Logo

समाचार

सत्याग्रहको १६औं दिनः प्रा.डा. केसी सेप्सिसको उच्च जोखिममा, डाक्टरले दिए यस्तो रिपोर्ट



​​​​​​जुम्ला – विगत दुई दिनदेखि प्रा.डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलाई बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ, सत्याग्राही डाक्टरलाइ कतै सेप्सिस त हुने होइन!

चिकित्सकहरुलाई राम्रोसँग थाह छ, अनशनरत डा. केसीलाई एकपटक सेप्सिस भइहाले, स्वास्थ्य स्थिति काबुभन्दा बाहिर जाने छ। अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका औषधि नलिने डा. केसीको अडानकाबीच सेप्सिसको उपचार गर्ने कुनै उपाय बाँकी रहने छैन।

के हो त सेप्सिस?

सेप्सिस अर्थात् सम्पूर्ण शरीरको एकसाथ संक्रमण हो। शरीरको एउटा भागबाट शुरु भएको संक्रमण जब रगतबाट शरीरमा सबैतिर फैलन्छ, तब यस्तो अवस्थालाइै मेडिकल भाषामा सेप्सिस भनिन्छ।

अनशनको प्रारम्भदेखि नै डा. केसीको रगतमा सेतो रक्तकोशिका क्रमशः घट्दै गइरहेको छ। अझ दुई दिनअघि जाँच गरिएको रगतमा सोको संख्या ४ हजारभन्दा कम भइसकेको थियो। सेता रक्तकोशिका कम हुनुको सीधा अर्थ हो, शरीरको किटाणुहरुसँग लड्न सक्ने क्षमता कम हुनु। तसर्थ, सानोभन्दा सानो संक्रमण पनि चाँडै फैलने र सेप्सिस हुने जोखिम रहन्छ।

आमजनताका बीच गएर गरिएको आन्दोलन भएका कारण भेट्न आउने शुभेच्छुकहरुलार्इ रोक लगाइएको छैन। यसै कारण उनीहरुसँगै आउने अनेक खाले संक्रमणको उच्च जोखिममा पनि डा. केसी रहँदै आएका छन्।

भेट्न आउने धेरैजसोलाई मास्क दिइएको भएपनि, त्यस्ता खाले मास्कले भाइरल संक्रमणबाट नजोगाउने चिकित्सकहरु बताउँछन्। केही दिनअघिबाट प्रारम्भ भएको घाँटीको संक्रमण पनि आगन्तुकहरुबाटै सरेको भाइरसका कारण हुनसक्ने चिकित्सकहरुको ठम्यार्इ छ।

यसका अलावा यसपटक देखिएको सबैभन्दा जटिल संक्रमण नसाको रहेको छ। सत्याग्रहको पाँचौ दिनबाट स्लाइन पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो। उक्त संक्रमणका कारण डा. केसीका हात सुन्निएका छन्। दुखार्इ कम गर्न हातमा पट्टी बानिएको भएनि त्यसले खास भिन्नता ल्याएको छैन।

यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलन्छ। अझ सेतो रक्तकोशिकाको मात्रा कम भएका ‘इम्युनोकम्प्रमाइज्ड’ बिरामीको हकमा त झन शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ।

सेप्सिसको शुरुको लक्षण देखिन थाल्यो

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीलाइ सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेको छ। मुटुको चाल बढेको (१००), श्वासप्रश्वासको गतिमा वृद्धि (२४) भएको , रक्तचाप कम (१००) ६०० भएको, पिसाबको मात्रामा कमी आएको आदि घटनाले चिकित्सकहरुको अनुमान झन्दै मिल्दै गएको देखाउँछ।

दुई दिनदेखि डा. केसीले वार्ता टोली नबनेसम्मका लागि भद्र अवज्ञा स्वरुप रगत जाँच गर्न नमानेका कारण सेतो रक्तकोशिकामा भएका परिवर्तनहरु भने थाह पाउन सकिएको छैन।

यसरी रगतबाट फैलिएको सेप्सिसका कारण मृगौला, कलोजो , फोक्सो लगायतका अंगले बिस्तारै काम गर्न छाड्छ्न्। र, केही दिनभित्रमै बिरामीको मृत्यु हुनसक्छ।

अस्पताल भर्ना भएका बिरामी मध्यसेप्सिसका कारण हरेक १०० जनामा १० जनाको मृत्यु हुने एक अनुशन्धानले देखाएको छ। त्यस्तै ‘सेप्टिक सक’ नै भएको खण्डमा त्यसको मृत्युदर ४६ प्रतिशत रहेको चिकित्सकहरु बताउँछन्।

तसर्थ सेप्सिसमा गएका बिरामीहरुलाइ विशेष हेरचाहका साथ आइसियुमा राखेर नसाबाट एन्टिबायोटिक्स दिइन्छ।

प्रकाशित : ३१ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल