Logo

राजनीति

विवेकशील साझा पार्टीको निष्कर्ष, ‘केपी ओली प्रा.डा. गोविन्द केसीको तेजोबध गर्न उद्दत’



काठमाडौं – विवेकशील साझा पार्टीले प्रा.डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले देखाएको हठ र अभिव्यक्ति खेदजनक रहेको प्रतिक्रिया दिएको छ।

विवेकशील साझा पार्टी प्रवक्ता तथा प्रदेश नम्बर–३ संसदीय दलका नेता रमेश पौड्यालद्वारा सोमबार जारी विज्ञप्तिमा यसै सन्दर्भमा आमनागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षाबारेमा समाजवादी भनिएको सरकारको दृष्टिकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख हुनु दुर्भाग्यपूर्ण रहेको जनाइएको छ। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन गरेको हठ र अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

प्रा.डा. गोविन्द केसीले कर्णाली प्रदेशको जुम्लाबाट १५औं पटक अनशन शुरु गरेको दश दिन भइसकेको जनाउँदै प्रवक्ता पौड्यालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोप्रति सरकारलाई सचेत गराएका छन्।

​​​​​​​

‘अतुलनीय आदर्श बोकेको एक जना सम्मानित नागरिकको तेजोबध गर्न सरकार उद्दत भएको देखिँदै गर्दा डा. केसीको अवस्था तलमाथि भएको खण्डमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओली र उनको सरकारले बोक्नु पर्ने तथ्यप्रति पनि हामी सबै जिम्मेवार पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

कल्याणकारी लोकतन्त्रलाई पार्टीको मूल दर्शनका रुपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र मूलरूपमा राज्यको दायित्व हो भन्नेमा विश्वास गर्ने जनाउँदै विज्ञप्तिमा पौड्यालले उदारीकरणका नाममा कसिलो नियमन बिना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नाफाखोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो माफियाकरणको रूप धारण गर्न लागेको तथ्य जगजाहेरै रहेको उल्लेख गरेका छन्।

‘कयौं नेता र तिनका परिवारका लागि सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गर्नु पानी–पँधेरो जस्तै हुँदा, आम नेपालीले सानो रोगको उपचार गर्न पनि घर(घडेरी नै बेच्नु पर्ने सम्मका पीडा भोगिरहेका छन्। यो घातक प्रवृत्तिलाई बेलैमा रोक्न सकिएन भने यसले समाजमा सोच्नै नसकिने स्तरको डरलाग्दो परिणाम निम्त्याउने छ,’ विज्ञप्तिमा भनिएको छ।

बारम्बार ज्यानको बाजी लगाएर चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा डोर्याउन डा. गोविन्द केसीले नेतृत्व गरेको अभियान, सरकारद्वारा गठित केदारभक्त माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन र नागरिक समाजका अगुवा तथा सर्वसाधारणको निरन्तर खबरदारीको विवेकशील साझा पार्टी उच्च सम्मान गर्ने विज्ञप्तिमा प्रष्ट पारिएको छ।

सरकारलाई माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानूनको मस्यौदा गर्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ। ‘जुन काम सरकारले स्वविवेकले गर्नु पर्दथ्यो, त्यसका लागि एक जना निष्ठावान् नागरिकले ज्यानकै बाजी लगाउनु पर्ने अवस्था आउनु अत्यन्तै दुखद् विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थपूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्नेमा पनि हामी सरकारलाई खबरदारी गर्न चाहन्छौं। यसबारेमा सरकार गम्भीर नभएको खण्डमा विवेकशील साझा पार्टी आम जनताको भावनालाई प्रतिनिधित्व गर्दै कडा प्रतिवादमा उत्रन बाध्य हुनेछ।’

प्रकाशित : २५ असार २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल