भक्तपुरको मौलिक गाईजात्रा


लक्ष्मी गारु, भक्तपुर –

‘तःहामचा गना तय्, ग्वाखँ प्वालय् तय्
ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय्
विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ’ ( तःहामचा कहाँ राखूँ, खोपामा राखूँ, खोपामा नअटे खोलामा लगेर राखूँ, विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ )

आकर्षक लयमा उल्लेखित भाकासहित एक आपसमा लठ्ठी जुधाउँदै नाच्ने घिन्ताङघिसी नाच प्रदर्शन तथा हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गरिने गाईजात्रा पर्व भक्तपुरमा आइतबार साँझदेखि शुरु भएको छ ।वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्ययेश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचका टोलीले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको मानिने उक्त संस्थानले जनाएको छ ।

यहाँ गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबारस्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ । आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउनुुहन्छ ।नेवार समुदायले विशेष पर्वका रुपमा मनाउने गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । विधिवत् रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाउँदै आइएको हो ।

भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्रा भन्दा भिन्न र विशेष खालको जात्राको रुपमा लिइन्छ । भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । गाईजात्राको मुख्य दिन वर्षदिन भित्र मरेका आफ्ना परिवारका सदस्यको आत्माले मोक्ष प्राप्त गरुन भन्ने उद्देश्यले तःहामचा (बाँसको चारखुट्टे रथलाई कपडाले बेरेर मृत व्यक्तिको तस्बीर र टुप्पामा परालबाट गाईको प्रतिक चित्र राखिएको हुन्छ) लाई काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तःहामचासँगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाच्ने घिन्ताङघिसीको नाचले जात्राको रौनक बढाउँछ ।जात्राको मुख्य आकर्षण नै यही नाच हो ।

नेवारी समुदायमा काजकिरीया गर्न नपर्ने उमेर नपुगेका मृतक बालबालिकाको हकमा डोकोमा गाईको प्रतिक चित्र र परालको सिङ बनाएर नगर परिक्रमा गराइन्छ भने उमेर पुगेका व्यक्तिको हकमा तःहामचा बनाई नगर परिक्रम गर्ने प्रचलन छ ।तःहामचासहित नगर परिक्रमा गर्नुअघि घरको मूलढोका अगाडि पुरोहितले किरीयापुत्रीलाई पूजा सङ्कल्प र विधिबमोजिम पूजा गर्न लगाई मृतात्मा सजिलै स्वर्गलोक पुग्न सकुन भन्ने कामना गर्न लगाउँछन्। कसैकसैले मृतकको स्मृतिमा ‘रामायण’को करुणरस प्रधान गीतिलीला समेत प्रदर्शन गर्ने गर्छन् भने कसैले कालो माटाको साँढे बनाई शुङ्गारपटारका साथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले महादेव पार्वतीको वेशमा सिँगारी बाजागाजाका साथ ‘बासा लुइँके’ गरेर प्रदर्शन गर्दछन् ।

मध्यपुरथिमिमा गाईजात्रा निकाल्दै स्थानीय। तस्वीरः रत्नकृष्ण श्रेष्ठ/रासस

राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्बदन्ती भए पनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोवास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

उक्त समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको उहाँको भनाइ छ । किंबदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ, भन्ने देखाउनका लागि गाईजात्रा निकाल्ने प्रचलन शुरु गरिएको र यतिले पनि रानीको मन शान्त नभएकाले गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य प्रदर्शन गर्न थालिएको हो भन्ने भनाइ छ ।

प्रा डा श्रेष्ठले राजा जयस्थिति मल्ल भन्दा पहिल्यै गाईजात्रा मनाउँदै आइएको बताउनु भएको छ। राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा ‘साँःयात’ भन्ने उल्लेख भएको र लिच्छविकालको अभिलेखमा पनि ‘गौ युद्ध’ उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइएको भन्न सकिने र विक्रमको १४ आैं शताब्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्नसकिने आधार भएको उहाँको भनाइ छ ।

भक्तपुरमा मनाइने गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच जयस्थिती मल्ले चलाएका हुन् भन्नेमा प्रा डा श्रेष्ठ जोड दिनुहुन्छ । गाईजात्रालाई हास्यव्यङ्ग्यको पर्वको रुपमा पनि लिइन्छ । गाईजात्राको दिनदेखि आठ दिनसम्म राज्यको बेथिति, राजनीतिक तथा सामाजिक विकृति विरुद्ध हास्यव्यङ्ग्यको माध्यमबाट विरोध जनाउने परम्परा रहिआएको छ । तत्कालीन राणा शासन र पञ्चायती शासन व्यवस्था विरुद्ध साहित्यकार तथा कलाकारहरले यो पर्वमा व्याङ्ग्य गर्ने पर्वको रुपमा पनि लिने गरेका र यो परम्परा अहिले पनि कायम छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: