Logo

समाचार

‘प्रतिष्ठाको लडाइँ’ बीच यसरी छानिँदैछ गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व



काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका आकांक्षीहरुले प्रचारप्रसार तीव्र पारेका छन्। मतदाता आफ्नो पक्षमा पार्न र आफ्ना एजेन्डाहरु मतदातालाई बुझाउने दौडमा सबै उम्मेदवार लागेका छन्।

अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले गैरआवासीय नेपाली संघको नेतृत्वका समूह नै बनाएर भोट मागिरहेका छन्।

सन् २०१९ देखि ०२१ सम्मको दुई वर्षे कार्यकालका लागि विश्वका झन्डै ८१ देशबाट आएका प्रतिनिधिहरुले काठमाडौंमा भोलि हुने मतदानमार्फत् केन्द्रीय नेतृत्व छान्ने छन्।

आचार्यको लोकतान्त्रिक समावेशी, पन्तको वामपन्थी प्यानल

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा अन्तराष्ट्रिय सम्मेलनमा अतिथि भएर आएका नेपाल सरकार मन्त्रीहरुले नै अध्यक्षका प्रत्यासी कुल आचार्यलाई ‘सहमति’को प्रस्ताव गरे।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो पार्टीको तर्फबाट अध्यक्षका प्रत्यासी पन्तलाई सहमतिमा अध्यक्ष बनाउन आचार्यलाई प्रस्ताव गरेका हुन्। अन्य मन्त्री तथा नेकपाकाहरुले पनि ‘कुलजीलाई सहमतिमै जान’ सुझाव दिन्छौं’ भने।

kul acharya kumar panta ni kathmandu2 1

तर, अध्यक्षका प्रत्यासी आचार्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ‘हाँसी हासी चुनावी प्रतिस्पर्धामा जाने सहमति गरौं’ भनेका थिए। अध्यक्षमा प्रतिस्पर्धा गर्न दृढता उनले व्यक्त गरेका छन्।

लोकतान्त्रिक समावेशी प्यानल बनाएका आचार्यको टिमबाट अमेरिकाका डा. केशव पौडेल, अस्ट्रेलियाका मन केसी, अमेरिकाकी रविना थापा र मध्यपूर्वबाट नरेन्द्र भाटले उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

बेल्जियमकी जानकी गुरुङले महासचिवमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिने छन्। उनी अहिलेको कार्यसमितिका सहकोषाध्यक्ष हुन्।

यसैगरी, अध्यक्षका उम्मेदवार पन्तले उपाध्यक्षमा अमेरिकाका सोनाम शेर्पा, अस्ट्रेलियाका धर्मराज अधिकारी, रुसकी सपिलाराज भण्डारी, अर्जुनकुमार श्रेष्ठ र रुसकै बद्री केसीलाई अघि सारेका छन्।

पन्तले महासचिवमा बेलायतका डा. हेमराज शर्मालाई अघि सारेका छन्। तर, शर्माले आफ्नो उम्मेदवारी स्वतन्त्र भनेका छन्।

उनको टिमबाट ओमानका डम्बरबहादुर क्षेत्री (डिबी) ले पनि उम्मेदवारी घोषणा गरेका थिए। तर, उनले आफ्नाे उम्मेदवार स्थगित गरेकाे बताएका छन्।

कोषाध्यक्षमा पन्तको टिमबाट जापानका महेश श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन्।

हायातमा दुवै समूहको ‘जुलुश’

उद्घाटन सत्र सकिएपछि अध्यक्षका दुवै उम्मेदवार आचार्य र पन्त चुनावी माहोल बनाउन व्यस्त देखिए। आचार्यका प्रत्यासी आचार्यले स्वच्छ प्रतिस्पर्धा हुने बताए।

गैरआवासीय नेपालीहरुको पक्षमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै आचार्यले सबै क्षेत्रलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

kul acharya kumar panta ni kathmandu3

आचार्यका समर्थकहरुले उनलाई बोकेर घुमाए। आचार्यको पक्षमा ब्यानर, प्लेकार्डसहित उनको चुनावी गीत बजाउँदै समर्थकहरुले हायात होटल परिक्रमा गरेका थिए।

त्यसैगरी, अध्यक्ष पदका अर्का उम्मेदवार पन्तलाई पनि सोही शैलीमा उनका समर्थकले बोकेर हायात परिसरमा घुमाए।

पन्तले गैरआवासीय नेपालीहरुका समस्याको पहिचान गरेर समाधान गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जर्मनीका पन्तले वामपन्थी प्यानल बनाएका छन्।

पूर्वअध्यक्षहरु को कता?

अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, मध्यपूर्व र युरोपबाट आएका प्रतिनिधिहरु मात्रै होइन, यस पटक पूर्व केन्द्रीय अध्यक्षहरुले पनि आफ्ना उम्मेदवार अघि सारेका छन्।

पूर्वअध्यक्ष जीवा लामिछानेले यस पटक अध्यक्षमा कुमार पन्तलाई समर्थन गरेका छन्। लामिछानेका ‘व्यावसायिक साझेदार’ रहेका पन्तले अन्य पूर्व अध्यक्षहरुको साथ पाएनन्।

अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पूर्वअध्यक्षहरु देवमान हिराचन र शेष घलेको साथ छ। त्यसैले चुनाव सहजै जित्नेमा आचार्य ढुक्क छन्। वर्तमान अध्यक्ष भवन भट्टको समर्थन पनि आचार्यलाई नै रहेको छ।

shesh ghale

‘गैरआवासीय नेपाली संघ एनआरएनएलाई सक्षम लिडरको खाँचो छ, यो विश्व सम्मेलनले सक्षम र सशक्त नेतृत्व प्रदान गर्नेछ, हामी त्यसैका लागि प्रयासरत छौँ,’ पूर्वअध्यक्ष शेष घलेले नेपालन्युजसँग भने।

संस्थापक अध्यक्ष महतोको ‘बहिस्कार’

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतो उपस्थित थिएनन्।

महतोले राजनीतिक दलहरुको हस्तक्षेप भएको उल्लेख गर्दै बहिस्कार गरेका हुन्। सामाजिक भावले खुलेको संस्थालाई राजनीतिक दलहरुले अनावश्यक हस्तक्षेप गरेको उनले बताएका छन्।

rnna upendra mahato

गैरआवासीय नेपाली संघ विश्वभरि बस्ने नेपालीको हितका काम गर्न खुलेको संस्था रहेको उल्लेख गर्दै महतोले यो संस्था राजनीतिक दलको हस्तक्षेपबाट मुक्त हुनेमा आफू दृढ रहेको उनले बताएका छन्।

साभारः नेपालन्युज

प्रकाशित : २९ आश्विन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल