Logo

राजनीति

‘प्रचण्डको टाउकाको मोल तोक्ने र मलाई जेलमा सडाउन खोज्ने कांग्रेसलाई हाम्रो शासन असह्य भयो’



काठमाडौं, ८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनु भएको छ। प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै कांग्रेसले बखेडा झिकेको बताउनु भयो।

‘हामी हनिमुन मनाउन आएका होइनौं। काम गर्न आएका हौं,’ ओलीले भन्नुभयो, ‘सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनपर्यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ। जसरी हामीले कांग्रेसलाई अपदस्थ गर्यौं।’

प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताउनुभएको छ। ‘उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए। उही व्यक्ति शासनमा छ अहिले। जसले मलाई जेलमा सडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले,’ ओलीले भन्नुभयो, ‘यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो। त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन।’

​​​​​​​

प्रधानमन्त्री ओलीले काँंग्रेसलाई प्रश्न गर्नुभएको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ। कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ।’ नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीले गर्ने ओलीले बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ। ‘बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइँदैन भनेर सबैले बुझ्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताउनु भएको छ। त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उहाँले बताउनुभयो। सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सूचना प्राप्त भएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।

‘सरकारले राम्रा काम गरेको छ । रेल ल्याउने कुरा गरेको छ। मेलम्चीको पानी चाँडै काठमाडौं आउँदैछ,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अघिल्लो सरकारले धेरै बेथिति छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ। यो स्थायी सरकार हो। पाँच महिनामा नै आतिनु पर्ने केही छैन।’

सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भीर भएको बताउनु भएको छ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल