Logo

समाचार

‘इतिहासमै सबैभन्दा छिटो बदनामी कमाएको सरकार खड्ग ओलीकै नेतृत्वको हो’



काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रा.डा. गोविन्द केसीले उठाएका विषय ३ करोड नेपाली जनताका पक्षमा भएकाले तत्काल पूरा गर्न चेतावनी दिएकी छिन्।

सोलिडारिटी फर प्रा.डा. गोविन्द केसी अलायन्सले शनिबार बानेश्वरमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै कार्कीले डा. केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्।

कार्कीले सरकारको नेतृत्वकर्ता माफियाको जालोमा फसिरहेको टिप्पणी गरिन्। उनले यथाशक्य गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएकी कार्कीले यो सरकार असहिष्णु बनेको टिप्पणी गरिन्।

‘एउटा मानिस मृत्युशैय्यामा छ, अक्सिजन, कारामिन दिएर भएपनि बचाउनु सरकारको धर्म हो,’ कार्कीले भनिन्, ‘डा. केसीले तपाई–हाम्रो निम्ति माग राखेका छन्, उनी कुनै दलको कार्यकर्ता होइनन्, जनताको आवाज बोलेका हुन्।’

डा. केसी जनताका लागि काम गर्दै आएको सरकारमा बस्ने सबैले बुझेको उल्लेख गर्दै कार्कीले सरकारले जनताले भनेको कुरा मान्नु पर्नेमा जोड दिएकी छिन्।

​​​​​​​

कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले खड्ग ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा छिटो बदनामी कमाएको सरकार भएको बताएका छन्। ‘इतिहासमा यति चाँडै यस्तो बदनाम सायदै कुनै सरकार भएको थियो,’ उनले भने।

संगौलाले देशमा माफियातन्त्रको अन्त्य हुनुपर्ने बताएका छन्। सरकारले समाजवाद भनिरहेको स्मरण गर्दै माफियाको पक्षमा उभिनु कस्तो समाजवाद हो भनी प्रश्न गरे।

अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्।

पहाडीले वि.सं. २०६२/०६३ सालको जनआन्दोलनपछि तत्कालीन ज्ञानेन्द्र शाहको सत्ताले गरेको दमनबाटै सिर्जित रहेको स्मरण गर्दै यस्तो स्थिति आउनुअघि नै डा. केसीका माग सम्बोधन गर्न माग गरेका छन्।

कार्यक्रममा जुम्लामा प्रा.डा. केसीसँगै रहेका डा. विशद दाहालले प्रहरीले ज्यादतीबारे उल्लेख गर्दै केसीको आन्दोलनप्रति कर्णालीका महिलाले देखाएको अदम्य साहसको प्रशंसा गरे।

त्यसैगरी, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता गौतम राईले ३ करोड नेपाली नागरिकका पक्षमा लडिरहेका डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

डा. केसीको समर्थनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, बलिउड अभिनेत्री मनिषा कोइराला, पूर्वसांसद रामहरि खतिवडासहित कयौं सामाजिक अभियन्ताले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए।

सरकारले अपहरणको शैलीमा गत बिहीबार हेलिकप्टरबाट डा. केसीलाई काठमाडौं ल्याएको हो। अहिले प्रा.डा. केसी शिक्षण अस्पतालमै सत्याग्रहमा रहेका छन्। २२औं दिनको आमरण अनशन चलिरहँदा केसीको स्थिति गम्भीर बन्दै गएको छ।

जुम्लाबाट काठमाडौं आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने र औषधि पनि नलिने घोषणा गरेका छन्।

प्रकाशित : ५ श्रावण २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल