Logo

समाचार

डा. केसीले यस्तो सुझाव दिए शिक्षा तथा स्वास्थ्य समितिलाई



काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ।

समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताए। उनले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई उपसमिति बनाएर छलफल गर्नुपर्ने सुझाव दिए।

समितिले आज उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो। प्रा.डा. केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भाग लिएनन्। बैठकमा केसीले आफ्नो १५औं अनशनपछि गत साउन १० गते सरकारसँग छलफल गरी विधेयकमा परिमार्जन गर्नुपर्ने बुँदा सम्झौताका रुपमा आइसकेकाले सोही विषयमाथिको छलफलमा भाग लिन आवश्यक नभएको बताए।

डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पुर्याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निःशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न सुझाव दिएका छन्।

समितिका सभापतिको निर्वाचन नभइसकेकाले बैठक समितिका ज्येष्ठ सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो। समितिले भोलि नेपाल मेडिकल एशोसिएशनसँग अध्यादेशका सम्बन्धमा छलफल गर्ने जनाएको छ। प्रा.डा. केसीसँगै डा. अभिषेक राज सिंह र प्रितम सुवेदी पनि छलफल सहभागी थिए।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल