Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’



काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनु पर्नेमा जोड दिएका छन्। शर्माले अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गरेको ट्वीटमा शर्माले सोधेका छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, यहाँको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

सरकारी आयोगका सदस्यले नै ‘मारिन्छु’ भन्ने आशंका गरेर राजीनामा दिने कुरा बिल्कुलै सामान्य नरहेको उनले जनाएका छन्। ‘यो प्रकरणमा विवादास्पद बोली यहाँ स्वयंले बोल्नुभयो। आज मौन ब्रत किन?’ – प्रधानमन्त्रीलाई शर्माको प्रश्न छ।

कांग्रेस प्रवक्ता, प्रधानमन्त्री र बालिका निर्मला (बीच)।

पन्तको हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन्। अनुसन्धानको म्याद थप गरिएकोप्रति असन्तुष्टि जनाउँदै केसीले राजीनामा दिएका हुन्।

मृतक निर्मला र उनको परिवारलाई समितिको सदस्यबाट न्याय दिन असम्भव देखेर आफू समितिबाट बाहिरिएको जानकारी उनले दिएका छन्। उनले डिएनए टेष्टको जटिलता र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने खतरा भएको भन्दाभन्दै म्याद थप गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

यसैबीच, कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा मंगलबार रिहा गरिएको हो। सरकारी वकिल कार्यालय कञ्चनपुरको न्यायधिवत्ता खेमराज भट्टका अनुसार घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको दाबी गर्दै उनीहरुलाई रिहा गरिएको हो।

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टले षड्यन्त्रपूर्वक दिलीपसिंह बिष्टलाई फसाउन खोजेको भनेर महेन्द्रनगरमा चर्को आन्दोलन भएको थियो। नक्कली प्रमाण बनाएर बिष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो। केही प्रदर्शनकारी घाइते भएका थिए।

प्रकाशित : २६ भाद्र २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल