Logo

राजनीति

विकासको नयाँ युग प्रारम्भ भएको प्रधानमन्त्रीको उद्घोष



झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ।

झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ। ”

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो।

“सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ।”

प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै भन्नुभयो – “अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको छु।”

प्रधानमन्त्री केपी शर्मा अोली।

आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताउनुभयो।

प्रधानमन्त्री ओलीले शान्तिपूर्णरुपमा विरोध गर्न कसैलाई नरोक्ने तर अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेतर्फ दलहरुको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो।

कृषिमा आत्मनिर्भर बनाउन सरकारले थुप्रै योजना तथा कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उहाँले सहकारीको माध्यमबाट कृषिलाई आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्नुभयो।

समारोहमा समृद्ध नेपालको परिकल्पनालाई सार्थक पुर्याउन सफलता मिलोस् भनी प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो।

गौरादह निवासी तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई समेत समारोहमा अभिनन्दन गरिएको थियो।

समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत सहभागिता थियो।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल