Logo

समाचार

दिनभर अशान्त भीमदत्तनगर प्रशासनद्वारा कर्फ्यू आदेश



भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर आज दिनभर अशान्त भएको छ ।

ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ।

भीमदत्तनगरमा भएको प्रदर्शन।

जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि आज बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

कर्फ्यू लागेपछि नेपाली सेनाको भरतपुर ब्यारेकका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कफ्र्यु जारी गरिएका क्षेत्रमा गस्ती थालेका छन् । झडपका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्घर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन् । तीन दिनदेखि भीमदत्तनगर बजार बन्द छ ।

प्रकाशित : ७ भाद्र २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल