जब ट्याम्केको बगरमा छोराको जन्म भयो…


सरिता गिरी

कहिलेकाँही यात्रा सोच्दै नसोचेको घटना हुँदो रहेछ। कुरा हो खोटाङको यात्राको। हामी सुटिङ सकेर काठमाडौं फर्किदै थियौं जीवन बराल, कुसुम अनि हाम्रो चाइल्ड आर्टिस्ट कसिप, अरु दुई जना साना बहिनीहरु। र, अरु सबै पुरुषहरु थिए। एक त हायसको ड्राइभर दाईले गाडी ढिलो लिएर आउनु भयो। ११ बजेर १५ मिनेटमा हिँडाउनु पर्ने १२.५४ बजिसकेको थियो।ड्राइभर दाईले हायसलाई संगीतको रफतारमा दौडाए। संगीतले गर्दा अलि शान्त भयो, रिस पनि कम भयो। लगभग डेठ घण्टापछि हायस एक्कासी रोकियो। ड्राइभर दाईले भन्नु भो –एउटा बिमारीलाई काठमाडौं लानु पर्ने भो हजुरहरु १० मिनेट कुर्नु पर्ने भो एमर्जेन्सी छ।हामीलाई त्यही उतारेर दाई बिमारी लिन जानु भो। १०, २०, ५० मिनेट, १ घण्टा बितिसक्दा गाडीको अत्तोपत्तो थिएन।

उहाँ खोटाङ हस्पिटल पुग्नु भएछ, गाउँलेको कुरा बुझ्दा थाहा भो कि तिनी साधारण बिमारी थिइनन्, खोटाङको हस्पिटलले ५ दिन पछि डेलिभरी हुने डेट भएकी एक महिलालाई यो हामीबाट सम्भव छैन। बिमारीलाई काठमाडौं लानुस् भनेपछि हाम्रो गाडी फर्केको रहेछ। हामी चडेको गाडी अन्तिम गाडी थियो। त्यसैले हामी हतारिएका थियौं। अब त झन् टेन्सन भयो यो कुराले। बल्ल गाडी १ घण्टा ३० मिनेटमा आयो बिमारी बोकेर। हामी सबै स्तब्ध भयौं, लगभग त्यो गाडीमा ड्राइभर दाईको आफन्तहरु नै थिए।कोही बोलेनन्, र बोल्ने कुरा पनि भएन। एक त बिमारी नर्मल बिमारी थिएन। पाँच दिनपछि उनको डेलिभरी डेट थियो। मलाई एकदमै डर लाग्यो बाटोमा केही भई हाल्यो भने के हुन्छ भनेर।म, जीवन र कुसुम रिसाउन थाल्यौं यस्तो अवस्थाको बिमारी यत्रो लामो कच्ची बाटोको यात्रा कसरी गर्न सक्छिन? उनका श्रीमानले भने म छु चिन्ता नलिनु। जीवनले केही नबोली ड्राइभर दाईलाई भनिदिए, ‘अरु कुरा हामीलाई केही थाहा छैन, हामीलाई राती घर–घरमा पुर्यार्इ दिनुपर्छ।’

कलाकार सरिता गिरी र नवजात शिशुसँग उनीकी आमा।

हामी केही नबोली हिँड्यौं, गाडी आफ्नो रफतारमा दौडियो। गाडीभित्र कोही बोलिरहेका थिएनन्, सबैको ध्यान ती महिलामाथि थियो, म र कुसुम छिनछिनमा मुखामुख गर्दै थियौं।जति–जति गाडी अगाडि बढ्यो। ती महिलालाई व्यथाले च्याप्दै थियो। लगभग चार घण्टाको यात्रा पूरा गरेपछि उनिलाई झन् गारो भयो, हामीले गाडी रोक्यौं। उनीलाई ट्याइलेट लगेर प्याड लगाई लियौं, उनको रगतले पुरै लुगा भिजिसकेको भियो। अब कुसुम र मलाई टेन्सन शुरु भयो। कुसुमले भनिन् – ‘दिदी उनको त पेट झरेर तल आइसक्यो बच्चा त बाटैमा हुन्छ कि के हो।’ म झन् आत्तिन थालेँ। उनका श्रीमानलाई मैले भने – ‘ऊसँग बोलिरहनु, हात मालिस गरिदिनु।’

विचरा माया पनि लाग्यो, एउटी नारीले के कति सहने।अनि विस्तारै हामीले उनलाई काखमा सुतायौं। म चाँहि धेरैबेरदेखि डक्टर अरुणा कार्की आन्टीलाई फोन ट्राई गर्दै थिए। यस्तो अवस्था के–के गर्न सकिन्छ भनेर आन्टीको फोन नउठेपछि आकांक्षालाई गर्न थाले। उसको पनि रेस्पोन्स आएन। ३० मिनेटपछि आकांक्षाले म्यासेज पठाइन् – ‘म क्लासमा छु कल यू लेटर।’ त्यसपछि खोटाङ जिल्ला कटेर हामी ओखलढुंगा आइपुग्यौं।सल्लाह बमोजिम बिमारीलाई तातो सुप खुवाउन घुर्मीमा गाडी रोक्न लगायौ।ं १५ मिनेटपछि विस्तारै गाडी अगाडि बढ्यो। जब गाडी ५ मिनेट बढेको मात्रै के थियो, ट्याम्के खोलाको मुखैमा पुगेपछि ‘मेरो बच्चा जन्मियो गाडी रोकस् न’ भनिन् उनले। आदि गाडी खोलामा थियो भने आदि चाँहि खेतको ढिलमा। अब सबैको होस् उड्यो। के गर्ने कसैलाई थाहा थिएन।

म गाडीको ढोका खोलेर उनी बसेको साइडमा गए, उनीले लगाएको ट्राउजर खोलेको के थिए, बच्चाको आदि टाउको बाहिर आइसकेछ। मेरो दिमाग शुन्य भयो, मेरो त्यत्रो आँट कहाँबाट आयो कुन्नी खल्तीबाट मोबाइल झिकेँ। र, डाक्टर अरुणा कार्की आन्टीलाई फोन गरेँ।आन्टीले दुई रिङमै फोन उठाउनु भयो। धन्य भगवान! त्यहाँ भएको सबै घटना सुनाएँ, ‘तिमी नआत्त् यो काम तिमीले पनि गर्न सक्छौं। बच्चालाई पहिला कपडाले न्यानो पार’ भन्नु भयो। एउटा कानमा फोन र हातमा बच्चा, जीवनले सबैलाई मोबाइलको टर्च बाल्न लगाएँ, गाडीको सिटमा आमा र पछाडिबाट कुसुमले आमालाई सपोर्न्ट गरिन्। मेरो नजर बच्चामा गयो। ‘लु बधाई छ, तपाईको छोरा भएछ, आमा पनि दंग परिन् र उनका श्रीमान् चाँहि रुँदै आमालाई फोनमा भन्दै थिए। आमा बच्चा त खोलामा पो जन्मियो त।

त्यसपछि आन्टीले मलाई भने बमोजिम गर्दै गएँ, नाल काट्ने र साल निकाल्ने काम सजिलै भो। हामीले एम्बुलेन्स बोलाएर आमा र छोरालाई सकुशल पठायौं। जाने बेलामा छोराको बुवाले रुँदै आभार व्यक्त गरे ‘हजुरहरु हाम्रो लागि देउतै हुन भो।’ उनीहरूलाई पठाएपछि ड्राइभर दाई खोलामा आफ्नो गाडी धुन थाले। म चाँहि आफ्नो लुगामा लागेको रगत धुन थाले त्यही बेला म्यासेज आयो आन्टीको ‘बधाई छ, राम्रो काम।’ अनि आकांक्षाको फोन आयो। र सबै कुरा बेलीविस्तार लगाइयो। खोलाको किनारमा बसेर अनि हाम्रो गाडी फेरि आफ्नो बाटो लाग्यो। धन्यवाद दिन्छु समयमै फोन उठाएर हामीलाई हिम्मत र आँट दिनुहुने प्यारी डाक्टर अरुणा कार्की आन्टी, धन्यवाद जीवन चारैतिरबाट लाइन्टको व्यवस्था गरिदिएकोमा, धन्यवाद कुसुम धागो खोज्न सहयोग गरेकोमा। र हाम्रै गाडीका प्यासेञ्जरबाट नाल काट्ने ब्लेड उपलब्ध गराएकोमा।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: