Logo

राजनीति

एकतापछि युवा र विद्यार्थीको शक्तिशाली संगठन निर्माण गर्दै नेपाल कम्युनिष्ट पार्टी



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ। अनेरास्ववियुकी उपाध्यक्ष एवं विधान मस्यौदा उपसमिति सदस्य सुनिता बरालका अनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्।

अनेरास्ववियु र क्रान्तिकारीले अन्य विषयमा सहमति गरेका छन्। नेतृत्व र नामका विषयमा अझै छलफल भइरहेको बरालले जनाएकी छिन्। नेतृत्व र नाममा सहमति गरेर अघि बढ्ने उल्लेख गर्दै युवा नेतृ बरालले शक्तिशाली संगठन निर्माण भएपछि अझ जिम्मेवार नेतृत्व चाहिने भएकाले छलफलबाट टुंगोमा पुगिने बताएकी छिन्। उनका अनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ।

दुवै संगठन समायोजन हुँदा ४ सय ९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ। उनले भदौ २५ गतेसम्म सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी दिएकी छिन्।

त्यसैगरी, युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकताका प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी छ। एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएका हुन्।

‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छौं’, उनले भने – ‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौं।’ यद्यपि, दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन्।

सापकोटाले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताएका छन्। उनका अनुसार संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको छ।

यसैगरी, नयाँ बन्ने केन्द्रीय कार्यसमिति १ सय ९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको उनले जानकारी दिए। कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन्।

​​​​​​​

गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र )बीच पार्टी एकता भएको थियो। सबैभन्दा पहिले दुवै पार्टीका इञ्जिनियरहरूको संगठनको पहिलो एकता गरेपछि युवा र विद्यार्थीले पनि एकता प्रक्रियालाई अन्तिम रुप दिन लागेका हुन्।

पार्टीले भदौ १५ भित्र सबै भ्रातृ संगठनको एकता सक्ने गरी सबै कार्यदललाई निर्देशन दिइसकेको छ। कार्यदलमा दुवै पार्टीका भ्रातृ संगठनका इञ्जार्च र अध्यक्ष रहेका छन्।

प्रकाशित : २४ श्रावण २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल