Logo

गण्डकी प्रदेश

‘कास्की २ मा हाम्रो पक्षमा जनलहर देखियो, साझा पार्टीको जीत सुनिश्चित’



जीवन पौडेल, कास्की – कास्की क्षेत्र नम्बर २ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल यतिबेला तातेको छ।

प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनले कास्की क्षेत्र नम्बर २ यसपटक विशेष चर्चामा छ। यतिबेला विभिन्न राजनीतिक दलहरू आफ्नो पक्षमा भोट माग्न गाउँगाउँ पुगेका छन्।

यसैबीच, कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीले कांग्रेस र कम्युनिष्टसँग आफ्नो कडा प्रतिष्पर्धा हुने दावी गरेको छ। बुधबार साँझसम्म नै साझा पार्टीका नेताहरू आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहे।

उम्मेदवार रजनी केसी मतदातालाई आफूतिर तान्न हरेक दिन बिहानदेखि साँझसम्म टोलटोलमा मतदाता भेट्न पुग्छिन्।

खेतमा धान काट्दै गरेका मतदाता हुन् या होटल पसल व्यवसाय गरिरहेका मतदाता सबै सामु पुगेर रजनी गाउँको भोट आफ्नो पक्षमा तान्न जोडबलले लागेकी छिन्। बिहानदेखि रातिसम्म चुनावी सभा, भेला, छलफल लगायतका कार्यक्रम गरिरहेकी छिन्।

साझाले गल्ली गल्ली चोक चोकमा पार्टीको झण्डा, तुल, ब्यानर राखेर प्रचार प्रसार गरिरहेको छ। साझाका नेताहरु अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन्।

अरु पार्टीको जस्तो भड्किलो प्रचार शैली यिनीहरुको छैन, मकै भटमास र समोसा खाएरै कार्यकर्ताहरु चुनाव प्रचारमा होमिएको देखिन्छ।

सादा जीवनशैली, तड़क भडक बिनाको प्रचार तथा स्वच्छ छवि भएकाले गर्दा स्थानीय मतदाताहरु पनि साझा पार्टीप्रति अत्यन्तै सकारात्मक भएको र यसपटक विकल्पको रुपमा तराजु नै रोज्ने बताएको साझा पार्टीका एक कार्यकर्ताले बताए।

लोककल्याणकारी राज्य,सेवक सरकार तथा सुशासनको प्रमुख एजेण्डा बोकेको साझा पार्टी केन्द्रले पनि आफूलाई कास्की क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धी मानेको छ। उम्मेदवार रजनीले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेकी छन्।

पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकाले कास्कीका मतदाताले विकल्पको खोजी गरिरहेको रजनी बताउँछिन्। ‘कास्की २ मा हाम्रो पक्षमा जनलहर देखियो, साझा पार्टीको जीत सुनिश्चित छ,’ उनले भनिन्।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल