Logo

समाचार

अनुभवी प्रशासक, दुरदर्शी योजनाकार



काठमाडौं, १८ भदौ – नेपाल दूरसञ्चार प्राधिकरणको मुलुकको टेलिकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकाय। जसको प्रमुखका लागि दौडधुप शुरु भइसकेको छ। दूरसञ्चार क्षेत्रमा उल्लेख्य सुधारको शुरुवात गरिसकेका व्यक्तिलाई ल्याउन नदिई स्वार्थ पूर्ति गराउने व्यक्ति ल्याउन विभिन्न शक्ति केन्द्रहरुमा प्रयासहरु भइरहेका छन्।

खासगरी लामो समय प्राधिकरणमा प्रमुखको रुपमा महत्वपूर्ण काम गरेका दीगम्बर झा पनि प्रतिस्पर्धी भएपछि प्राधिकरणभित्रकै केही अधिकारी तथा दूरसञ्चार माफियाको निन्द्रा खोसिएको छ। उनलाई अयोग्य प्रमाणित गर्नका लागि विभिन्न तानाबुना बुन्ने क्रम शुरु भएको छ प्राधिकरणकै कर्मचारीहरु बताउँछन्। प्राधिकरणको अध्यक्षका लागि झा, पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनालको सिफारिस भएको छ।

दीगम्बर झा।

लामो समय सरकारी सेवामा रहेका झाले प्राधिकरणको नेतृत्व लिएर एउटा निम्छरो संस्थालाई बलियो संस्थाका रुपमा स्थापित गरेका छन्। आमनागरिकसँग जोडिएको दूरसञ्चार सेवालाई जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् झाले। उनले दूरसञ्चार सेवा प्रदायकलाई नियमन गर्दै जनतालाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम अघि बढाए। जसका कारण अहिले प्राधिकरणको प्रतिष्ठा र भूमिका सर्वत्र प्रशंसाको विषय बनेको पाइन्छ।

प्राधिकरणको अध्यक्ष रहेका झाको नियुक्ति निर्वाचन आचारसंहिताका कारण वर्तमान सरकारले खारेज गरेको थियो। उनलाई कुनै पनि असक्षमता तथा कारबाहीका आधारमा हटाइएको थिएन। त्यस अघिका तीन वर्षमा आफूले दूरसञ्चार सेवालाई आम जनताको पहुँचसम्म पुर्याएको उनले बताएका छन्।

उनले आफ्नै कार्यकालमा ब्रोडब्याण्ड इन्टरनेट भित्रिएको बताएका छन्। नेपालका लागि सूचना प्रविधि (आइटिसी) नीति पारित गराए। भूँइचालो गएको बेला टेलिकम सेवालाई चुस्त राख्नका लागि नेतृत्व गरेका उनले बताए। भूकम्पमा फसेका तथा घाइते भएकाहरुको उद्दार उपचारका लागि आइटियूसँग मिलेर स्याटलाइट तथा इन्टरनेट फोनमार्फत उद्दारलाई प्रभावकारी बनाएको झाले उल्लेख गरे।

झाले यसबीचमा नेपालका लागि महत्वपूर्ण सूचना महामार्ग (इन्फरमेशन सुपर हाइवे) अवधारणा पनि अघि सारेका छन्। मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टिकल फाइबर केबल हुने र त्यसलाई हरेक जिल्ला सदरमुकासँग जोड्ने उनको योजना अनुसारको काम अघि बढिरहेको छ। त्यस्तै उत्तर–दक्षिण राजमार्गमा जोड्ने तथा सबै जिल्ला सदरमुकार र नगरपालिका पनि जोड्ने सपनाकासाथ काम अघि बढाएका छन्। यसका लागि नेपालका तीन ठूला सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट सेललाई ठेक्का दिइसकेका छन्। यी काम सम्पन्न हुँदा नेपालमा इन्टरनेट पहुँचमा ऐतिहासिक काम हुनेछ।

त्यस्तै, ब्रोडब्याण्ड (तीब्र गतिको इन्टरनेट) मा सबैको पहुँच पुर्याउन ७७ जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर कामअघि बढाएको बताएका छन्। तीमध्ये भूकम्प प्रभावित ११ जिल्लामा काम सकिसकेको छ। सबै वडा कार्यालय, गाउँपालिका तथा नगरपालिका तथा सबै स्वास्थ्य केद्र र सामुदायिक तथा उच्च माध्यमिक विद्यालयमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड उपलब्ध गराउने महत्वकांक्षी परियोजना अघि बढाएका झाले बताएका छन्। ग्रामीण भेगमा जनताको चाहना अनुसार काठमाडौंकै मूल्यमा उपलब्ध गराउने घोषणा उनले यसअघि नै गरिसकेका छन्।

झाले आफ्नै कार्यकालमा दूरसञ्चार सेवा प्रदायकहरुलाई फोरजी उपलब्ध गराएर सेवा शुरु गराएको जनाएका छन्। उनले पछिल्लो पटक सेवा प्रदायक निकायहरुले एउटा टावर प्रयोग गर्ने अवधारणामा काम गरिरहेका थिए। एउटै टावर दूरसञ्चार सेवा प्रदायक सबैले प्रयोग गरे ३० प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षका आधारमा कामअघि बढाएका थिए। सो प्रक्रिया अहिले मन्त्रालय पुगेको झाले जनाएका छन्।

उनले इन्टरनेशनल ब्याण्डविथको मूल्य ४५ डलरभन्दा माथिबाट घटाएर १० डलरमा झारिएको बताए। यसले सर्वसाधारणलाई सस्तो दरमा तीब्र गतीको इन्टरनेट उपलब्ध भएको छ।
डिजिटल नेपालको अवधारणाअघि बढाउन डिजिटल लिटरेसीको काम पनि अघि बढेको छ। विशेष ठाउँहरुमा निःशुल्क वाइफाइको काम पनि शुरु गरिएको उनको भनाई छ।

विद्युत प्राधिकरणसँग मिलेर तार जमीनमुनि ओछ्याउने काम झाले आफ्नै कार्यकालमा शुरु भएको जनाउँदै भिओआइपी नियन्त्रणका लागि पछिल्लो पुस्ताको प्रविधि ल्याउने प्रक्रिया अघि बढेको बताए। झाले तीन वर्षको अवधिमा ६ जना मन्त्रीसँग काम गरेका छन्। ‘मैले सधैँ अप्ठ्यारो अवस्थामा पनि सहजताका साथ काम गरे, म इमान्दार भएर सेवा गर्छु, म टिमवर्कमा विश्वास गर्छु’ – झाले भने।

नेपालले आफ्नै स्याटेलाइट राख्नका लागि अर्बिटल स्लट झाकै पहलले पाएको छ। जसलाई अघि बढाउन विभिन्न अन्तर्राष्ट्रिय कम्पनीले टेण्डरमा भाग लिएका छन्। सर्वसाधारणले ४५ सेकेण्डभन्दा कम कल गरेपनि ४५ सेकेण्डको शुल्क लाग्ने व्यवस्था हटाएर १० सेकेण्डको मात्रै लाग्ने व्यवस्था पनि उनले मिलाएका छन्। जसले फोन प्रयोगकर्ता सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। साइबर सेक्युरिटीलाई ध्यानमा राख्नै झाले आवश्यक नीति निर्माणका लागि प्रक्रिया अघि बढाइसकेका छन्।

दूरसञ्चार प्राधिकरणमा झाले सर्वसाधारण प्रयोगकर्ता तथा सेवा प्रदायक तथा राज्य सबैलाई फाइदा पुग्ने गरी कामअघि बढाएका छन्। व्यवस्थापन र अर्थशास्त्रका दक्ष झाले २० वर्ष सरकारी सेवा गरेका छन्। उनी यसअघि विश्व बैंक र एशियाली विकास बैंकका लागि परामर्शदाताका रुपमा काम गरेका थिए। प्राधिकरण प्रमुख हुनुअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक थिए। झालाई अहिले पनि निगमको व्यवस्थापनमा उल्लेखनीय काम गरेको मूल्यांकन त्यहाँका कर्मचारीको छ। झा भन्छन् – ‘जहाँ जहाँ काम गरेँ, इमान्दारिता र परिणाममूखी कामलाई प्राथमिकता दिएँ।’

नेपालजस्तो ग्रामीण भूभाग भएको देशमा दूरसञ्चार सेवालाई जनताको जीवनस्तर र दैनिकीसँग जोड्न सकियो भने मात्रै सरकारले संकल्प गरेको समृद्ध नेपालको सपना साकार हुन सक्छ। त्यसैले, विश्वमा इन्टरनेटको पाँचौं पुस्ता परीक्षण भइसकेको अवस्थामा दूरसञ्चार क्षेत्रको नियामक संस्थाको नेतृत्व पनि अनुभवी, योजनाकर्ता तथा तीब्र निर्णय र नेतृत्व गर्न सक्ने क्षमताको हुन आवश्यक छ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल