Logo

राजनीति

निर्मला हत्या प्रकरणको छानवीन कर्मकाण्डी नहोस्ः विवेकशील साझा पार्टी



काठमाडौं – विवेकशील साझा पार्टीले कञ्चनपुरमा भएको नागरिकको आन्दोलनमा सरकारले गरेको दमनप्रति गम्भीर आपत्ति जनाएको छ।

साथै १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको घटनाको छानवीन गरी अपराधीलार्इ तत्काल कानूनी कारबाही गर्न विवेकशील साझा पार्टीले माग गरेको छ।

विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा शुक्रबार जारी विज्ञप्तिमा बालिका निर्मलाको बलात्कारपछि हत्याको खबरहरू आइरहेका बेला उक्त घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन प्रहरी प्रशासन प्रभावकारी नदेखिएको जनाउँदै स्थानीयहरू विरोधमा उत्रँदा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय रहेको ठहर गरिएको छ।

‘मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी यस्ता खाले जघन्य अपराधमा संग्लनहरुलाई कानुनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।’

यस्ता घटनाका अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा सरकारको विश्वसनीयतामा ठूलो ह्रास आउँछ भन्नेमा सरकार सचेत रहेको विश्वास आफ्नो पार्टीले गरेको विवेकशील साझाले उल्लेख गरेको छ।

साथै बिहीबार भएको प्रहरी दमनमा घाइते भएका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दै विवेकशील साझा पार्टीले उनीहरूको निःशुल्क उपचारको माग गरेको छ।

ढिलै भएपनि गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई पार्टीले सकारात्मक रूपमा लिएका जनाउँदै विज्ञप्तिमा भनिएको छ – ‘तर अन्य विभिन्न घटनामा बन्ने छानवीन समितिजस्तै यो समिति पनि कर्मकाण्डी नहोस् भन्नेमा हामी सरकारलाई सावधान गराउन चाहान्छौं, स्व. निर्मला पन्तको परिवारजन एवं कञ्चनपुरका न्यायप्रेमी नागरिकहरूको न्यायका आवाजप्रति हामी एेक्यबद्धता जनाउदछौं।’

साथै, समाजमा बढिरहेको यौनजन्य हिंसा र बलात्कारका घटनाहरूमा समाजका हरेक नागरिक र परिवारले पनि त्यसबारे परिवार र गाउँठाउँमा सचेतना जगाउन भूमिका निर्वाह गर्नु अत्यन्तै जरुरी भएको महसुस गरेको विज्ञप्तिमा जनाइएको छ।

‘हामी विवेकशील साझा पार्टीसँग आबद्ध र हामीप्रति शुभेच्छा राख्ने सबैलाई यौनजन्य हिंसाका बारे आ–आफ्नो ठाउँमा सचेतना कार्यक्रमहरू शुरू गर्न पनि यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौं’ – विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल