Logo

राजनीति

हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु



काबुल – अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ।

अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका छन्। उनी अफगान तालिबानका उपनेता पनि हुन्।

जलालुद्दीनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिबानले प्रकाशन गरेको वक्तव्यमा जलालुद्दीन आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको बताइएको छ।

सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता गराउन लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए।

अरबी भाषा धाराप्रबाह बोल्न सक्ने जलालुद्दीनले ओसामा बिन लादेन समेतका अरबी लडाकूहरुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए। उनी अफगानिस्तानमा तालिबानीहरु सरकारमा रहँदा मन्त्री समेत भएका थिए।

जलालुद्दीनको मृत्युको खास कारण भने खुलाइएको छैन । सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलेको थियो। उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ। पछिल्ला वर्षहरुमा उनी पाकिस्तानमा लुकिछिपी बसेको विश्वास गरिन्छ।

जलालुद्दीन हक्कानी।

अफगानिस्तानमा अमेरिकी हस्तक्षेप पश्चात हक्कानी समूहले ठुल्ठूला आक्रमणको नेतृत्व गरेको ठानिन्छ। पछिल्ला दिनहरुमा काबुल सहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ।

विश्लेषकहरुको भनाइमा हक्कानीसँग आइएस समूहको सम्बन्ध पनि प्रगाढ छ, तर बाह्य संसारलाई भ्रमित पार्न हक्कानी समूह र आइएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ।

पाकिस्तानको छायाँ सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासूसी संस्थाको “विश्वसनीय हतियार” रहेको बताएका छन्।

अमेरिकाले आतङ्ककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ।

काबुलमा मे २०१७ मा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ। यस हमलाबाट करिब १५० जनाको मृत्यु भएको थियो। तर सिराजुद्दीनको बिरलै आउने एक अडियो सन्देशमा उक्त हमला आफूहरुले नगरेको भन्दै अस्वीकार गरेका थिए।

प्रकाशित : १९ भाद्र २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल