Logo

आर्थिक

ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा ४० देशका युवालाई उद्यमशीलता प्रशिक्षण



काठमाडौँ – संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होला? कहिल्यै सोच्नुभएको छ? परिवर्तन सम्भव हुन्थ्योभन्दा अत्युक्ति नहोला। हो, त्यस्तै परिवर्तनको वातावरण गत हप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको क्वालालाम्पुरमा बनायो।

१७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता शिक्षा दियो।

नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए। यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करण देखि चिनाउँदै आइरहेको छ। यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको बैंकक र इन्डोनेसियाको जकार्तामा भएका थिए।

सहभागी युवाहरूले टिम बनाएर प्रस्तुत गरेका बिजनेस आइडियाहरुले नै उक्त बूटक्याम्पको परिवर्तनप्रतिको योगदानलाई दर्शाउछ। ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाली विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो।

विजेता टिमले रिमार्क रिलायबल एन्ड रिलेटेबल मार्केटिङ नामको बिजनेस मोडेल बनाएको थियो, जसको अवधारणा कुनै पनि सामानका खरिदकर्तालाई उक्त समान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो।

त्यसैगरी बोन फ्य्राक्चर डिटेक्टरको अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि पायो। बूटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए।

आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन्। समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउने आयोजक समितिकी प्रबन्ध निर्देशक पार्शु अर्यालले जनाएकी छिन्।

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भएपनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन।

‘हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन। उद्यमशीलता सम्बन्धी बहुआयामिक अनुभवको मञ्चका रूपमा बूटक्याम्प स्थापित भइसकेको छ,’ ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने।

सुरुवातदेखि नै अन्तरक्रिया कार्यक्रम, युवालाई विज्ञको निर्देशन एवम् युवा, विज्ञ र उद्यमीहरूको परिवार निर्माण लागयतलाई प्राथमिकतामा राखेका उनले बताए। आचार्यले बूटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरु संग काम गर्न इच्छुक रहेको बताए।

चारदिने बूटक्याम्पका सह–आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन्। एशिया स्कूल अफ बिजनेस अमेरिकाको एमआइटी स्लोन स्कूल अफ मेनेजेमेन्टसँगको सहकार्यमा चलेको संस्था हो। बूटक्याम्प उद्घाटन समारोहबाट सुरू भई टिम निर्माण, अन्तरक्रिया कार्यक्रम, स्टार्टअप अभ्यासहरू हुँदै युवाहरूले बिजनेस मोडेल बनाएर प्रस्तुत गरिसकेपछि सांस्कृतिक साँझका रूपमा अन्त्य गरिएको थियो।बूटक्याम्पका विभिन्न कार्यक्रमहरू एशिया स्कूल अफ बिजनेसमा भएका थिए।

एशिया स्कूल अफ बिजनेसको नवीनता एबम् उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायरले आइडीयेशन र डिजाइन थिन्किङ विषयमा सहभागीहरुसँग अन्तरक्रिया गरे। लिंकन युनिभर्सिटी कलेजकी प्रो–चान्सलर दतुक अब्दुल्लाह र इनसाइटमेन्टका सिइओ डानिएल दे ग्रुइतजर पनि बूटक्याम्पमा वक्ताका रूपमा उपस्थित भएका थिए। वर्ल्ड इकोनोमिक फोरम विज्ञ सञ्जालका डा. रेनार्ड सिऊले जलवायु परिवर्तनको वास्तविकता र त्यसका समाधानबारे सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए।

उद्यममा पैसा मात्रै सबैकुरा होइन भनेर दि बिजी बिजी इनिसेटिवका प्रविधि तथा बिक्री–साझेदारी प्रमुख म्याथ्यू मारटेन्सले बताए। एशिया स्कूल अफ बिजनेसको एमबिएकी सह–निर्देशक जुलियाना रोथले सहभागी युवालाई प्रोत्साहित गरिन्।

एशिया स्कूल अफ बिजनेसकै वरिष्ठ कार्यक्रम व्यावस्थापक पोन्स अर्नेस्ट समनिगोले दीगो विकासका १७ उद्देश्यहरूका बारेमा प्रष्ट पारे। रियोसुके इशी, डा. केके सिंह, एङ्गुयेन क्वांग हुइ, ड. अन्ना बर्चेत्ती दुरिस्च, चित आइन थु, बुना दाहाल, अभिनव गौतम, दक्शील सोनी, मुहम्मद सुमोन मोल्ला सलिम र यिन यिन बोएय पनि वक्ताका रूपमा बूटक्याम्पमा उपस्थित थिए।

‘सहभागी युवाहरूको आत्मविश्वास बूटक्याम्प सुरू हुँदाको तुलनामा अन्त्यतिर उनीहरूले बिजनेस मोडेल प्रस्तुत गर्ने बेलामा एकदमै बढेको देखियो,’ आचार्यले भने, ‘वक्ताहरूले तिनको मनमा भएको दुविधा आफ्ना अनुभव सुनाएर हटाएकाले आत्मविश्वास बढेको हो।’

अहिलेको विश्वमा आन्टरप्रनारशिपलाई अर्थतन्त्र हाँक्ने तत्वका रूपमा लिइन्छ। त्यसैले ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प जस्ता कार्यक्रमलाई महत्त्वका साथ हेरिन्छ।

प्रकाशित : १४ पुस २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल