Logo

राजनीति

वि.सं. २०३३ पुस १६ गते बीपी कोइरालाद्वारा गरिएको राष्ट्रिय मेलमिलापको अपिल



विश्वेश्वरप्रसाद कोइराला – लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदै छौँ। यस अवसरमा एक, दुई शब्द देशबासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ। यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको कुरा सबैले महसूस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकारेका छन्। महाराजाधिराजलगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन्।

यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ। हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन। आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ।

हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं। राष्ट्रियता र प्रजातन्त्र भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ। यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कट निवारणमा हाम्रो योगदन रहँदैन। त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ।

त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्याे भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ। र, अधिनायकवादको पक्षधर हुन पुग्छौं। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशबासीमा पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले यो कुरा पनि बुझ्नुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ, हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एकअर्कामा आधारित तत्व हुन्।

नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन। त्यसपछि आमचुनावलाई सदाका लागि स्थागित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा धेरै अन्य दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो। २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष (Resistance Movement) गर्यो र आज देशउपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जुन निर्णय नेपाली कांग्रेसको परम्पराअनुरूप छ।

प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ। हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रको अस्तित्व खतराको सामु नगण्य भन्ठानेर नै यो ऐतिहासक निर्णय हामीले लिएका हौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्र्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन्।

यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। ‘राष्ट्र रहेन भने हामी रहन्नौँ’ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियताले सारा देशबासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौँ। मैले अवसर पाएको खण्डमा महाराजाधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु। राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो।
जय नेपाल १

२०३३ पुस १६
विश्वेश्वरप्रसाद कोइराला
अध्यक्ष, नेपाली कांग्रेस

(अपील साभार — विश्वेश्वरप्रसाद कोइरालाको आत्मावृत्तान्त)

प्रकाशित : १७ पुस २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल