Logo

राजनीति

अन्तर्राष्ट्रिय संस्थाबाट राजीनामा दिएका अर्याल साझा पार्टीका केन्द्रीय सदस्य



काठमाडाै‌ं – सयभन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडी ग्रुपका एसिया क्षेत्रीय निर्देशक डा. सिद्धि अर्याल साझा पार्टीमा आबद्ध भएका छन्। निर्देशकबाट राजीनामा दिएर उक्त पार्टीमा आबद्ध भएका अर्यालले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिअनुसार संयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षीय अर्यालले १८ वर्षयता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

साझा पार्टीका नेताहरु।

क्युइडी ग्रुपका निर्देशक हुनअघि डा. अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपी लगायतका संस्थामा एसिया क्षेत्रका सल्लाहकार रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

उनले संसारका दर्जनौं देशमा राष्ट्रिय, प्रान्तीय तथा स्थानीय निकायका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यान्वयनका संरचना तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।

डा. सिद्धि अर्याल।

‘मैले एउटा इमान्दार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन,’ पार्टीमा आबद्ध भएपछि अर्यालले भने, ‘नेपालीले आशा र विश्वास गरिरेहको साझा पार्टी निर्माणमा सहभागी हुनु सही लाग्यो, म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत् नेपालको रूपान्तरणमा सरिक हुनेछु।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकै पुस्तामा नेपालको रूपान्तरण गर्न सबैलाई आह्वान गरे। ‘सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तर्राष्ट्रिय जागिर छाडेर पार्टी निर्माणमा सहभागी हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ,’ उनले भने।

प्रकाशित : २२ असार २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल