Logo

राजनीति

वैकल्पिक शक्ति निर्माण अभियन्ता केशव दाहाल विवेकशील साझा पार्टीमा



​​​​​​​

काठमाडौं – विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका नयाँ शक्ति पार्टीको प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्।

विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौड्यालका अनुसार गएको दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका हुन्। नेता दाहालले विवेकशील साझा पार्टीमा उच्च नेतृत्वमा जिम्मेवारी पाएको पनि विज्ञप्तीमा जनाइएको छ।

जति प्रयत्न गरेपनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने निश्कर्षका साथ दाहालले डेढ साताअघि उक्त पार्टीबाट राजीनामा दिएका थिए।

नेता केशव दाहाल नेपालको प्रगतिशील, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विभिन्न राजनीतिक तथा सामाजिक मञ्चहरुमा करिब दुई दशकदेखि सक्रिय रहेका छन्।

नेपालको लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको अभियानमा सहभागी हुँदै २० वटा भन्दा बढी मुलुकहरुमा आफ्नो राजनीतिक, सामाजिक तथा अन्य अभियानहरुको नेतृत्व गर्दै अवधारणापत्र र विचारहरु प्रस्तुत गरेका छन्।

नेपालमा वैकल्पिक राजनीतिको अपरिहार्यता सम्बन्धी बहसको उठान हुनु निकै अगाडि नै दाहाल समेतको मुख्य नेतृत्वमा २०६३ सालमा वैकल्पिक विचार मञ्च गठन गरिएको थियो।

सो मञ्चले नेपालको राजनीतिभित्र र बाहिरका विशिष्ट व्यक्तित्वहरूलाई संलग्न गराएर वैकल्पिक राजनीतिको बारेमा चर्चा, छलफल, अन्तरक्रिया र प्रकाशनहरु गर्दै आइरहेको थियो। दाहालको नेपाली राजनीतिको पूनर्गठन नामक पुस्तक प्रकाशित छ।

उनले अन्य विभिन्न पुस्तकहरुमा सहलेखन र सम्पादन गरेका छन्। जसमध्ये वैकल्पिक विचार मञ्चद्वारा प्रकाशित संघीयता र पूर्वी तराई तथा लोकतन्त्रदेखि लोकतन्त्रसम्म मुख्य छन्। उनी नेपालका प्रमुख पत्रपत्रिकाहरूमा नियमित रूपमा स्वतन्त्र लेखन पनि गर्छन्।

दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट बल्ल टुङ्गोमा पुग्ने आशा बढेको बताएका छन्। यसअघिको आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति उनले आभार प्रकट गरेका छन्।

विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दाहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताएका छन्।

प्रकाशित : ८ असार २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल