Logo

समाचार

डा. गोविन्द केसीलाई ‘हाइपोक्यालेमिया’, मुटु, मृगौला र श्वासप्रश्वासमा गम्भीर असर गर्ने जोखिम



काठमाडौं – विगत १८ दिनदेखि अनशनमा रहँदै आएका प्रा.डा. गोविन्द केसीलाई हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका बीच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाहा पाउन सकिएको थिएन।

वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा हाइपोक्यालेमिया देखिएको हो। चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाई हाइपोक्यालेमिया भनिन्छ।

मानव शरीरमा पोटासियम, मुटुको चाललाई ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई स्वस्थ राख्न आवश्यक पर्छ। यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा गम्भीर असरहरु देखा पर्छन्।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्छन्। खुट्टाबाट शुरु हुने यस किसिमको कमजोरी विस्तारै शरीरको माथिल्लो भागतर्फ सर्छ। उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा. केसीमा देखिदै आएको छ।

पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछन्, जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्याहरु देखिन थाल्छन् जुन डा. केसीमा विगत केही दिनयता झन थपिँदै गइरहेको छ।

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास, मिर्गौला र मुटुमा देखिन्छ। रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन्, जसका कारण बिरामीलाइ श्वास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ। यही जोखिमलाई मध्यनजर गर्दै अनशनस्थलमा अस्पतालले भेन्टिलेटर स्ट्यान्डबार्इ राखेको छ।

पोटासिमयमको कमीले प्रा.डा. केसीको मिर्गौलामा पनि असर पुर्याउन सक्छ। यदि त्यो अवस्था आएमा स्थिति थप जटिल हुने चिकित्सकहरु बताउँछन्।

उपचारमा संलग्न डा. धिरज गुरुङले डा. केसीलाई हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डर भएको बताएका छन्। आज दिउँसो जारी एक विज्ञप्तिमा उपचाररत चिकित्सकहरुले भनेका छन्, ‘डा. केसीलाई विगतमा पनि एरिदमिया अर्थात मुटुको चालमा गढबढी देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आई धड्कन नै बन्द हुनसक्ने देखिएको छ।’

मुटुको चालमा आउनसक्ने गढबढीलाई ध्यानमा राख्दै अनशनस्थलमा डिफिब्रिलेटर तयारी अवस्थामा राखिएको छ। तर, यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा. केसीलाई सिसियुमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ।

प्रकाशित : १ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल