Logo

समाचार

केपी अोली र प्रचण्डको उद्घोष – ‘सरकार समृद्ध मुलुक बनाउने अभियानमा’



लहान – प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आज आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।” उहाँले सङ्घर्ष होइन, मुलुकको गरिबी हटाउन र समृद्धिमा जुट्न सबैसँग आग्रहसमेत गर्नुभयो ।

व्यावहारिकरुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिने बताउनुभयो ।

उहाँले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, काठमाडौँ तराई दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनका लागि अब बिलम्व गर्न नहुने बताउनुभयो ।

सम्मानग्रहण गर्दै अध्यक्षद्वय अोली र प्रचण्ड।

उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदानमात्र पुर्याइरहेकामा यो प्रतिशत बढाउन सिँचाइ र कृषिको आधुनिकीकरण गरिने बताउनुभयो । उहाँले तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न तथा फलफूल विदेश निर्यात गर्न सकिए छिट्टै समृद्ध हुन्छ ।” कोशी नदीमा पानीजहाज चलाएर कलकताबाट समान ल्याउने सरकारको योजना रहेको उल्लेख गर्नहुँदै उहाँले नेपालको झण्डा फरफराएर हिँडेको पानीजहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी प्रतिबद्ध छौँ ।” कुनै नेपाली जनता खानाविना र अपहेलित भएर बाँच्नु नपर्ने दाबी गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सुनकोशी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने र नपुगेका ठाउँमा सोलरपावरबाट सिँचाइ गरी उन्नत तरिकाले कृषि उत्पादन गर्ने सरकारको योजना रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अबको दिनमा यो खण्डेखेती प्रणालीलाई विस्थापन गरी सहकारीको माध्यमबाट योजनाबद्ध खेती गरी उत्पादनमा वृद्धि गर्ने योजना सरकारले बनाएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र समृद्ध नेपाल बनाउने अभियानलाई ध्यानमा राखेर सरकार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई चुनाव जित्नु र हार्नुभन्दा पनि देश र जनतालाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको पाँच वर्षभित्र जनताको समृद्धको सपना पूरा गर्ने छौं ।”

प्रदेश नं २ अन्य प्रदेशभन्दा उत्कृष्ट र समृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने जिकिर गर्नुहुँदै उहाँले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष ‘प्याकेज’ ल्याइएको स्पष्ट पार्नुभयो ।

मधेशकै लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको जानकारी दिनुहुँदै उहाँले अब कुनै पनि बहानामा हुलाकी राजमार्गको काम नरोकिने दाबी गर्नुभयो ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारमा आएको उल्लेख गर्नहुुँदै अध्यक्ष प्रचण्डले उक्त सहमतिमा टेकेर राजपा पनि सरकारमा सहभागी भई देशलाई समृद्ध बनाउन अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

सरकारमा सहभागिताबारे राजपाका नेतासँग निरन्तर छलफल भइरहेकाले जानकारी दिँदै उहाँले राजपा पनि सरकारमा सहभागी भई समृद्धिको अभियानमा जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

तराई–मधेश, पहाड र हिमाललाई जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध हुने र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्ने आजको ऐतिहासिक आवश्यकता रहेकोसमेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।

वर्तमान सरकार जनताप्रति समर्पित भएको र जनतालाई विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारीमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनताको आकाङ्क्षा सम्बोधन गर्न सरकारका कामकारबाहीे सच्याउने आँट गर्नुपर्छ ।”

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, कार्यान्वयनमा आएको संविधानले समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै उहाँले आर्थिक विकास र समृद्धितर्फ मुलुक अघि बढाउने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताउनुभयो ।

प्रकाशित : २ भाद्र २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल