Logo

समाचार

उद्देश्य भेट, सन्देश पृथकः दशैँको उपहार, स्वास्थ्य उपचार



राजेन्द्र गौतम, झापा, २७ असोज – झापा बुद्धशान्ति–४ मा शनिबार एकै समयमा दुई वटा कार्यक्रम भए। करिब १ किलोमिटरको दुरीमा भएका दुईवटै दशैँ विशेष कार्यक्रम हुन्। उद्देश्य दशैँमा शुभकामना आदनप्रदान र मतदातासँग भेटघाट गर्नु नै हो।

तर, सन्देश दुईवटै कार्यक्रममले फरक–फरक दिए। झापा क्षेत्र नम्बर–१ का संघीय सांसद राम कार्की कार्यकर्तासँग शुभकामना आदनप्रदान गर्न गणेश मावि प्राङ्गणमा भएको कार्यक्रममा सहभागी बने। उक्त कार्यक्रममा मञ्च थियो, भाषण गरियो।

अतिथिलाई खादा ओढाइयो, व्याच लगाइयो। चियापान र दशैंको रमाइलोमा केही मिठोमसिनो पनि खाइयो। कार्यक्रम राम्रै रह्यो, सबै हाँसी खुशी भए। खर्च पनि त्यही अनुपातमा भयो। किनभने, दशैंको चियापान कार्यक्रममा थोरबहुत खर्च हुनु आम नेपालीका लागि सामान्य हो। गणेश माविको कार्यक्रमले मतदातामा उत्साह पक्कै ल्यायो। दशैंको कार्यक्रम मनाउने अहिलेसम्म चल्दै आएको शैली यही नै हो।

उक्त स्थानभन्दा करिब १ किलोमिटर दक्षिणमा राम कार्कीसँगै पराजित विश्वप्रकाश शर्माको अगुवाइमा दशैं विशेष कार्यक्रम भयो। कार्यक्रमको प्रकृति निकै फरक थियो। बुद्धशान्ति–४को ५नम्बर चौरमा भएको सो कार्यक्रममा कोही प्रमुख अतिथि थिएनन्। त्यहाँ कसैले भाषण पनि गरेनन्।

खादा, माला, व्याच कसैलाई पनि पहिर्याइएन। डाक्टर र स्वास्थ्य परीक्षण गराउन आएका जेष्ठ नागरिकलाई हातले गाँसेको अर्गानिक माला पहिर्याइयो। त्यस्तै माला शर्माले आफू पराजित भए पछि विजेता बनेका कार्कीलाई पहिर्याइ दिएका थिए।

चौरको २ ठाउँमा टेन्ट टाँगिएको थियो। एउटा टेन्टमा स्वास्थ्य परीक्षण गराउन आएका र सहभागीलाई बस्ने व्यवस्था मिलाइएको थियो। अर्को टेन्टबाट स्वास्थ्य शिविरमा सेवा लिएकालाई निःशुल्क औषधी लिने व्यवस्था मिलाइएको थियो र त्यही अनुरुप काम भयो। शिविरमा कार्यक्रम उद्घाटन पनि पृथक ढंगले नै गरियो। पानसमा बत्ती बाल्ने, व्यानर पढ्ने वा अन्य कुनै औपचारिकता थिएन।

डाक्टर प्रज्ज्वल गौतमले ९३ वर्षीय उजीरमान दाहाल र डा. अवकेशर खड्काले ८६ वर्षीया टंकमाया दाहालको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरे। निर्वाचनमा कार्कीसँग प्रतिष्पर्धी बनेका शर्माले कार्यक्रममा तडक भडकको प्रतिस्पर्धा देखाएनन्। उनी चिकित्सक र स्वास्थ्य परीक्षण गर्न आएकासँग ओहोरदोहोर गरी रहे।

शर्माले मतदाताको स्वास्थ्य अवस्थाका बारेमा सोधे। र, रोग अनुसारको उपचारका लागि स्वास्थ्य परीक्षण गर्न तयार पारिएको कोठासम्म पुर्याए। शिविरमा स्वास्थ्य परीक्षणका लागि निक्कै राम्रो व्यवस्था गरिएको आभाष हुन्थ्यो। ल्याबसहितको सेवा शिविरमा दिन सक्नु स्वास्थ्य उपचारका दृष्टिले निक्कै राम्रो हो।

कार्यक्रममा ८१ वर्षीया पूर्णमाया राई र ७७ वर्षीय कर्णबहादुर दर्जीसहित १ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ। त्यहाँ २५ जनाको टोलीले स्वास्थ्य सेवा दिएको थियो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत ठाउँबाट आएका चिकित्सकले सेवा दिएका हुन्।

स्वास्थ्य परीक्षण गराएकालाई वितराण गर्न १२ लाख बराबरको औषधी शिविर स्थलमा पुर्याइको थियो। स्वास्थ्य परीक्षण गराएकामध्ये ६ सय जना बढीले निःशुल्क औषधि लगेको औषधी वितरणमा खटिएका सुरेश खटिवडाले बताए। सेवा दिन सात जना डाक्टर र चार जना प्राविधिकसहित २५ जना खटिएका थिए।

यी दुवै दशैंका बीचमा मतदातासँग भेटघाट गर्ने उद्देश्यले गरिएका कार्यक्रम हुन्। एउटा कार्यक्रममा रमाइलो भयो। अर्को कार्यक्रममा मतदाताको स्वास्थ्य समस्याको हल भयो।

केही नयाँपन दिन नयाँ सोच बनाउनु पर्छ भनेझैँ शर्माले स्वास्थ्य शिविरको सोच बनाएर दशैंमा नयाँपनको आभाष दिलाएका छन्। शर्माले अगुवाइ गरेको जस्तै कार्यक्रम गर्न सके दशैं रमाइयो मात्र होइन, सार्थक र नागरिकसँग प्रगाढ सम्बन्ध स्थापित गर्न नौलो आयाम हुनसक्छ।

प्रकाशित : २८ आश्विन २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल