Logo

खेलकुद

बिबिएफसी झापालाई पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको उपाधि



उत्तम रिजाल, पाँचथर, वैशाख १ – पाँचथरको रविमा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको उपाधि बिबिएफसी झापाले जितेको छ। आज सम्पन्न खेलमा राष्ट्रिय जागृति सुनसरीलाई २–० ले पराजित गर्दै झापाले उपाधि कब्जा गरेको हो।

यो उपाधिसँगै बिबिएफसी झापाले रवि गोल्डकपमा ह्याट्रिक समेत गरेको छ। पाँचौ गोल्डकप सम्म आइपुग्दा उसले चार पटक सम्म उपाधि उचालेको छ। झापाले दोश्रो गोल्डकप बाहेकका सबैमा उपाधि उचालेको हो।

निक्कै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफको अन्तिम पाँच मिनेटमा भएको थियो। विजयी टिमका लागि जर्सी नम्बर–१४ का कर्ण लिम्बुले ३१औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

लगत्तै दुई मिनेटपछि जर्सी नम्बर–१६ का रजिन धिमालले गोल गरेका थिए। यसअघि पहिलो हाफको तेश्रो मिनेटमा कर्ण लिम्बुको प्रहार पोलबारमा लागेर बाहिरिएको थियो।

त्यस्तै, आठौं मिनेटमा जर्सी नम्बर–२१ का गिल्शन कन्दङ्गवा वान भर्सेस वानमा गोल गर्न चुकेका थिए। ११औं मिनेटमा जर्सी नम्बर–७ का दीपक राईले वान भर्सेस वानमा प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरिएको थियो।

पराजित टिमका जर्सी नम्बर–१० का तीर्थ बस्नेतले ९औं मिनेटमा प्रहार गरेको बल पोलबारमा लागेर विफल भएको थियो। त्यस्तै जर्सी नम्बर–४ का सुरज सुनुवारको पहिलो हाफको ३३औं मिनेटको सशक्त प्रहारमा पोलबार बाधक बनेको थियो।

उपाधि जितेको झापाले नगद दुई लाखसँगै ट्रफी तथा मेडल हात पारेको छ। त्यस्तै पराजित राष्ट्रिय जागृतिले नगद एक लाख प्राप्त गरेको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पराजित टिमका जर्सी नम्बर–१० का तीर्थ बस्नेत भए। उनले नगद ५ हजार र ट्रफी हात पारे।

त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि पराजित राष्ट्रिय जागृतिका जर्सी नम्बर–११ का दीपेन तामाङ घोषित हुँदा उत्कृष्ट गोलकिपर बिबिएफसीका मनोज प्रधान, उत्कृष्ट डिफेण्डर बिबिएफसीकै जर्सी नम्बर–४ का दिलेन लोक्ताम र सर्वाधिक गोलकर्ता बिबिएफसीकै गिल्शन कन्दङ्गवा घोषित भए। उनीहरु सबैले जनही ३ हजार प्राप्त गरे।

प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिम, क्लबका अध्यक्ष गणेश दर्लामी लगायतले पुरस्कार वितरण गरेका थिए। चैत्र २४ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना राइजिङ स्टार स्पोर्टिङ क्लबले गरेको हो।

प्रकाशित : १ बैशाख २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल