Logo

राजनीति

शैली बदल्दै कांग्रेसः ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा जे देखियो



काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रम आयोजना गर्यो। काठमाडौंको लैनचौर ब्याङ्केटमा बिहीबार आयोजित कार्यक्रम विभिन्न कारणले विशिष्ट थियो। उद्घाटनसत्र थिएन, न त आसनग्रहण नै भयो। न भाषणको लामो ताँती थियो। सीधा विषयमा प्रवेश गरेर शुरु भएको कार्यक्रममा उपस्थित पनि उत्साहित देखिन्थे। र, उनीहरु भन्दैथिए, ‘नेपाली कांग्रेसले शुरु गरेको यो ट्रेन्ड अरु राजनीतिक दलहरुले पनि अनुशरण गरेहुन्छ।’

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ भनेझैँ पछिल्लो समय नेपाली कांग्रेसले कार्यक्रमको आयोजना गर्ने शैलीलाई पूरै फेरेको छ। केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा प्रतिष्ठानका संयोजक एवं पार्टीका उपसभापति बिमलेन्द्र निधिले सभापतित्व ग्रहण गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यक्रमका उद्घोषक एवं प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले आसनग्रहण गराए। त्यसपछि दाहालले महामन्त्री, केन्द्रीय सदस्यसहित सबै उपस्थितलाई एकमुष्ठ आसनग्रहण गराए। स्वागत पनि आफैँले गरेका कार्यकारी निर्देशक दाहालले ४५ सम्म लाग्ने आसनग्रहण, २ घण्टाको उद्घाटनसत्रलाई १०–१५ मिनेटभित्र सकेर औपचारिक विषयमा प्रवेश गराएका थिए।

प्रतिष्ठानद्वारा अायोजित ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रम।

यस कारणले विशिष्ट रह्यो कार्यक्रम

नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा पार्टीका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले बोल्नका लागि २० मिनेट समय पाएका थिए। डा. महतका लागि निर्धारित समय सकिन लागेपछि उद्घोषक दाहालले उनलाई सूचित गराए। र, महतले पनि आफ्नो धारणा तोकिएकै समयभित्र सके।

त्यसपछि बौद्धिक वर्गको पालो आयो। लेखक/विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले नेपालको वर्तमान अर्थराजनीतिका विषयमा अत्यन्तै विचारोत्तेजक टिप्पणी प्रस्तुत गरे। त्यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्ले, अर्थविद् एवं वरिष्ठ पत्रकार डा. अच्युत वाग्ले, डा. विनोद भट्टराई लगायतले समसामयिक अर्थ–राजनीतिका विषयमा विचार प्रस्तुत गर्दा सहभागीहरु निकै रुची र उत्साहका साथ सुनिरहेका थिए।

त्यसैगरी, कांग्रेस नेता बालकृष्ण खाँड र नेतृ पुष्पा भूषालले अर्थ–राजनीति र संसदको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीलाई आधुनिक बनाउनका लागि सुधारका शैलीहरुलाई केन्द्रीय तहबाटै व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउँछन्।

आसनग्रहण, ब्याच वितरण, उद्घाटनसत्र, स्वागत आदिको समय छोट्याउनु पर्ने उल्लेख गर्दै शर्माले यही शैलीलाई निरन्तरता दिइने प्रष्ट पारेका छन्। उनले नेपाली कांग्रेसले सातै प्रदेशमा आयोजना गर्ने कार्यक्रमलाई यही शैलीमा लाँदै जाने पनि बताएका छन्।

प्रवक्ता शर्माले ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रम पाँच विषयमा विशिष्ट रहेको बताए। ‘पहिलो त अहिलेको समसामयिक विषयमा छलफल हुनु नै महत्वपूर्ण हो, गम्भीर विषयमा गम्भीर ढंगले छलफल भयो, त्यसैगरी कार्यक्रमको शैली, विशिष्ठ सहभागिता (जस्तै सांसद, केन्द्रीय सदस्यदेखि बुद्धिजीवी), सबैका लागि खुल्ला र ९ बजेदेखि ३ बजेसम्म सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भयो’ – शर्माले भने।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल