राष्ट्रले जिम्मेवारी दिए मेडल ल्याउने जिम्मा हाम्रोः शैलेन्द्र रावत


पछिल्लो समय एशियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएर पनि नेपाली खेलकुद जगतमा रजत पदक जितेर चर्चाको शिखरमा रहेको छ, प्याराग्लाइडिङ। प्याराग्लडिङ संघ नेपालका व्यवस्थापक तथा संस्थापक महासचिव शैलेन्द्र रावत निरन्तर यो खेलको विकासमा लागेका छन्। समग्र एशियाली खेलकुद र अबका योजना तर्जुमा लगायतका विषयमा पनि उनले काम गरिरहेका छन्। वि. सं. २०६० सालमा पोखरामा प्याराग्लाइडिङमा उडेका रावतले आफ्नै पहलमा २०६५ सालमा नेपाल प्याराग्लाइडिङ संघको स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए। स्थापना कालदेखि नै संस्थापक महासचिवको जिम्मेवारी निभाउँदै आएका रावतले समग्र एशियाली खेलकुदमा पदक जित्नै एउटा मात्र खेलको रुपमा परिचित गराउनका लागि धेरै संघर्ष गरे। एशियाली खेलकुदमा महिला र पुरुष दुवै विधामा सहभागिता जनाएको प्याराग्लाइडिङ खेल फुटबल, भलिबल जस्तै सामुहिक खेल हो। जसमा नेपालले पुरुषतर्फ रजत पदक प्राप्त गर्न सफल भएको थियो। महिला टोली छैठौँ स्थानमा समेटिएको थियो। प्याराग्लाइडिङको सम्भाव्यताका विषयमा उमेश दाहालले लिएको अन्तर्वार्ताः

समग्रमा कस्तो रह्यो नेपाल प्याराग्लाइडिङ संघको एशियाली खेलकुदमा यात्रा?

–समग्रमा भन्नुपर्दा यात्रा एकदमै हर्षोल्लास पूर्ण र रमाइलो रह्यो। सर्वप्रथम त, नेपालले एशियाडमा प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउने कि नजानाउने भन्ने विषयमा नै अन्योलमा रहेको थियो। तर, हामीले २ वर्ष अगाडि देखि नै प्रशासनिक कार्य तथा तयारीको सुरुवात गरिसकेका थियौँ। भियतनाममा भएको एशियाली ओलम्पिक कमिटिको बैठकका क्रममा नै हामीले नेपालको तर्फबाट सहभागि हुनु भएका टेण्डी शेर्पाको माध्यमबाट अपिल गरेका थियौं । हामीले टेण्डी शेर्पासमक्ष के सम्म प्रतिवद्धता गरेका थियौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिताको वातावरण तपाई मिलाइ दिनुहोस्, मेडल जितेर ल्याउने जिम्मा हाम्रो भयो। यस्तो प्रतिवद्धता हामीले २ वर्ष अगाडी नै गरिसकेका थियौँ, जुन हामी पूरा गर्न पनि सफल भयौँ त्यसले गर्दा पनि हाम्रो यात्रा अत्यन्त सुखद् बन्यो। प्याराग्लाइडिङलाई समावेश गराउनु चुनौती रहेको थियो तर, समावेश भएपछि हामी जित्छौँ त्यो हाम्रो दृढ विश्वास रहेको थियो। तर, नयाँ गेम समावेश हुने कि नहुने विषयमा अन्योलमा थियौँ। एसियाडमा २ विधा रहेका थिए।

एउटा क्रस कल्टी र अर्को एक्युरेसी। एक्युरेसीमा हामी थोरै कमजोर महसुस गरेका थियौं तर, हाम्रो मुख्य आशा नै क्रस कल्टीमा रहेको थियो। र, क्रस कल्टीमा आधारित रहेर गोल्डमेडल जित्ने कुरामा विश्वस्त रहेका थियौँ। र, हाम्रा प्रतिद्वन्द्वी जापान, कोरिया र चीन रहेका थिए। यस्तो परिस्थितिमा पनि हामीमा कम्तिमा पनि तेश्रो स्थान हासिल गर्ने कुरामा विश्वस्त रहेका थियौँ। यो खेलमा प्रविधिको पनि अत्यन्तै महत्व हुन्छ। तर, अन्य प्रतिस्पर्धी देशहरुको तुलनामा हाम्रो प्रविधि कमजोर रहेको थियो। त्यसका वावजुद पनि हामी मेडल जित्ने कुरामा विश्वस्त रहेका थियौँ। त्यसै अनुरुप खेलाडीहरुको प्रदर्शनी पनि एकदमै उच्च रह्यो। र, हामी पनि सफल रह्यौँ। अहिले सम्म ग्लाइडरहरु पनि अत्याधुनिक प्रविधिको रस–५ भन्ने आइसकेको छ। अन्य देशहरुका खेलाडीहरुले त्यसै अनुसारको प्रविधिको प्रयोग गरे। कोरिया, जापान, इण्डोनेशिया लगायतका राष्ट्रहरुले पनि गरे स्पीड, कन्ट्रोल तथा प्रस्तुति पनि उच्च स्तरिय हुन्छ। तर, हामी प्रविधिको अभावमा पनि उच्च प्रदर्शनी दिन सफल भयौँ। अन्य देशका खेलाडीहरुले ५ रेटिङका ग्लाइडरहरुको प्रयोग गरिरहँदा हाम्रो खेलाडी मध्ये विशाल थापाले मात्रै ४ रेटिङको ग्लाइडर उडाउने अवसर पाए, अन्य खेलाडीहरुले ३ ग्रेडको उडाएका थिए। त्यसकारण पनि हाम्रो उपलब्धि र प्रदर्शनीलाई सोचे जस्तै पाएको रुपमा लिएका छौँ। प्रथम स्थानको जापान भन्दा एकदमै झिनो अन्तर मात्रै २७ अंकले पछाडि परेको हुनाले रजतमा चित्त बुझाउन पर्यो। जापानले जम्मा ११ हजार ३ सय ९६ अंक प्राप्त गर्दा हामीले ११ हजार ३ सय ६९ अंक प्राप्त गर्न सफल रह्यौँ।

गोल्डमेडलका लागि आशा र तयारी गरेअनुसारको प्रतिफल प्राप्त गर्न सकिन्थ्यो, के प्राप्त गरेको रजत पदकको नतिजासँग खुशी हुनुहुन्छ?

–प्रविधिका साथसाथै भौगोलिक भूबनौटले पनि यसमा भूमिका खेलेको महसुस गर्न सक्छौँ। यसका साथसाथै स–साना कमी कमजोरीका कारण हामी गोल्डमेडलबाट चुक्यौँ। तर, जब हामीले अन्य देशहरु जापान, चीन र कोरिया जस्ता राष्ट्रहरुको तयारीका देख्यौँ, प्रविधि देख्यौं त्यस पश्चात हामीले हाम्रो प्रविधि तिर फर्केर हेर्याैँ पुरा चित्त बुझ्यो। हामी त्यस अनुसारको अत्याधुनिक प्रविधिका औजारको प्रयोग गर्न पाएको भए हामी विजेता जापानको भन्दा पनि धेरै स्तरिय प्रदर्शन दिन सक्थ्यौँ। हामीसँग भएको निम्न स्तरका ग्लाइडरहरुको प्रयोगबाट पनि यतिको महान् उपलब्धि हासिल गरेकामा हामी एकदमै खुशी छौं।

पहिलोपटक एशियाली खेलकुदमा प्याराग्लाइडिङले सहभागिता जनाइरहँदा समग्र टोलीले हर्ष, उल्लास र चुनौतीको कत्तिको अनुभूति गरेको थियो?

 – सयौँ वर्षको इतिहास बोकेका खेलहरु छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु, ओलम्पिक, एशियाड जस्ता प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका खेलहरुबाट पनि खासै सन्तोषजनक प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा एउटा नयाँ खेल लिएर जाँदै गर्दा चुनौतीको बोध त अवस्य नै भइरहेको थियो। तर, हामीसँग चुनौती भन्दा बढी खेलाडीहरुको दक्षताका कारण आत्मविश्वास रहेको थियो। हामी सफलतालाई लिएर विश्वस्त रहेका थियौँ। हामीले राज्यसँग पनि खासमा भन्नुपर्दा अनुरोध नै गरेर आफ्नो प्रतिभा देखाउने अवसर पाएको हुनाले सम्भावना र चुनौती बराबर मात्रामा रहेका थिए। मेडल जित्ने कुरामा विश्वस्त थियौँ। किनकी पछिल्ला २० औं वर्षदेखि पोखरामा विभिन्न प्रतियोगिताका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुसँग निरन्तर प्रतिस्पर्धा गरिरहेका थियौँ। प्याराग्लाइडिङका पारखी मुलुकहरु फ्रान्स, जर्मनी लगायतका युरोपेली मुलुकका खेलाडीहरुसँग पनि प्रतिस्पर्धा गरिरहेको हुनाले पनि हाम्रो आत्मविश्वास अझ बढेको थियो। गोल्डमेडल नै जित्ने हाम्रो लक्ष्य रहेको थियो। जस्ले पनि हाम्रो समस्त टिमलाई जिम्मेवारीको बोध गराउँदै हर्ष र उल्लासका साथै चुनौतीको पनि आभाष दिलाएको थियो।

पहिलो पाइलामा नै प्याराग्लाइडिङले सफलता हासिल गर्यो, यो सफलताले जुन हौसला खेलाडी र आम खेलसमर्थक माझमा बढाउको छ, उक्त हौसलाले भविष्यमा कस्तो भूमिका खेल्छ?

– २००८ सालमा हामीले नेपाल प्याराग्लाइडिङ संघ स्थापना गर्दा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठलगायत महानुभावहरु यो प्याराग्लाइडिङ पनि खेल हो र…?, भनेर अलमलमा पर्नु भएको थियो । त्यो समयमा आफूले जानेको जति सबैकुरा पेश गर्दै अन्तर्राष्ट्रिय डकुमेन्ट्रीहरु पनि देखाएर अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका प्रतियोगिताहरुको बारेमा अवगत गराएपछि मात्र वहाँहरुले यसलाई खेलको रुपमा दर्ता गर्नका लागि पहल गर्नुभएको थियो। उक्त संघको स्थापना पश्चात खेलकुद मन्त्रालयमा जाँदा वा साथीभाईहरुको भेटघाटमा पनि हाम्रो पनि प्याराग्लाइडिङ संघ छ र म महासचिव हुँ भन्दा हाँसो उडाएको महसुस हुन्थ्यो। तर, हामीले हार मानेनौं, बरु अब हामीले कुनै पनि हालतमा आफ्नो अस्तित्व स्थापित गर्नै पर्छ भन्ने एउटा दृढ विश्वास लिएर अगाडी बढ्यौँ। र, अन्ततः अरुले मनोरञ्जनको रुपमा मात्र लिएर मजाक बनाउने गरेको प्याराग्लाइडिङलाई नेपालमा पनि प्रबल सम्भावना बोकेको खेलको रुपमा स्थापित गर्न सफल भयौँ। नेपालको खेलकुद जगतलाई हेर्दा दुःख लाग्छ अरबौं आर्थिक लगानी र सयौं वर्षको निरन्तर प्रयासका बावजुद पनि अन्य खेलहरुबाट सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकीरहँदा हामीले मेडल जित्यौं त्यसमा धेरै खुशी छौँ। तर, अन्य खेलहरुमा उपलब्धि नहुँदा खिन्न हामी पनि भएका छौं । तर, हामी प्याराग्लाइडिङसँग सम्बन्धित सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा संघ पनि अझ उत्साहित बनेको छ। यो सफलताले उर्जा थपेको उत्साहले आगामी दिनहरुमा महत्वपूर्ण भूमिका खेल्नेमा हामी पूर्ण रुपमा विश्वस्त छौँ। प्याराग्लाइडिङलाई सबैले खेललाई खेलको रुपमा हेर्ने वातावरण एशियाडको सफलताले सिर्जना गरेको छ, हाम्रो खेल पनि स्थापित भएको छ। यस्मा हामी अन्यन्त खुशी छौँ।

भर्खरै एशियाडबाट मेडलसहित फर्किनु भयो, मान–सम्मानका कार्यहरुमा व्यस्त हुनुहुन्छ, यसबाट त अझ जिम्मेवारी थपिएको छ नि, नेपाल प्याराग्लाइडिङ संघका लागि अहिले के गर्दै हुनुन्छ? अबका कार्य योजनाहरु के कस्ता रहेका छन्?

– इण्डोनेशियाबाट फर्के पश्चात निरन्तर रुपमा हामी सम्मान तथा स्वागत कार्यक्रममा व्यस्त रहेका छौँ। तर, त्यसका साथसाथै हामी नोभेम्बरमा हामी प्रतिस्पर्धात्मक रुपमा पोखरामा विश्व च्याम्पियन्सीप गर्ने तयारीमा रहेका छौं। नोभेम्बर महिना प्याराग्लाइडिङका लागि एकदमै सिजन पनि मानिन्छ। यद्यपी पोखरामा व्यापारिक प्रयोजनकालागि मात्र निर्मित रंगशाला अर्थात् टेक अफ ल्याण्डिङ नभएको हुनाले त्यसमा केही समय हेरफेर हुन सक्ने सम्भावना रहेको छ। तर, केही समय ढिलो–चाँडो भएता पनि हामी प्याराग्लाइडिङको विश्व च्याम्पियनसीप गर्ने तयारीमा रहेका छौँ। राष्ट्रिय खेलकुद परिषदमा पनि सो कुरा स्वीकृत भइसकेको र अन्तर्राष्ट्रिय संस्थामा पनि कुरा चलिरहेको हुनाले सकेसम्म चाँडो हामी यसलाई पूर्णता दिनका लागि कसरत गरिरहेका छौँ।

विश्व च्याम्पियन्सीपका साथै आसन्न साफ गेमका लागि पनि यसका पूर्वाधारको निर्माणका साथै तयारीमा लागिसकेका छौं। यी तमाम् कार्यक्रमका साथै ओलम्पिक कमिटिबाट नेपाली खेलाडीहरुले छिमेकी मुलुक श्रीलंका, माल्दिभ्सलगायतका राष्ट्रहरुलाई सिकाउनु पर्छ भन्ने कुरा उठिरहेको जानकारी आएको छ। र, त्यसका लागि पनि हामी आवश्यक तयारी गरिरहेका छौं।

अहिलेसम्म नेपालको पोखरामात्रै प्याराग्लाइडिङका लागि चर्चित मानिन्छ, तर यस्तो होइन कि पोखरामा मात्र यसका लागि मिल्दोजुल्दो भू–वनोट रहेको छ, यस्तै विभिन्न स्थानहरु छन् जस्को विकासकालागि सरकारी पक्षबाट कस्तो कदमको आवश्यकता रहेको छ र सम्भावित स्थानहरु कुन–कुन रहेका छन्?

– १८ वर्षसम्म पोखरामा मात्र यो खेल हुँदै आएको छ। तर, २०१६ मा हामीले धरानमा राष्ट्रिय च्याम्पियन्सीप प्रतियोगिता गरेका थियौँ। पछिल्लो वर्ष हामीले स्याङ्जाको सोरेकमा इन्टरनेशनल ओपन र राष्ट्रिय च्याम्पियन्सीप गर्याैँ। र, अहिले पनि हामी दशै–तिहार आसपासमा हामी धरानमा एउटा प्रतियोगिता गर्ने तयारीमा रहेका छौँ। यो खेल साह्रै खर्चिलो र महंगो हुने हुनाले यसकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गर्नका लागि सोही स्तरको टेक अफ ल्याण्डिङको अभाव रहेको छ। जुन कुरामा सरकार र सम्बन्धित पक्षको मध्यनजर हुनु अत्यावश्यक रहेको छ। अग्ला ठाउँहरुमा जानु पर्ने हुँदा बाटोघाटोको पनि उचित व्यवस्था मिलाइदिनु अत्यावश्यक रहेको छ। यसका साथै यो खेलको सम्भावना बोकेका स्थानहरुमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि आउने हुनाले सोहीअनुसारको होटल एवम् लजहरुको साथै पूर्वाधारको प्रबन्ध मिलाइदिन सके यसमा अझ बढी उर्जा पुग्ने थियो। सोही बमोजिमको आशा हामीले सरकारी क्षेत्रबाट राख्दै आएका छौँ। सम्भावना बोकेका स्थानको रुपमा पोखरा भइहाल्यो यसका अलाबा स्याङ्जा र धरानमा हामीले निरन्तर रुपमा प्रतियोगिताको आयोजना गरिरहने योजना बनाएका छौँ।

पहिलो पटकको प्रतिस्पर्धामा नै रजत पदक जित्न सफल भएपछि खेलाडीहरुको मनोबल पनि पक्के बढेको छ, अबका दिनहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्याराग्लाइडिङको माध्यमबाट राज्यले कत्तिको स्वर्णपदकको आशा राख्न सकिने सम्भाव्यता रहेको छ?

– सन् २०१० मा ट्वान्टी–ट्वान्टी ओलम्पिकमा प्याराग्लाइडिङ समावेश हुने कि नहुने विषयमा यकिन भइसकेको छैन। यदि हुन्छ भने त्यसकालागि हामी एकदमै तयारी अवस्थामा रहने छौँ। यदि समावेश हुन्छ भने सहभागिता मात्र नभई पदकको पनि आश गरेका छौँ। त्यस्तै, तत्कालै आशा गरिएको प्रतियोगिता भनेको साफ गेम हो। एशियाडबाट फर्किसकेपछि समीक्षा बैठक बसेको थियो र जहाँ छलफल भए अनुसार साफमा ८ वटा गोल्डमेडल रहने छन्। आठ वटा गोल्ड मेडलमध्ये हाम्रो लक्ष्य आठै वटा मेडललाई अन्यत्र जान नदिने रहेको छ। यदि त्यो सोचे जस्तो नभए पनि ८ मध्ये ६ वटा गोल्डमेडल त हामी निश्चित नै जित्ने छौँ। हामीलाई के विश्वास छ भने, प्याराग्लाइडिङनै नेपालको एकै खेलमा धेरै पदक जित्ने खेल बन्ने छ। यो आत्मविश्वासका पछाडी हामीले निरन्तर गर्दै आएको तयारीका साथै साफ गेममा सहभागी हुने भारत, भुटान, बंगलादेश लगायतका मुलुकहरुसँग निरन्तर प्रतिस्पर्धा गर्दै आएको अनुभव पनि रहेको छ। सार्क राष्ट्रका खेलाडीहरु पनि नेपालमा व्यवसाहिक उडान गर्ने भएकोले हामीले उनीहरुको प्रत्यक्ष रुपमा क्षमता देखिरहेको हुनाले पनि साफ गेममा नेपालले कब्जा जमाउनेमा विश्वस्त रहेका छौँ।

प्याराग्लाइडिङले नेपालको हकमा पनि अस्तित्व स्थापित गरेर खेलाडीहरुको मनोबल पनि उच्च गराइरहँदा सरकारले गर्नैपर्ने कार्यहरु के–के रहेका छन् र तपाईहरुले के कस्ता पहलहरु गरिरहनु भएको छ?

– हामीले पोखरामा प्रयोग गरिरहेको रंगशाला जुन व्यवसायिक स्थान रहेको छ। र, हिजो मात्र हामीले खेलकुद परिषदमार्फत खेलकुद मन्त्रालयमा हामीलाई एउटा हवाई रंगशालाको व्यवस्था गरिदिन माग गरेका छौँ। त्यसका साथै आउँदो ५ वर्ष भित्रमा सातै प्रदेशका कम्तिमा १–१ स्थानमा हवाइरंगशाला निर्माण गरिदिनका लागि पनि माग गरिसकेका छौँ। जुन नेपाल नागरिक उड्ययन प्राधिकरणले प्रदान गर्ने गरेको छ। जुन खेलकुद मन्त्रालयले सिफारिस गर्ने हो भने सहजै रुपमा हुन सक्छ। यस्तै १ वर्ष भित्र एक नम्बर प्रदेशको धरान र प्रदेश ३ र ४ को सिमाना बुढीगण्डकी सल्यानटार धादिङमा ट्रेनिङ सेन्टर स्थापना गर्ने र च्याम्पियन्सीपहरुको पनि आयोजना गर्ने योजना बनाएका छौँ।

पछिल्लो समयमा चर्चा बटुल्दै गरेको नयाँ खेलको रुपमै रहेको प्याराग्लाइडिङमा नयाँ खेलाडीहरुको कत्तिको चासो पाउँदै हुनुहुन्छ?

– अहिले नेपालमा हामीसँग सिक्दै गरेका र सिकिसकेका दक्ष खेलाडीहरु गरि जम्मा ५ सयको संख्यामा खेलाडीहरु रहेका छन्। र, एशियन गेमको सफलता पश्चात चर्चा पनि बटुल्दै गर्दा धेरैले यसको विषयमा चासो व्यक्त गर्दै आउनु भएको छ। पुराना खेलाडीहरु जो व्यवसायिक खेलको रुपमा मात्र प्याराग्लाइडिङलाई लिनुहुन्थ्यो वहाँहरु पनि यसप्रति पुनः प्रतिस्पर्धात्मक दृष्टीकोणले हेर्दै हुनुहुन्छ। यो खेलले आर्थिक स्तर त सुदृढ बनाउँछ नै त्यसका साथै मान इज्जत र प्रतिष्ठामा पनि सकरात्मक भूमिका निर्बाह गर्ने कुराको बोध भएसँगै धेरै क्रेज बढाउने गरेको छ। संघमा पनि सिक्न चाहने र यस्को कोर्षको बारेमा बुझ्न आउनेको पनि संख्या बढ्दै गएको छ।

प्याराग्लाइडिङ संघको संस्थापक महा–सचिव र विजेता टोलीको सदस्यको पनि हिसाबले अन्तिममा के भन्न चाहानुहुन्छ?

–सर्वप्रथम त जस्ले विश्वास गरेर एशियाडमा सहभागिताका लागि वातावरणको निर्माण गरिदिनु भयो वहाँहरुमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र खेलाडीहरुलाई पनि राष्ट्रको शान उच्च राख्न सफल भएकोमा बधाइ दिन चाहन्छु। सबै समर्थक तथा शुभ चिन्तक र जस्ले बधाइ र स्वागतका हकदार सम्झेर स्वागत एवम् सम्मान दिनुभयो वहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु र अन्त्यमा दुःखका साथ भन्नु पर्दा अन्य खेलहरुमा सहभागीता जनाउँदाहोस् या विजयी हुँदा होस,् राज्य प्रमुख सम्माननीय राष्ट्रपति तथा सरकार प्रमुख प्रधानमन्त्री ज्यू लगायतले बधाई दिने गरेको देखेका थियौँ। हामीले पनि सोही बमोजिमको आशा गरेका थियौं। व्यवस्थापन पक्षले पनि त्यस्तो खालको क्रियाकलापले खेलाडीमा अझ हौसला पुग्ने आशा गरेका थियौँ। तर, अहिले सम्म यस्मा कुनै पनि जानकारी वहाँहरु समक्ष नपुगेकै कारण होला हामीलाई बधाइ दिने कष्ट गर्नु भएको छैन। त्यसबाट हामीले राष्ट्रपमुख तथा सरकार प्रमुखले आशा गरे अनुसारको केही दिन सकेनछौँ भन्ने निराशाआभाष हामीलाई पनि भएको छ। आउँदा दिनहरुमा उक्त रिक्ततालाई परिपुर्ती गैर्दै सहानुभूतीको आशा गर्नेछौँ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: