पैसा कमाउन विदेश जाँदा खुट्टा नै गुम्यो, बिरामी परेर फर्किए, अनि शुरु भयो संघर्ष


काठमाडौं, ११ मंसिर – केही कमाउने र परिवारलाई खुशी दिने उद्देश्यका साथ वि.सं. २०६२ सालमा मलेशिया गएका थिए, ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका केवलप्रसाद बानियाँ। मलेशियामा राम्रै दैनिकी गुजार्दै थिए।

समय अनुकूल थियो। बेला–बेलामा घरमा पैसा पनि पठाउँथे उनी। सबै कुरा राम्रै थियो। अझ भनौँ हिसावकिताव पनि राम्रै चल्दैथियो। तर, समय सधैँ एकैनासको हुँदैनरहेछ। उनले पनि यस्तै नियति भोग्नुपर्यो। अहिले त्यही नियतिसँग पौँठेजोरी खेल्दै अघि बढिरहेका छन् उनी।

वि.सं. २०३६ साउन १६ गतेका दिन ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनमा जन्मिएका हुन् केवलप्रसाद बानियाँ। आमा खेममाया बानियाँ र बुवा कृष्णबहादुर बानियाँका सुपुत्र केवलका लागि बाल्यकाल राम्रै थियो। उनले ओखरबोटे प्राविमा कक्षा ५ सम्म पढे। रजा माविबाट एसएलसी पास गरे। सिनाममा प्लस टु पढ्न शुरु गरेपनि उनलाई पारिवारिक जिम्मेवारी आइपर्यो। त्यसपछि उनी झापा झरे। ‘जीवनमा एउटापछि अर्को गर्दै घुम्तीहरु आए, पत्तै नहुँदो रहेछ, कति छिटो समयले कोल्टे फेर्दो रहेछ’ – केबल भन्छन्।

झापादेखि मलेशियासम्म

वि.सं. २०६० सालमा झापा झरेका केवलप्रसाद बानियाँले सञ्जोग सिर्जना कला प्रतिष्ठानमा संगीत सिक्न सुरु गरे। र, सोही वर्ष उनले विवाह पनि गरे। त्यसपछि उनका अनगिन्ती संघर्ष शुरु भए।

युवा जोश, केही गर्ने जाँगर र उत्साह बोकेर वि.सं. २०६२ साल असारमा बानियाँ मलेशियातिर लागे। त्यहाँस्थित जोहोरबारुको सिइआई कम्पनीमा काम गर्न थाले। ‘३ वर्षसम्म काम गरेँ, काम पनि राम्रो थियो, कमाई पनि राम्रो’, बानियाँले मलेशियामा बिताएका दिनहरु स्मरण गर्दै भने – ‘वि.सं. २०६५ सालतिर म बिरामी परेँ, सुल्तान इस्माल हस्पिटल गएँ, ३ दिनजति बसेर उपचार गराएँ।’

तर, त्यहाँ पनि बानियाँको स्वास्थ्यमा सुधार नभएपछि क्यालालाम्पुर लाने कुरा हुँदै थियो। त्यसबीचमा उनलाई पेजावतपेंगराहमा उपचार गराइयो।  उपचारका क्रममा बानियाँले सोच्दै नसोचेको सत्यसँग अलिकति नजिक हुनुपर्यो। ‘त्यति बेलै डाक्टरहरुले खुट्टा काट्नु पर्छ भन्नुभएको थियो’, बानियाँले भने, ‘आर्टरीको शल्यक्रिया गरियो, त्यो दिन ठिक भयो, तर अर्को दिनदेखि बिमार अरु बढ्यो, हस्पिटल जाँदा फेरि पनि खुट्टा काट्नुपर्छ भनेपछि मानिनँ, र नेपाल फर्किएँ।’

त्यहाँ खुट्टा काटेको भए बिमाको रकम पनि पाइन्थ्यो होला, अहिले उनलाई यस्तो पनि लाग्छ। नेपाल फर्किएपछि नर्भिक गए उनी। वि.सं. २०६५ साउन १८ गते नर्भिक अस्पताल गए। त्यहाँ मोटो रकम बुझाउनु पर्यो। तर, खासै राम्रो उपचार पाएनन्। त्यसैदिन शिक्षण अस्पताल गए। त्यहाँ उनी ३ दिन बसे। ‘खप्नै नसक्ने पीडा भयो,’ बानियाँ पीडादायी दिनहरु सम्झिन्छन्, ‘शिक्षणमा शल्यक्रिया गर्ने तयारी गर्दागर्दै आयुर्वेदको चिकित्सकलाई देखाउन गयौँ।’

भक्तपुरको जनकल्याण आयुर्वेद चिकित्सालय पुगे उनी। जीवनमा आशा र विश्वासभन्दा ठूलो कुरा के नै पो हुन्छ र! हो, बानियाँलाई पनि त्यस्तै भरोशा थियो, उपचार होला, विषेक भएर घर फर्किन पाइएला भन्ने नै थियो। तर, त्यहाँका वैद्यहरुले ४–५ दिन अल्लारिदिए। खुट्टाको समस्या अझ थपियो।

कल्पनै नगरेको वास्तविकता

कुनै अस्पतालमा त उपचार होला नै भन्ने आशा थियो केवलप्रसाद बानियाँलाई। तर, उनको विश्वास काठमाडौँको वीर अस्पताल पुगेपछि टुट्यो। ‘वीर अस्पतालको बसाइ जीवनकै सबैभन्दा पीडादायी थियो, पलपलमा मलाई असाध्यै दुःख लागेर आउथ्यो, खोई दैवले किन यति साह्रो दुःख थियो, केही सोच्नै सक्दिनँ,’ बानियाँले भने।

वीर अस्पताल पुगेको चौँथो दिनपछि उनको खुट्टा काटियो। र, १५ दिन लामो अस्पताल बसाइपछि उनी घर फर्किए। वीर अस्पतालबाट ह्विल चियर र बैशाखीको सहारामा बाहिरिँदै गर्दा उनी धेरैबेर रोए। आफ्नो एउटा अंग गुमाएको पीडामा रोए। आफ्नो नियतिलाई सम्झिएर रोए। बस् उनी रोई मात्रै रहे। मनको बह त्यही आँशुसँग पखालेर उनी बाटो लागे।

जब मानिसलाई समस्या पर्छ, आफन्तको साथको झनै धेरै आवश्यकता पर्छ। उनलाई साथ दिने श्रीमती माला चौहान थिइन्। तर, त्यो साथ केवलप्रसाद स्वस्थ भइञ्जेल र विदेशबाट पैसा पठाइञ्जेलसम्म मात्रै रहेछ। जब उनी अस्पतालको बेडमा पुगे, मालालाई उनको औषधिको व्यवस्था गर्नुभन्दा अर्कैको अंगालो चाहिँ प्यारो हुन पुगेछ।

‘म त बिरामी भएर फर्किएको थिएँ,’ बानियाँ भन्छन्, ‘उनलाई कसरी छुट्ने भन्ने पीर रहेछ, उनी गइन्, बिरामी भएका बेला एक्लै छोडेर गइन्।’ त्यतिबेलै केवलकी बहिनी राधिका बानियाँको मृगौलामा खराबी आयो। उनले बहिनीलाई मृगौला दिन खोजे। तर, उपचारकै क्रममा बहिनी बितिन्। बुवा र दिदीको वियोग त उनले विदेशमै हुँदा सहनु परेको थियो।

वि.सं. २०६५ सालको मंसिरमा विदेश जान्छु भनेर हिँडिन् माला। तर, काठमाडौँमै थिइन् उनी। भएको पैसा पाएपछि उनी काठमाडौँ खाल्डोमा गायव भइन्। ‘जे होस्, मलाई यस्तो भयो, ठिकै छ, नियतिले यस्तै चाहेको रहेछ, तर उनलाई राम्रो होस्,’ उनी भन्छन्। वि.सं. २०६७ सालमा मालाले दोश्रो श्रीमानबाट बच्चा जन्मिएपछि चाहिँ उनले पनि बिर्सिदिए।

गोमादेवीको साथ

समयले कोसँग कहाँ भेटाउछ भन्ने कसैलाई थाहा हुँदैन। वि.सं. २०६८ सालमा केवलप्रसाद बानियाँलाई पनि यस्तै एउटा संयोग जुर्यो। उनको भेट गोमादेवी घोर्साईसँग भयो। केवलका साथी थिए डिल्ली घोर्साई। डिल्लीले नै आफ्नी बहिनीसँग विवाह गर्न भनेपछि केबल र गोमा एक भए। उनीहरुका एक छोरा छन्।

आफ्नो अर्को खुट्टामा पनि समस्या भएपछि केवल काठमाडौँ आएका छन्। ४ वर्षदेखि खुट्टामा समस्या आएको उनले बताए। त्यसैको उपचारका लागि उनी अहिले काठमाडौँ आएका हुन्। साथमा श्रीमती र छोरा लिएर आएका छन् उनी। १० महिनाको छोरालाई हर्निया भएको छ। ‘खर्चको जोहो पनि गर्नुछ, उपचार गर्दागर्दै जायजेथा सकियो,’ उनी भन्छन्, ‘अब त साथीसंगी, इष्टमित्र र आफन्तकै सहारा…’

सहकारीले दियो रोजगारी

शारीरिक रुपमा कमजोर भएपनि केवलप्रसाद बानियाँ झापाको अर्जुनधारास्थित प्रज्वला अपांग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्छन्। क्यासियरको जिम्मेवारीमा छन् उनी। यो सहकारी निम्न वर्गका व्यक्तिलाई सेवा दिँदै आएको छ। सहकारीबाट आएको तलबभन्दा उपचारका लागि ५ गुणा धेरै पैसा खर्च हुन्छ।

शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सफ्लान्ट सेन्टरमा पछिल्लो ३ वर्षदेखि बानियाँले उपचार गराइरहेका छन्। ‘अर्को खुट्टामा पनि गम्भीर समस्या देखिएको छ,’ उनी भन्छन्, ‘सरकारले नहेरेपनि मेरा साथी र इष्टमित्रको हौसलाले बाँचिरहेको छु।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: