Logo

राजनीति

नेपाली कांग्रेस स्याङ्जाका सभापति पंगेनीको निधन



स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६ बजे स्याङ्जास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६ बजेर ३० मिनेटमा बजे पंगेनीको निधन भएको हो।

नेपाली कांग्रेस स्याङ्जाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसांसद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस स्याङ्जाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिएका छन्।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने कांग्रेस स्याङ्जाले जनाएको छ।

प्रतिनिधिसभा बैठकः शोकप्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गर्यो। बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका छन्।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक एवं प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहम् भूमिका निर्वाह गरेका पंगेनी कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी पनि हुन्।

प्रकाशित : २० श्रावण २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल