कविताः उनीसँगको मेरो सम्बन्ध


कृष्णप्रसाद पाठक


उनले मलाई जतन गरेर
आफूभित्र लुकाएकी थिइन्
म भने उनलाई पीडा दिइरहेको थिएँ
कहिले लात्तीले हानिदिन्थेँ
घोची दिन्थेँ, उनीमाथि उफ्रिएर
दुखाइरहन्थेँ, चिमोठ्थेँ, लुछ्थेँ
तर पनि उनले
कहिल्यै प्रतिवाद गरिनन्
बरु सहिरहिन्, मात्र सहिरहिन्।

जब म उनको सामु परेँ
एक शब्द पनि बोलिन
र उनलाई हेर्दा पनि हेरिन
मेरो यस्तो व्यवहार देखेर
उनी नराम्ररी रोएकी थिइन्
आँशुलाई आँखाका डिलबाट
पुर्लुक–पुर्लुक झारेकी थिइन्
मानौँ बादल वर्षा भइरहेछ।

कृष्णप्रसाद पाठक

सबैतिर स्तब्धता छाएको थियो
उनी मलाई हेरेर आँशु झारिरहिन्
केही छिनको मौनता पछि
म रुन थालेँ उन्लाई हेर्दै
तर अचम्म भयो
उनी मसँगै रुनुको सट्टा
दिल खोलेर हाँसिन्, रुञ्चे हाँसो
र एकहोरो मलाई हेरिरहिन्।

एउटा गजबको दृश्य मञ्चन भएको थियो
के सोचेर हो उनले मलाई अंगालोमा बाँधिन्
र चुम्बनको वर्षा गराइन्
किनभने उनको र मेरो भेट
लामो समयपछि भएको थियो
सायद मिलन भएकाले होला
उनमा हर्ष र खुशीको सीमा थिएन
साहित्य र संगीतको सीमा नभए जस्तै।

मैले हाँसेको, खाएको र हिँडेको देखेर
उनी द्रवित हुन्थिन् र पानी जस्तै बगेर
मेरो छेउमा आई तमाशा हेर्थिन्
अब त उनी मलाई एकैछिन छोड्दिनन्
माया र प्रेमको महासागररुपी
लहर निरन्तर चलाइरहन्थिन्
र पनि म भने अञ्जान झैँ
बनी दिन्थेँ उनका लागि।

आज बल्ल थाहा पाएँ
मलाई यत्ति धेरै माया गर्ने
रेखदेख र चुम्बन गर्ने
उनी मेरी प्यारी, यो जीवनको
सबैभन्दा महत्वपूर्ण साथी
अरु कोही नभएर उनी मेरी
प्यारी–प्यारी आमा रहिछन्
मलाई जन्माउने र लाम्टो चुसाउने
ब्रम्हाण्डकै सर्वश्रेष्ठ नारी
जन्मदाता आमा रहिछन्
र म उन्को खुशी र उमंगको
सन्तान रहेछु।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: