर्ना भएका ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया मध्यान्ह १२ः४० मा सकिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारमहाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ओलीलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको शल्यक्रिया १२ः४० बजे सफलतापूर्वक सम्पन्न भएको हो,’ थापाले भने।

ओलीलाई एपेन्डिसाइटिस भएपछि मंगलबार बिहान अस्पतालमा भर्ना गरिएको थियो। सोमबार रातिदेखि पेट दुखेपछि ओली गएका हुन्।

ओली मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना भएका थिए।

ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ। यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन।कतिपय अनुसन्धानमा पनि यो शरीरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफै हराएर जाने बताएका छन्।

कतिपय चिकित्सकले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन्।

एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ। त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन्। यो सामान्य शल्यक्रिया हो।

यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो। गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

अस्पतालमै दुई पटक डायलासिस भएको थियो। त्यसपछि पनि दुई पटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल