Logo

विचार

प्रधानमन्त्रीकै आश्वासन पाएपनि कार्यान्वयनमा आउन सकेन नेपाल सम्वत्



राजेन्द्र गौतम


राष्ट्रिय विभूति शंखधर साख्वाले नागरिक तहबाट जनताको ऋण मोचन गरेर प्रारम्भ गरेको नेपाल सम्बत् ११३८ वर्ष पूरा हुँदासम्म व्यावहारिक प्रयोगमा आएको छैन। तर, नेपाल सम्बत् ११३९ नेवार समुदायले धुमधामका साथ मनाएको आज पाँच मात्रै भएको छ। आफ्नै मुलुकको सम्बत्लाई प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । मूलुकका दुई प्रधानमन्त्रीले नेपाल सम्बत् प्रयोगमा ल्याउने सार्वजनिक अभिव्यक्ति र आश्वासन दिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो कार्यालयबाट नेपाल सम्बत्को व्यवहारिक प्रयोग गर्ने बताएका थिए । अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाल सम्बत्लाई व्यवहारिक रुपमै कामकाजी बनाउने आश्वासन दिए । तर, ती दुबै आश्वासन फोस्रो साबित भएपछि नेपाल सम्बत् चलनचल्तीमा ल्याउनु पर्छ भन्ने पक्ष यतिबेला निरास बनेको छ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै नेपाल सम्बत् प्रचलनमा आउने ठूलो आश गरिएको थियो । तर, नेपाल सम्बत्ले राष्ट्रिय सम्बत्को मान्यता पाउन नै १० वर्ष पर्खनु पर्यो । ०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय सम्बत्को मान्यता पाएको नेपाल सम्बत् त्यही बेलादेखि कामकाजी र प्रचलनको सम्बत् बनाउने उनले उद्घोष गरेका थिए । तर, दाहालको अभिव्यक्ति व्यवहारमा कहीँ पनि लागू भएन । कृष्णप्रसाददेखि दाहाल र कोइरालासम्म आइपुग्दा पनि नेपाल सम्बत्को व्यवहारिक कार्यन्वयन नहुको पछाडि राजनीतिक कारण भएको विश्लेषकहरुको बुझाइ छ।

राजेन्द्र गौतम

तर, यस विषयमा कोही पनि सार्वजनिक अभिव्यक्ति दिन चाहँदैनन् । नेपाल सम्बत्लाई नेवारी समूदायको सम्बत् हो भनेर खुम्च्याउने काम भइरहेको जानकारहरु बताउँछन् । नेपाल खाल्डोका जनताको सबै ऋण तिरिदिए पछि सुरु भएको नेपाल सम्बत् एउटा जाति विशेषको हुन नसक्ने स्वयम् नेवारी समूदायका व्यक्तिहरु बताउँछन् । एक जना सामान्य व्यापारी शंखधरले तीन खाल्डोका जनताको ऋण तिरेर नेपाल सम्बत् सुरु गरेका थिए । गरिब र सामन्य परिवारमा जन्मिएका जनताका सन्तान साख्वा राष्ट्रिय विभूति त भए तर, उनलाई राष्ट्रिय विभूति घोषण गर्न पर्याप्त बनेको नेपाल सम्बत् कार्यान्वयनमा पटक्कै नआएको नेपाल सम्बत् कार्यान्वयन गराउन लागि परेकाहरु बताउँछन्। नेपालमा राजा विक्रमा द्वितीयले प्रचलनमा ल्याएको विक्रम सम्बत् प्रयोगमा छ। उनी भारतीय भएको जानकारहरु बताउँछन्।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपालमा नेपाल सम्बत्को प्रयोग गर्ने गरेको बताइए पनि त्यसको यकिन जानकारी छैन । चन्द्रशम्शेरले केही समय सख सम्बत् प्रचलनमा ल्याएपछि नेपाल सम्बत् ओझेलमा परेको जानकारहरुको भनाइ छ । विक्रम सम्बत् १९६०बाट प्रचलनमा आएको हो । नेपालमा अहिले क्राइष्टले प्रयोगमा ल्याएको इस्वी सम्बत् निक्कै प्रयोगमा छ । सन् २०१८ धेरैले जान्दछन् तर, नेपाल सम्बत्का विषयमा सबै अनविज्ञ जस्तै देखिन्छन् । सन् सम्बत् मनाउन नेपालमा ठुलै तामझाम गरिन्छ । यसलाई नेपालीले नयाँ वर्षकै रुपमा मनाउने गरेका छन् । नेपाल सम्बत्का विषयमा भने कसैलाई पत्तो नै नभएको नेपाल सम्बत् कार्यन्वयमा ल्याउन दबाव दिँदै आएका एक अभियान्ताले बताए । नेपाली सञ्चारमाध्यममा नेपाल सम्बत्को प्रयोग हुन्छ, गरिन्छ । विद्युतीय तथा छापा सञ्चारमाध्यमले नेपाल सम्बत् लेख्ने र बजाउने गरे पनि सरकारी कामकाजमा भने प्रयोगमा छैन।

प्रयोग गर्ने सञ्चार माध्यमले दशैँ, तिहार, छठ, इदका नाममा शुभकामना विज्ञापन छाप्ने र बजाउने गरेका छन् । तर, नेपाल सम्बत्को चर्चा भने नहुने गरेको अध्ययनकर्ताहरु बताउँछन् । मधेसलाई मनाउन छठमा सार्वजनिक विदा दिने र सामुहिक पर्वका रुपमा मनाउने गरिएको एक नेवार समुदायका व्यक्तिको दुखेसो छ । उनले भने, ‘नेपाल सम्बत्मा त्यस्तो कुनै कार्यक्रम हुँदैन।’ प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च ओदाहका व्यक्तिले नेपाल सम्बत्मा शुभकामना वक्तव्य निकाल्ने गरेका छन्। उक्त सम्बत् बक्तव्यमा नै सीमित हुने गरेको नेपाल सम्बत् मनाउन बिर्तामोडमा पाँच दिन अघि भेला भएका नेवार समुदायका अगुवाले गुनासो गरे।

‘यो नेवारको सम्बत् हो भने नेवार सम्बत् भन्दा भयो नि’ नेवार राष्ट्रिय संगठनका केन्द्रिय उपाध्यक्ष कृष्ण उदासले भने, ‘यो साझा सम्बत् हो, यो मौलिक सभ्यता हो ।’ साझा र मौलिक सभ्यतालाई बेवास्ता गरिएकोमा उनले दुखेसो पोखे । पटक–पटक दिएको बचन र व्यवहारमा ल्याउने आश्वासन कार्यान्वयन नहुनु नै नेपाल सम्बत् ओझेलमा परेको मुख्य कारण भएको उनको तर्क छ । नेवार समूदायले नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्का रुपमा प्रयोगमा ल्याउन थुप्रै प्रयत्न गरे पनि त्यो सफल हुन नसकेको नेवाः देय दबु बिर्तामोड सचिव ओमप्रकाश श्रेष्ठको तर्क छ । नेपाल सम्बत्लाई १९ वर्ष अघि मात्रै चिनेका कारण पनि यो ओझेलमा परेको उदासको भनाइ छ । साख्वा राष्ट्रिय विभूति घोषण भएको १० वर्ष पछि मात्रै उनले चलाएको नेपाल सम्बत्ले राष्ट्रिय मान्यता पाउनु राज्य सञ्चालकहरुको उदासिनता भएको नेवाः देय दबुका बिर्तामोड अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको भनाइ छ ।

नेवार समुदायले न्ह्दँया भिंतुना नाममा नेपाल सम्बत्को नयाँ वर्ष मनाउने गरेको छ । यस पटक पनि नेवार समूदायका विभिन्न जातीय संगठनले नेपाल सम्बत् ११३९ मनाउन गोरु तिहारका दिन देशैभर कार्यक्रम गरे । बिर्तामोडमा नेवाः देय दबुले झाँकीसहित सार्वजनिक कार्यक्रम गरेर नयाँ वर्ष ११३९को स्वागत गर्यो । तिहार विदाकै बेला नेपाल सम्बत्को नयाँ वर्ष पर्ने भएकाले पनि त्यसको कम चर्चा भएको केन्द्रिय उपाध्यक्ष उदासको भनाइ छ । २०५२ सालमा स्थापित नेवाःदेय दबुले राष्ट्रिय सम्बत् मनाउन दबाव दिए पनि त्यसको खासै सुनुवाइ भएको देखिन्न । भूमि पुत्रका रुपमा रहेका नेवार समूदायले नेवाःपुच, पासःमुन पुच, नेवा खल, झिँगु खल, झिँगु समाज, नेवा समाज, झिँ नेवा लगायत नाममा संगठन खोलेर देश भर छरिएको यो समुदायले नेपाल सम्बत्लाई राष्ट्रिय मान्यता दिन र कामकाजी सम्बत्का रुपमा प्रचलनमा ल्याउन दबाव दिए पनि त्यसको सुनुवाइ भएको छैन ।

जसका कारण नेपाल सम्बत् ओझेलमा परेको उनीहरुको बुझाइ छ । नेपाल सम्बत्को प्रयोग अप्ठ्यारो नभएको जानकारहरु बताउँछन् । तिथि र चन्द्रमासको आधारमा यसको गणना हुने नेवार राष्ट्रिय संगठनले जनाएको छ । औँशी र पूर्णिमालाई यसको मानक मानिने गरेको पाइन्छ । मूलुकका राष्ट्रिय विभूति साख्वाले राघवदेव राजा भएको बेला जनताको ऋण तिरिदिएर सुरु गरेको नेपाल सम्बत् प्रयोगमा ल्याउन नसक्नु राज्य सञ्चालनको उदासिनता हो । जसका कारण मौलिक र साझा सम्बत् ओझेलमा परेको छ । यस्तो अस्थामा सुधार ल्याउन सन् र विदेशी भूमिबाटै प्रयोगमा आएको विक्रम सम्बत्का बारेमा जिम्मेवार तहबाट पुनर्विचार गर्न किन गाह्रो?

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल