Logo

भिडियो

नेपाली कांग्रेसको प्रश्न, ‘प्रधानमन्त्रीज्यू, नागरिकलाई सुरक्षाको प्रत्याभूति कहिले गराउने?’



काठमाडाैं – नेपाली कांग्रेसले एक भिडियो विज्ञप्ति जारी गरी सरकारसँग शान्ति सुरक्षाका सवालमा जवाफ मागेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी ओलीसँग शान्ति सुरक्षाका विषयमा जवाफ मागेका हुन्।

‘उपनिर्वाचन सरकारलाई सच्याउन मतदाताका लागि महत्वपूर्ण अवसर रहेकोे अपिल हामी गरिरहेका छौं, त्यसैले मंसिर १४ को मिति नजिक आइरहँदा एकातर्फ हामी नेपाली कांग्रेसलाई मत दिन जरुरी कारणहरु उल्लेख गरिरहेका छौं, अर्कातर्फ वर्तमान सरकारको असफलताका तथ्य सार्वजनिक रुपले राखिरहेका छौं,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बितेको २१ महिनामा देशमा शान्ति सुरक्षाको स्थितिमा बढेको प्रतिकुलताको प्रतिनिधिमूलक चित्र सरकार र मतदाता समक्ष भिडियोमार्फत प्रस्तुत गरेएको शर्माले बताएका छन्।

‘केपी ओली प्रधानमन्त्री बन्नुभएको यो अवधिमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा २ जनाको हत्या भएको छ, फरक घटनामा कमल गाउँपालिकाका बासिन्दा युवा व्यवसायी खेमराज पौडेल तथा गौरिगञ्ज गाउँपालिकाका पाका व्यक्ति अलगचन्द राजवंशीको हत्या भयो,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘सत्तारूढ कम्युनिस्ट पार्टीको झैं एउटै नाम र एकै झण्डा बोकेको विप्लव समूहको हिंसात्मक गतिविधिले पनि कतिपय बेला शान्ति सुरक्षामा खलल पुगेको छ।’ 

प्रवक्ता शर्माले काठमाडौं उपत्यकामा दुई बालक अपहरणपछि मारिएको, उपत्यकामै असी वर्ष पुगेका ज्येष्ठ नागरिक पूर्व राजदूत केशव झाको हत्या भएको तथा रोल्पामा नेपाल तरुण दल लिवाङका सभापति रोहित पुन तथा सर्लाही र रुपन्देहीमा गरेर नेपाली कांग्रेसका अन्य ३ युवाको हत्या नेकपाका कार्यकर्ताहरुको हातबाट भएको बताएका छन्।

‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १६ महिना पुग्दापनि दोषीहरुलाई कठघरामा उभ्याउन सरकार सफल हुन सकेको छैन,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘हत्या, अपहरण, बलात्कार र एसिड आक्रमणका घटना यो अवधिमा बढेर गएको छ।’

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न भएपछि विरासतमा नेकपाले सहज राजनैतिक वातावरण प्राप्त गरेको भए पनि सहजताको समयमा मुलुकको शान्ति सुरक्षाको स्थिति निरन्तर खस्किनु सिंगो देशका लागि दुःखद विषय भएको शर्माको दावी छ।

Nepali Congress Press Realese

प्रकाशित : १० मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल