‘बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीति अहिले अझ बढी सान्दर्भिक र औचित्यपूर्ण’


काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता स्व. बीपी कोइराला आफ्नो निर्वासित जीवन परित्याग गरी वि.सं. २०३३ साल पुस १६ गते भारतबाट स्वदेश फर्किए। स्वदेश फर्कनुअघि उनले राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरेका थिए। मुलुकमा राष्ट्रियताको अभावका कारण विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन थालेकाले आफूमाथि जस्तोसुकै संकट आइपरे पनि स्वदेश फर्कने निर्णय लिएको बताउँदै उनी स्वदेश फर्किएका थिए। नेपाल त्यतिखेर तानाशाही राजतन्त्रको कुचक्रमा छटपटाइरहेको थियो।

पञ्चायती कालरात्रिको मध्याह्न थियो त्यो बेला। बीपीलाई जस्तोसुकै सजाय पनि हुन सक्थ्यो। नभन्दै बीपी स्वदेश फर्किएलगत्तै २०३३ साल माघ १३ मा पोखरामा आयोजित एक पञ्चर्यालीलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले देशद्रोही र राजद्रोही बीपी कोइरालालाई कडा कारबाही गरिने बताए। बीपी र उनका सहयोगीहरूका विरुद्धमा नेपालमा राजकाज अपराध ऐनअन्तर्गत विभिन्न नौवटा संगीन मुद्दा दायर गरिएका थिए। ती मुद्दामा सर्वस्वहरण, जन्मकैद र प्राणदण्ड समेतको माग गरिएको थियो। त्यही समयमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले बीपीलाई फाँसीको सजाय दिनुपर्ने माग गरिरहेका थिए। यस्तो अवस्थामा बीपी राष्ट्रिय मेलमिलाप नीतिको प्रतिपादन गर्दै पुस १६ गतेका दिन स्वदेश फर्किए।

यही सन्दर्भलाई लिएर नेपाली कांग्रेसले हरेक वर्ष मेलमिलाप नीतिको स्मरण गर्दै यसलाई एउटा पर्वकै रूपमा मनाउँदै आएको छ। यही सन्दर्भमा नेपाली पब्लिक डटकमले कांग्रेसका केही युवा नेताहरूसँग मेलमिलाप दिवसको सान्दर्भिकता र औचित्यका बारेमा संवाद गरेको थियो। प्रस्तुत छ, संवादको सारांश र स्व. कोइरालाद्वारा वि.सं. २०३३ पुस १६ गते नेपाली जनताको नाममा गरिएको राष्ट्रिय मेलमिलापको अपिल र अन्य सान्दर्भिक सामग्रीः

‘राष्ट्रिय मेलमिलापको नीति वर्तमानमा अझ बढी सान्दर्भिक र औचित्यपूर्ण भएको छ’

शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

वि.सं. २०३३ सालमा जब महामानव विपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो, त्यति बेला विश्वमा शितयुद्ध चलिरहेको थियो। विपी कोइराला भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियाे। नेपाल राष्ट्रियता झन् कमजोर भइरहेको थियो। विश्वको तत्कालीन अवस्थाको मूल्यांकन गरी विपीले राष्ट्र रहेमात्रै हामी रहन्छौँ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको हो। उहाँले राष्ट्रियताका सवालमा राजासँग मेरो घाँटी जोडिएको र प्रजातन्त्रका लागि जनतासँग सम्बन्ध रहेको बताउनु भएको थियो। अहिले नेपालमा राजतन्त्र छैन। तर, विपीको राष्ट्रिय एकता र मेलमिलाप नीति अझै सान्दर्भिक भएको छ। सामरिक दृष्टिकोणले नेपाल दुई ठूला देशको बीचमा छ। नेपाललाई सार्वभौम राष्ट्र बनाउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन पनि मेलमिलाप नीति अझै बढी सान्दर्भिक भएको छ।

पछिल्लो समय परराष्ट्र मन्त्रीको अमेरिका भ्रमण र अमेरिकाले नेपालमाथि देखाएको चासोले पनि नेपालको आन्तरिक एकता अझ मजबुत हुन आवश्यक देखिन्छ। एउटा एनजिओको कार्यक्रममा प्रधानमन्त्री एवं सरकार प्रमुखको प्रत्यक्ष सक्रियता र होटलमा ३ दिनको बासले राष्ट्रियताको अवस्था कस्तो छ भन्ने संकेत गर्छ। त्यसमाथि प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादी व्यवहारबाट नेपाल राष्ट्र र लोकतन्त्रमाथि उत्पन्न खतराले पनि विपीको राष्ट्रिय मेलमिलापको नीति अझै बढी सान्दर्भिक र औचित्यपूर्ण भएको छ।

‘राष्ट्रिय एकता र मेलमिलापको नीति जहिले पनि सान्दर्भिक र चिरस्थायी हुन्छ’

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

नेपाली विविधताका कारण पनि विपी कोइरालाका राष्ट्रिय एकता र मेलमिलापको नीति जहिल्यै पनि सान्दर्भिक हुन्छ। नेपालमा भिन्नताका बीचमा अभिन्नता छ। यसलाई अझ सशक्त बनाउन नै मेलमिलाप नीति औचित्यपूर्ण छ। विपी कोइरालाले लोकतन्त्रका लागि नै यो नीति अघि सार्नु भएको थियो, राजासँग मिलेर जान खोज्नु भएको थियो।

तर, राजाले लोकतन्त्र मानेका भए अहिलेको अवस्था आउने थिएन। लोकतन्त्रलाई मास्ने स्वार्थका कारण राजा गए। लोकतन्त्रलाई मान्ने शर्तका कारण माओवादी आए। एकता र मेलमिलापको विकल्प छैन। त्यसैले विपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता र औचित्य अझै बढ्न गएको हो।

‘राष्ट्रियताका खातिर राष्ट्रिय एकता एवं मेलमिलाप नीति’

धनराज गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

विपी कोइरालाले राष्ट्रियताका खातिर उठाउनु भएको एकदमै महत्वपूर्ण कदम हो – राष्ट्रिय एकता एवं मेलमिलाप नीति। राष्ट्रभित्रका सबै शक्तिलाई एकीकृत गर्ने र लोकतन्त्रमाथिका आन्तरिक र बाह्य षड्यन्त्रलाई चिर्ने प्रयास थियो विपीको। त्यसका लागि आन्तरिक र बाह्य एकतालाई सशक्त बनाउनु नै उहाँको लक्ष्य थियो।

वि.सं. २०३२ सालमा भारतले सिक्किम देशलाई भारतमा गाभेपछि इन्दिरा गान्धीको नजर नेपालको तराई–मधेशतिर थियो। आन्तरिक लोकतन्त्र कमजोर भएका बेला मुलुकको सार्वभौम सत्ताको रक्षा गर्न पनि उहाँले एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो। त्यसैले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न पनि विपीको उक्त नीति सान्दर्भिक र आवश्यक छ।

‘रणनीतिक र आदर्शका हिसाबले पनि बीपीको मेलमिलाप नीति अपरिहार्य छ’

महालक्ष्मी उपाध्याय डिना, नेतृ, नेपाली कांग्रेस

नेपालको राष्ट्रियतामाथि नै गम्भीर आक्रमण र षड्यन्त्रहरु हुन थालेपछि विपी कोइराला वि.सं. २०३३ सालमा स्वदेश फर्किनु भयो। गणेशमान सिंहले अहिले फर्किन ठिक छैन भन्दा–भन्दै पनि विपी राष्ट्रिय एकता र मेलमिलापको नीतिका साथ नेपाल फर्किनु भयो। प्रजातन्त्रका लागि र राष्ट्रियताका लागि उहाँले यो कदम चाल्नु भएको थियो।

नेपालको अहिलेको सन्दर्भका विपीको नीति अझै अपरिहार्य भएको छ। दुई ठूला देशको बीचमा रहेको नेपालमा हुने बाह्य चलखेललाई रोक्नका लागि पहिले आन्तरिक रुपमा बलियो हुनुपर्छ। त्यसैले रणनीतिक र आदर्शका हिसाबले पनि विपीको मेलमिलाप नीति अपरिहार्य छ।

‘विकास, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागी राष्ट्रिय एकता र मेलमिलाप आवश्यक’

गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

राष्ट्रिय एकताको आधारमा मात्रै समृद्धि हासिल हुन सक्छ। वि.सं. २०३३ साल पुस १६ गते विपी कोइरालाले विकास र समृद्ध नेपालको परिकल्पनासहित राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको हो। राष्ट्र बनाउनका लागि काम गर्ने ताकत हासिल गर्नका लागि आन्तरिक लोकतन्त्र बलियो बनाउनु पर्छ।

सबै वर्ग क्षेत्र, लिंग, वर्ण र हरेक क्षेत्रका नेपालीमा राष्ट्रियता र एकताको भावना प्रबल बन्नुपर्छ। तब मात्रै लोकतन्त्र बलियो हुन्छ। अहिले पनि नेपालमा हरेक क्षेत्र नागरिकलाई अधिकार सम्पन्न बनाएर बलियो एकता कायम गर्नुपर्छ। तब मात्रै विकास र समृद्धि सम्भव छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: