छाक टार्नकै लागि कसैले शरीर बेच्न नपरोस्ः मेनुका थापा


काठमाडौं – ‘ढुंगाले हान्नेलाई त्यसको जवाफ फूलले दिनुपर्छ, सहनशील मानिस सधैं महान हुन्छ है, बाबु,’ कान्छी छोरी मेनुकालाई रामकुमारी थापा सँधैं यसरी नै सम्झाउँथिन्।

कान्छी छोरी भएपछि आमाले उनलाई बाबु भनेर बोलाउँथिन्। तर, बेला-बेला यो समाजमा मान्छेले मान्छेलाई मान्छेको व्यवहार नगर्दा मेनुकाको मन चसक्क दुख्थ्यो। ‘मलाई लाग्थ्यो, पत्थरको जवाफ पत्थरले नै दिनुपर्छ,’ उनले भनिन्, ‘किनभने यो कलियुग हो मध्यकली, यहाँ जेकोही आफ्नै स्वार्थमा बाँचेका छन्, त्यसैले जसले जस्तो व्यवहार गर्छ, परिणाम पनि त्यस्तै हुन्छ।’

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा अहिले यही समाजका दूषित मनोवृत्तिबाट ग्रस्तहरूसँग अामनेसामने भइरहेकी छिन्। मानवताविरुद्धको अपराधमा संलग्नहरुसँग उनी पौठेजोरी खेल्दैछिन्। लडाइँ जारी छ।

र, एक तहमा पुगिसकेको छ। लड्दै, भिड्दै अघि बढ्दै उनी महिला दिदीबहिनीहरूकी अभिभावक भएर स्थापित भएकी छिन्। त्यसैले मेनुकाको कार्यका लागि लाखौं सम्मानका शब्दहरु पनि कमै लाग्छन्। नेपालका कुनै पनि क्षेत्रमा महिला हिंसाका घटना हुँदा अहिले बोलिदिने मेनुका छिन्।

महिला दिदीबहिनीमाथि भएका ज्यादतीविरुद्ध लडिरहेकी मेनुका जति बेला समस्यामा थिइन्, उनका पक्षमा बोलिदिने चाहिँ कोही थिएन। ‘त्यसैले पनि संघर्ष गर्न सकेँ,’ उनले भनिन्।

संघर्षमै बित्यो बाल्यकाल

मुलुकको राजधानी काठमाडौंबाट केही घण्टाको यात्रामा पुगिने काभ्रे जिल्लामा गणेशथान गाउँ। गणेशथानस्थित चलालमा वि.सं. २०३९ चैत ५ गतेका दिन मेनुकाको जन्म भयो। मेनुका जन्मिनुअघि नै उनका बुवा पदमबहादुर थापा बितिसकेका थिए।

जीवनसाथी गुमाएपछि रामकुमारी थापा मानसिक रुपमा तनावमा परिन्। ‘आमाले ९ जना छोराछोरीलाई जसोतसो दुःख गरेर भएपछि समेट्नुभयो,’ उनले भनिन्। दिदीहरु मेनुकाका सहारा थिए। एक जना दाजु पनि उनका अभिभावक भए। मेनुका कान्छी छोरी हुन्। नजन्मिँदै बुवा गुमाएकी अबोध बालिकामाथि समाजले बुवाको निधनको विषय जोडेर लाञ्छित पनि गर्यो।

‘बुवा दुर्घटना परेर बित्नु भयो,’ उनले भनिन्, ‘आफन्तले चाहिँ मलाई र आमालाई अलच्छिनी भन्दै आरोपित गरे, जसले जे–जे भने पनि आमाले के नै भन्न सक्नुहुन्थ्यो र!’ अनि ती अबोध बालिकाले त झन् के नै भन्न र गर्न सक्थिन् र! तर, जब समय आयो, मेनुकाले काम गरेर समाजलाई आफ्नो हैसियत देखाइदिइन्।

आफन्तबाटै अत्यचार!

मेनुका सानै थिइन्। तर, उनका दाजुदिदीको उमेर कुरा बुझ्ने भइसकेको थियो। बुवाको निधनबाट आहत भएकी एउटी महिला र ती बालबालिका आफ्नै नातेदारबाट पनि प्रताडित भए। स–साना लालाबालाले पाउनु पर्ने बुवाको सम्पत्ति र अंश आफन्तहरुले हडपे।

आर्थिक स्थिति निकै कमजोर थियो, घरमा अन्नपात नहुँदा धेरै कष्ट झेल्नुपर्यो उनको परिवारले। दिदी-दाजुहरुले धेरै दु:ख गरेको उनी सम्झिन्छिन्। ‘छरछिमेक, समाजबाट पनि सहयोग नपाएपछि हाम्रो के नै पो लाग्थ्यो र!,’ उनले भनिन्।

पढाइमा अब्बल

मेनुकाका दाजुदिदीहरुले धेरै दु:ख गरेका छन्। मेधावी मेनुका पढ्नलेख्नमा ध्यान दिन्थिन्। पढाइमा अब्बल रहेकी मेनुका विद्यालयका अतिरिक्त क्रियाकलापमा सँधैं प्रथम हुन्थिन्। सोही पुरस्कारले मेनुकाको पढाइ खर्च पुग्थ्यो।

गाउँकै कालिका प्राथमिक विद्यालयबाट कक्षा पाँच उत्तीर्ण गरिन् उनले। खोपासीस्थित श्रीराम माद्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गरिन्। वि.सं. २०५४ सालमा प्रथम श्रेणीमा उनी पास भइन्।

सम्भावना खोज्दै काठमाडौं

आर्थिक रुपमा कमजोर भए पनि प्रवेशिका परीक्षा एसएलसी पास गरेपछि उच्च शिक्षा आर्जन गर्ने चाहना मेनुकामा थियो नै। गाउँका आमयुवाको जस्तो सहर जाने धेरै पढ्ने ठूलो मान्छे बन्ने चाह मेनुकामा हुर्किंदै थियो। चाहना मारेर बस्ने उनको सोचाइ थिएन। उनी जसरी हुन्छ उच्च शिक्षा आर्जन गर्ने ध्याउन्नमै थिइन्।

एसएलसी भएकै बखत मेनुकाकी आमाको निधन भयो। त्यसपछि लगभग दुई वर्ष त उनी विक्षिप्त भइन्। मानसिक रुपमा कमजोर भएर बसिन् उनी। डिप्रेसनले पटक–पटक जीवनबाटै उदास भइन्। ‘तर, स्वामी विकासानन्दको पुस्तक पढेपछि र योग शिविरमा बसेपछि मैले केही गर्नु छ भन्ने सोच जागृत भयो,’ उनले भनिन्।

र, मेनुकाको काठमाडौं केन्द्रित संघर्ष सुरु भयो। काठमाडौं, नयाँ ठाउँ, नयाँ परिवेश उनका लागि बोलिदिने, सहयोग गर्ने कोही थिएन। उनका अनुसार पढाइदिने आश्वासन दिने आफन्तहरुले पनि वास्ता गर्न छाडे। उनी रेडियोमा सुनेको गैरसरकारी संस्थाको विज्ञापनका पछि पनि कुदिन्। तर, कसैबाट सहयोग पाइनन्।

गायिका बन्ने सपना बुनेर काठमाडौंका सडकमा भौंतारिँदा मेनुकाले बुद्ध एयरका चिफ इञ्जिनियर मोहनबहादुर थापालाई भेटिन्। मेनुकाको संघर्ष र पढाईबाट प्रभावित भएर मोहनबहादुरले घर लगे।

र, पद्मकन्या क्याम्पस भर्ना गरिदिए। उनी संगीत विषय पढ्न थालिन्। मोहनबहादुर र उनकी श्रीमती मन थापा मेनुकाका अभिभावक भइदिए। त्यसरी नै उनको पढाइ अघि बढ्यो।

दोहोरीमा जागिर

पद्मकन्या क्याम्पसमा संगीत अध्ययन गरेपछि मेनुकाले क्याम्पसकै कार्यक्रममा गीत गाउन थालिन्। संगीतप्रतिको उनको लगाव देखेर सञ्चारकर्मी रुपा बिमलले मधुरिमा कला केन्द्रमा भर्ना गरिन्।

पढाइकै क्रममा गजल रेस्टुरेन्टमा गायिका आवश्यकता परेको जानकारी पाइन्। उनी गइन्, नाम छानियो। एक महिनामै रेस्टुरेन्ट बन्द भएपछि अर्को दोहोरी रेस्टुरेन्टमा गाउन थालिन्। आम्दानीको स्रोत भएपछि उनमा थोरै भए पनि आशा पलायो।

तर, त्यतिबेला क्याविनमा काम गर्ने युवतीहरु देखेपछि मेनुकाको मनमा चिसो पस्यो। एक साँझ क्याविनमा काम गर्ने ३ वटी युवतीको स्थिति देखेपछि उनको सोच परिवर्तन भयो। र, उनी नयाँ बाटोमा प्रवेश गरिन्।

अनि खुल्यो रक्षा नेपाल

रक्षा नेपाल महिला तथा बालबालिका बेचविखनविरूद्ध काम गर्दै आएको छ। क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार गर्ने संस्थाको सेन्टरमा अहिले किशोरी र महिलाहरु गरी ६० जनाभन्दा धेरै रहेका छन्। संस्थापक एवम् अध्यक्ष मेनुका थापा नै हुन्। वि.सं. २०६० सालमा संस्था स्थापना भएको हो।

जतिबेला उनी दोहोरीमा गाउँथिन्, बिदाको दिन आफू बस्ने कोठामै बोलाएर ती महिलाहरुलाई पढाउने गर्थिन्। डान्सबार, क्याबिन र रेस्टुराहरुमा काम गर्ने दिदीबहिनीलाई उनले दिशार्निदेश गरिन्।

विस्तारै मेनुका एउटी टिम लिडर बन्दै गइन्। त्यसैको परिणाम स्वरुप वि.सं. २०६० सालमा रक्षा नेपा स्थापना गरिन्। रक्षा नेपाल स्थापना गर्न पनि उनले थोरै दु:ख झेल्नु परेन।

६ वर्षसम्म दोहोरीमा काम गरेकी मेनुकाले क्याबिन, डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीमाथि हुने यौनजन्य हिंसाको इतिवृत्ति थाहा पाइन्। र, उनीहरुलाई पढाइतर्फ अघि बढ्न उत्प्रेरित गरिन्।

‘तर, दर्ता गर्न जाँदा धेरै तनाव झेल्नुपर्यो, तत्कालीन प्रमुख जिल्ला अधिकारीले सहयोग गरेनन्,’ उनले भनिन्, ‘विधान नै फ्याँकिए पनि मैले हार नमानी काममा लागेँ।’ मेनुका निरन्तर जिल्ला प्रशासन कार्यालय गइरहिन्।

सिडिओ पनि उनीहरुको दृढता देखेर गले। र, सहयोग गर्ने आश्वासन दिँदै पठाए। ठमेलमा कार्यालय सुरु गर्दा ५० हजार सहयोग गरेको मेनुकाले बताइन्।

रक्षा नेपालमा अहिलेसम्ममा दुई हजारको हाराहारीमा महिला दिदीबहिनीको उद्धार तथा सहयोग लिइसकेका छन्। ‘कुनै नारीले छाक टार्नकै लागि शरीर बेच्न नपरोस्,’ उनले भनिन्, ‘सानैदेखि नैतिक शिक्षा दिनुपर्छ, राज्यले पनि सुरक्षा र रोजगारीको प्रबन्ध गरोस्।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: