Logo

राजनीति

‘हामी देश बनाउन आएका हौं, चुनाव जित्छौं, दुषित राजनीतिलाई सुसंस्कृतमा बदल्छौं’



जीवन पौडेल, काठमाडौं – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राज्यबाट पाउने सेवासुविधा सबैका लागि समान हुनुपर्ने बताएका छन्। संयोजक मिश्रले प्रधानमन्त्री केपी ओलीले सिङ्गापुरका महँगा अस्पतालमा उपचार गराउँदै आउँदा सर्वसाधारणले उपचारै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताएका हुन्।

‘यहाँ किड्नी फेल भएका कति जनता छन्, तिनीहरुले उपचार पाउनु पर्छ कि पर्दैन? राम्रो उपचार गर्न पाउने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिको मात्र हो कि सर्वसाधारणको पनि हो?,’ मिश्रले प्रतिप्रश्न गर्दै भने, ‘त्यसैले अब मतदाताहरूले यो उपनिर्वाचनमा विकल्पको खोजी गर्नुपर्छ।’

मिश्रले साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए। अन्य पार्टीसँग जनता निराश भएको दावी गर्दै उनले यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो।

‘हामी घरदैलो कार्यक्रममै छौं, साझा पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउनै पर्छ भनेर लागेका छौं,’ मिश्रले थपे, ‘किनभने साझा पार्टीले यो निर्वाचन जित्दा यो देशको राजनीतिलाई सुधार्न सघाउ पुर्‍याउँछ।’

कांग्रेस र कम्युनिष्टको विकल्प

मुलुकको राजनीतिक अवस्था बिग्रिनुमा कांग्रेस र कम्युनिष्टहरु कारक रहेको मिश्रको तर्क छ। यो निर्वाचनमा साझा पार्टी विकल्पका रुपमा आएको उल्लेख गर्दै उनले चार जना उम्मेदवार विजयी भएमा वैकल्पिक शक्तिको सम्भावना अझ सुदृढ हुने र अन्य दलहरुलाई पनि सुध्रिन प्रेरित गर्ने बताए।

‘अरु पार्टीका नेताहरुले पनि अब हामी सच्चिएनौं भने अर्को निर्वाचनमा साझा पार्टीले हामीलाई पराजित गर्ने छ भन्ने सोच्ने छन्,’ संयोजक मिश्रले भने, ‘उनीहरु पनि सच्चिन बाध्य हुनेछन्।’

पूराना दलसँग आबद्ध नेपालीहरुले जनताको र देशको भलो चाहने भए यस पटक तराजुमा भोट गर्नुपर्ने मिश्रको धारणा छ। उनले कार्यकर्ता पङ्तिबाटै दवाव नदिएसम्म पूराना राजनीतिक दलभित्रको सुधार असम्भव रहेको उनले बताए।

यस कारण साझा पार्टीलाई भोट

समाजको रुपान्तरण र लोकतन्त्र परिष्कृत बनाउनका लागि स्वतन्त्र नागरिकको संख्या बढाएर मात्रै सम्भब रहेको बताए। पार्टीको भक्ति गर्ने नागरिकको संख्या बढाएर मुलुकलाई समृद्ध र सुसंस्कृत राजनीतिकको विकास गराउनै नसकिने उनले बताए।

‘यो देशमा अलिकति सुशासन दिन सक्ने इमानदार नेतृत्व हुने हो भने हामी जस्तो कुनै एउटा प्रोफेशनमा लागेको मान्छे राजनीतिमा होमिनुपर्ने थिएन, हामी देश बनाउन आएका हौं, त्यसैले तराजुका बारेमा देशभरि परिचय बनेको छ,’ संयोजक उनले भने।

संयोजक मिश्रले साझा पार्टीले मुलुकको समग्र परिवर्तनको पक्षमा क्रान्ति सुरु गरिसकेको उद्घोष गरे। राजनीति सुसंस्कृत नबनेसम्म आफूहरु निरन्तर डटिरहने अठोट उनले व्यक्त गरे।

‘साझा पार्टी मतदातालाई दोष दिने पक्षमा छैन, मतदातालाई सुसंस्कृत राजनीति र राजनीतिक नेतृत्व के हो, सुुसंस्कृत समाज के हो, भन्ने विषयमा राजनीतिक नेतृत्वले सिकाएन, राजनीतिक नेतृत्वले हामीलाई यसरी राजनीतिकरण गर्‍यो कि, हरेक परिवारमा नेकपा र कांग्रेस छन्, साझा पार्टीले यो विचारलाई अब परिवर्तन गर्ने छ,’ उनले भने।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल