Logo

राजनीति

कांग्रेसका पुराना नेता आचार्यको निधन, पार्टी केन्द्रसँगै नुवाकोटबासी शोकमा



नुवाकोट – नेपाली कांग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ।

काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिनुभयो।

विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो।

पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो।

उहाँ २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बन्नुभएको थियो। उहाँले विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएर पार्टी हाँक्नुभएको थियो।

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताउनुभयो। “प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदान अतुलनीय छ। नुवाकोटमा उहाँको योगदानलाई कोहीसँग तुलना नै हुन सक्दैन। उहाँ प्रजातान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्थ्यो”, अधिकारीले भन्नुभयो, “उहाँले पञ्चायतकालको असहज समयमा पनि जिल्लामा काँग्रेसलाई सशक्त रुपमा हाँक्नुभएको थियो।’

प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत पर्नुभएको थियो। विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ कारागार पर्नुभएको पूर्वसभापति अधिकारीले बताउनुभयो। “उहाँ धेरै पटक जेल पर्नुभयो । पटक पटक गरेर दुई वर्षभन्दा लामो समय जेल पर्नुभयो”, अधिकारीले भन्नुभयो।

पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी विचार मञ्चका केन्द्रीय सदस्य हुनुहुन्थ्यो। स्व आचार्यका श्रीमती, दुई छोरा र एक छोरा दिनेश ‘शेयर कारोवार’ साप्ताहिकका प्रकाशक र सम्पादक र तीन छोरी हुनुुहुन्छ।

प्रकाशित : १३ श्रावण २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल