Logo

राजनीति

पूर्व प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौं, २९ वैशाख – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

पूर्व प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीसँग आज अपराह्न होटल हायातमा भेटवार्ता भएको हो।

भेटमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी भएका थिए।

दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो। प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन्।

भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल्लेख गर्दै उनले यसले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्।

उपनेता गच्छदारका अनुसार नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो।

भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए।

सभापति देउवाको भनाइ उद्धृत गर्दै गच्छदारले भने, ‘राजनीतिक सहमतिमा जारी भएको संविधान कार्यान्वयन गर्दै नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासमा अगाडि बढिरहेको छ।’

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिएको उनले जानकारी दिएका छन्।

प्रकाशित : २९ बैशाख २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल