Logo

समाचार

केपी ओली सरकार किन गोविन्द केसी ‘मरोस्’ भन्ने चाहन्छ?



काठमाडौं – प्रा.डा. गोविन्द केसीले आमरण अनशन शुरु गरेको आज १४ दिन बितेको छ। र, आफूले औपचारिक वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै डा. केसी आक्रोशित भएका छन्।

आज रगत परीक्षण गर्नका लागि गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले आफ्नो मृत्युको कामना सरकारले गरिरहेको आरोप लगाएका छन्। ‘म मरोस् भनेर सरकारले सोचेको रहेछ आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिन।’ तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परेपनि आफू तयार रहेको केसीले बताएका छन्।

सरकारले वार्ता गर्न चाहेको खण्डमा डा. केसीका तर्फबाट वार्ता गर्ने टोली काठमाडौंमै रहेका कारण, डा. केसी काठमाडौं आएपछि मात्रै वार्ता हुनसक्छ भन्नू सरकारको आफुलाई झुक्याउने चाल रहेको हुनसक्ने डा. केसीको आशंका रहेको छ।

आज सत्याग्रहको १४ दिनसम्म आउँदा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदो छ। विगतका अनशनको तुलनामा जुम्लाको चिसो मौसम र उच्च अल्टिट्युडका कारण नयाँ–नयाँ समस्याहरु देखिन थालेको छ। दोश्रो–तेश्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो। आज पनि त्यसका कारण सास फेर्न गाह्रो हुने, बोल्दा स्वास बढ्ने, उठेर बस्न गाह्रो हुने समस्या कारण डा. केसीलाई निरन्तर कृत्रीम अक्सिजन नाकबाट दिइँदैछ।

बिहीबार दिउँसो एक दुई पटक अर्धबेहोसी जस्तो अवस्था देखिएको भएपनि शुक्रबार त्यो समस्या देखिएको छैन। उपचाररत चिकित्सकहरुका अनुसार ब्रेनसम्म जाने रगतमा अक्सिजन र ग्लुकोजको मात्रा दिनानुदिन कम भएका कारण यस्तो भएको हुनसक्छ। उनीहरुका अनुसार केही दिनसम्म अझै यस्तै रगतको सञ्चार भइरहे डा. केसी बेहोस भएर ठुलै मुल्य चुकाउनु पर्ने पनि हुनसक्छ। छातीको दुखार्इ पहिलेको तुलनामा झन बढेको छ।

मुटुको चालमा त्यति बिघ्न गढबढी नदेखिएपनि गति असामान्य रहेको छ। कोल्टे फर्कदा वा हलचल गर्दा मात्रै पनि मुटुको गति १०० भन्दा माथी पुग्ने गरेको छ। सामान्यतः स्वस्थ मानिसको मुटुको गति ७०–८० को बिचमा रहन्छ।

शुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोशिकाको संख्या हिजोको रगतको रिपोर्ट अनुसार ४ हजारभन्दा कम भइसकेको छ। यसका कारण डा. केसी विभिन्न खाले संक्रमणको उच्च जोखिममा रहेका छन्।

चिकित्सकहरुका अनुसार अझै यस्तो चिसो मौसममा यदि सामान्य रुघाखोकी र ज्वोरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ। कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन।

पिसाबमा केटोन बडी अत्यधिक देखिन थालेको छ। यसको सिधा मतलब हुन्छ कि शरिरमा सन्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ। यसैका कारण पहिलो दिनको तुलनामा डा. केसीको तौल ९ केजी घटिसकेको छ।

प्रकाशित : २९ असार २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल